मुख्य समाचार
क्यासिनो व्यवसाय दर्ता तथा सञ्चालनका लागि दुईथरी प्रावधान राखेर सरकारले नयाँ नियमावली ल्याएको छ
क्यासिनो व्यवसाय दर्ता तथा सञ्चालनका लागि दुईथरी प्रावधान राखेर सरकारले नयाँ नियमावली ल्याएको छ

— अन्तर्राष्ट्रिय सीमा क्षेत्र वरपर क्यासिनो व्यवसाय दर्ता तथा सञ्चालनका लागि दुईथरी प्रावधान राखेर सरकारले नयाँ नियमावली ल्याएको छ । नियमावलीअनुसार सीमा क्षेत्रबाट पाँच किलोमिटरसम्म नयाँ क्यासिनो दर्ता गर्न नमिल्ने भएको छ । यसअघि तीन किलोमिटरको सीमा तोकिएको थियो । पाँच किलोमिटरभित्रै तोकिएका सर्त पालना गरेर चलिरहेका पुराना क्यासिनोलाई भने नियमावलीले सञ्चालनमा छुट दिएको छ ।


पर्यटनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्मा विचाराधीन रहेकै बेला सरकारले पर्यटन ऐन, २०३५ बमोजिम ३० असारमा ‘क्यासिनो नियमावली–२०८२’ जारी गरेको हो । नयाँ नियमावली जारीसँगै २०७० को नियमावली (संशोधित २०७६) खारेज भएको छ । नेपालतर्फ सीमा क्षेत्रमा खुलेका क्यासिनो हटाउनुपर्ने माग भारतले द्विपक्षीय सुरक्षा बैठकमा उठाउँदै आएकाले नयाँ नियमावली ल्याइएको मन्त्रालयका एक अधिकारीले बताए ।

पर्यटन विभागका महानिर्देशक नारायण रेग्मीले सीमा क्षेत्रको संवेदनशीलतालाई ख्याल गरेर नयाँ क्यासिनोका लागि ५ किमिको सीमा सरकारले तोकेको हुन सक्ने बताए । नयाँ नियमावलीले तोकेका नियम पालनामा क्यासिनोलाई कडाइ गरिने उनको भनाइ छ । ‘नियमअनुसार सर्त र मापदण्ड पालना/गरे/नगरेको विषयमा अनुगमन, नियमन र निगरानी गर्नेछौं,’ उनले भने । क्यासिनो व्यवसायको आवरणमा हुने शंकास्पद आर्थिक कारोबार तथा भौतिक पूर्वाधारलगायत तोकिएका मापदण्ड पालनामा सरकारी नियमन, निगरानी र अनुगमन कमजोर छ ।

झापा, मोरङ, पर्सा, रूपन्देही, कपिलवस्तु, बाँके, कैलाली, कञ्चनपुरलगायत सीमावर्ती जिल्लाका प्रमुख सहरमा क्यासिनो व्यवसाय फस्टाएको छ । क्यासिनोमा नेपालीलाई प्रवेशमा पहिलेदेखि नै रोक लगाइएको छ । यसका उपभोक्ता विदेशी नागरिक हुन् । दक्षिण सीमावर्ती क्षेत्रका क्यासिनोमा मुख्य गरी भारतीय नागरिक आउँछन् । सञ्चालकहरूले मिलेमतोमा नेपालीलाई पनि क्यासिनोमा छिराएर खेलाउने गरेको घटना बेला–बेला बाहिरिने गरेको छ । क्यासिनोलाई नियमन गर्नुको साटो आर्थिक लाभ लिएर अनदेखा गरिरहेको आरोप सीमा क्षेत्रका प्रहरी/प्रशासनका कर्मचारीमाथि लाग्दै आएको छ ।

नयाँ नियमावलीमा क्यासिनो सञ्चालन गर्ने कम्पनीको चुक्ता पुँजी पनि बढाइएको छ । ठूलो क्यासिनोका लागि कम्तीमा ३० करोड र सानो क्यासिनो सञ्चालन गर्न कम्तीमा २० करोडको चुक्ता पुँजी आवश्यक पर्ने व्यवस्था नियमावलीमा राखिएको छ ।


यसअघिको नियमावलीमा क्यासिनो इजाजत लिन २५ करोड चुक्ता पुँजी र आधुनिक मेसिनबाट खेलाइनेको हकमा १५ करोड हुनुपर्ने प्रबन्ध थियो । ‘प्रचलित कानुनबमोजिम इजाजत प्राप्त गरी अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट तीन किलोमिटरको दूरी कायम गरी क्यासिनो सञ्चालन गरिरहेको कम्पनीले २९ चैत २०८३ भित्र नयाँ प्रावधानअनुसारका नियमबमोजिम सर्त पूरा गरी सोही स्थानमा क्यासिनो सञ्चालन तथा नवीकरण गर्न सक्नेछ,’ नियमावलीमा भनिएको छ ।

कम्पनीका लागि ठूलो क्यासिनोमा कम्तीमा १ सय ५० जना र सानोमा ५० जना नेपालीको रोजगारी सुनिश्चित हुनुपर्ने लगायतका सर्त तोकिएका छन् । नयाँ नियमावलीमा ठूलो क्यासिनो सञ्चालनका लागि निवेदन दस्तुर १५ लाख र सानोका हकमा १० लाख रुपैयाँ तोकिएको छ । यसअघि क्यासिनो सञ्चालनका लागि निवेदन दिन १० लाख दस्तुर लाग्थ्यो । आधुनिक मेसिनबाट खेलाइने क्यासिनोलाई निवेदन दस्तुर ५ लाख तोकिएको थियो ।



इजाजतपत्रका लागि ठूलो क्यासिनोलाई ३ करोड र सानो क्यासिनोलाई १ करोड ५० लाख रुपैयाँ दस्तुर कायम गरिएको छ । यसअघि इजाजत लिन २ करोड ५० लाख रुपैयाँ दस्तुर तिर्नुपर्ने नियम थियो । आधुनिक मेसिनका हकमा १ करोड दस्तुर थियो । नयाँ नियमअनुसार नवीकरण गर्न ठूलो क्यासिनोले डेढ करोड र सानोले ७५ लाख रुपैयाँ तिर्नुपर्नेछ । यसअघि इजाजतपत्र दस्तुरको ५० प्रतिशत रकम नवीकरणका लागि बुझाउनुपर्ने नियम थियो ।

क्यासिनो सञ्चालनसँग सम्बन्धित कर्मचारी क्यासिनो स्थलमा प्रवेश गर्दा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र र सवारी चालक अनुमतिपत्रमध्ये एउटा परिचयपत्र देखाउनुपर्ने व्यवस्था अनिवार्य गरिएको छ । क्यासिनोमा आउने विदेशीको हकमा भिसा अवधि रहेको राहदानी, आधार कार्ड/मतदाता परिचयपत्र र रासन कार्डमध्ये कुनै दुई परिचय वा सम्बन्धित दूतावासबाट जारी भएको परिचयपत्र अनिवार्य गरिएको छ । क्यासिनोमा आउनेको अभिलेख कम्तीमा पाँच वर्षसम्म सुरक्षित रहने गरी राख्नुपर्नेछ । पहिले १ वर्षको मात्रै अभिलेख राख्ने व्यवस्था भएकामा बढाएर ५ वर्ष पुर्‍याइएको छ ।

जितेको रकम भुक्तानीका लागि खेलाडीबाट आकस्मिक लाभकर कट्टा गरेर मात्र भुक्तानी दिनुपर्ने भनिएको छ । त्यस्तो लाभकर कट्टा भएकै दिन आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्नेछ । नियमावलीमा २४ घण्टामा २५ लाखभन्दा बढीको जित–हार हुने गरी खेल्ने व्यक्तिको विवरण लिखित रूपमा तुरुन्त पर्यटन विभाग र राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा दिनुपर्ने भनिएको छ ।

सीमा क्षेत्रबाट पाँच किलोमिटर वारि क्यासिनो सञ्चालनका लागि ‘अन्तर्राष्ट्रिय सीमा सुरक्षाको मूल्यांकन गरी प्रचलित कानुनबमोजिमको जिल्ला सुरक्षा समितिले क्यासिनो सञ्चालनका लागि सिफारिस’ गरेको हुनुपर्ने नियम राखिएको छ । क्यासिनो स्थलमा कम्तीमा २० जना तालिमप्राप्त सुरक्षाकर्मी हुनुपर्ने भनिएको छ । एउटा होटल वा रिसोर्ट परिसरमा एकभन्दा बढी क्यासिनो सञ्चालन गर्न अनुमति दिइने छैन ।

‘वाक थ्रु गेट’, ‘मेटल डिटेक्टर’, परिचयपत्र, सुरक्षित सञ्चालन हुने ढोकाको व्यवस्था, ग्राहक पहिचान प्रणाली (केवाईसी) र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रचलित कानुनबमोजिम पेस गर्नुपर्ने प्रतिवेदन प्रणालीको व्यवस्था हुनुपर्ने लगायतका प्रावधान नियमावलीमा राखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको प्रस्तावमा २३ असारको मन्त्रिपरिषद् बैठकले नयाँ नियमावली पारित गरेको थियो । क्यासिनोसम्बन्धी प्रावधानसमेत समेटिएको पर्यटनसम्बन्धी विधेयक भने सरकारले गत ५ वैशाखमा संसद् सचिवालयमा दर्ता गरेको थियो । विधेयक हाल राष्ट्रिय सभामा विचाराधीन छ । विधेयक संसद्बाट टुंगोमा नपुग्दै सरकारले नयाँ क्यासिनोका लागि कठोर प्रावधान राखेर नयाँ नियमावली ल्याएको हो ।

नियमनमा बेवास्ता

मेचीनगर–६, काँकडभिट्टा नाकाबाट बाहिरिएलगत्तै बायाँ मोडिएर केही सय मिटर अघि बढ्दा दुई चम्किला बोर्ड देखा पर्छन्– ह्याप्पी आवर र एसएस लङ मिनी क्यासिनो । यी दुवै क्यासिनो अन्तर्राष्ट्रिय सीमा नाकाबाट मात्रै ५ सय मिटर भित्र छन् । क्यासिनोमा भारतीयको बढी भीड देखिन्छ । यी क्यासिनोमा दिनमा १ सयदेखि ३ सय जनासम्म छिर्छन् ।

बिर्तामोडको द किङ्सबेरीमा सञ्चालित क्यासिनो नाकाबाट १८ किलोमिटर टाढा छ । मेचीनगर–८ मा रहेको भेगास क्यासिनो ५ किमि परै छ । विराटनगरमा पनि दुईवटा क्यासिनो सञ्चालनमा छन्– सम्राट र च्याम्पियन जोन क्यासिनो । यी पनि अन्तर्राष्ट्रिय नाकाबाट नजिकै छन् । पर्यटन विभागले नियमन गर्ने जिम्मेवारी लिएको भए पनि स्थानीयस्तरमा यी क्यासिनोको निगरानी यथोचित भएको देखिँदैन ।

नेपालगन्जमा तारे होटलपिच्छे ‘क्यासिनो’ खुलेका छन् । सीमावर्ती क्षेत्रबाट ५ किलोमिटरभन्दा कम दूरीको स्नेहमा ‘ब्लिज’, ड्रिमल्यान्डमा ‘ह्याप्पी आवर’ नाम गरेका क्यासिनो छन् । होटल सोल्टीमा महाजोङ, सिद्धार्थ भ्युमा ज्याकपट, स्टारलाइटमा लक्की स्टार, कलपत्रुमा एसिएन ब्लु र सिटी प्यालेसमा सिटी ग्यामिङ सञ्चालनमा छन् । उद्योग विभागमा दर्ता भई तीन वटा सञ्चालनमा आउने क्रममा छन् । क्यासिनो रोजगारीको माध्यम, भारतीय मुद्रा आर्जन र तारे होटलको आम्दानीको स्रोत बनेका छन् । सीमावर्ती क्षेत्रमा खुलेका क्यासिनोका कारण नेपालगन्जको बजार चलायमान भएको छ ।

संघीय सांसद धवलशमशेर राणाले पहिलेदेखि नै नेपालगन्जलाई क्यासिनो सिटी बनाउनुपर्ने आवाज उठाइरहेका छन् । ‘क्यासिनोका कारण कैयौं क्षेत्रमा फाइदा पुगेको छ । त्यसबाट पर्यटन क्षेत्रमा अझै कसरी फाइदा पुर्‍याउन सकिन्छ भन्ने विषयमा हामीले सोच्नुपर्छ,’ पर्यटन व्यवसायी श्रीराम सिग्देलले भने, ‘क्यासिनोका कारण सामाजिक विकृति नभित्रियोस् भन्ने आमनागरिकको चिन्ता र चासोप्रति पनि ध्यान दिन जरुरी छ ।’

नेपालगन्जमा सञ्चालित क्यासिनोले कम्तीमा ५ सय जनालाई प्रत्यक्ष रूपमा रोजगारी दिएका छन् । करोडौं लगानीका होटलमा क्यासिनो थपिँदा व्यवसाय राम्रो चल्ने सिद्धार्थ समूहका प्रबन्धक केशव न्यौपाने बताउँछन् ।

वीरगन्जमा होटल सुरजमा फर्चुन सिटी गेमिङ, क्लार्क्स रिसोर्टमा गोल्डेन फिंगर र होटल दियालोमा किंग्स दियालो गेमिङ क्यासिनो चलेका छन् । होटल भिष्वामा सीएमजी क्यासिनो १ वर्षअघि बन्द भएको छ । क्लार्क्स रिसोर्टको गोल्डेन फिंगर सीमाबाट ७ किमिको दूरीमा छ । अन्य तीन क्यासिनो सीमाबाट ५ किमिभन्दा पनि कम दूरीमा छन् । गोल्डेन फिंगरका प्रबन्धक युवराज अधिकारी सरकारले रोयल्टी बढाएकाले अब सञ्चालनमा समस्या हुने बताउँछन् ।

रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाइगर प्यालेस बाई सोल्टीमा ठूलो क्यासिनो सञ्चालनमा छ । उक्त पाँचतारे होटलस्थित रोयल टाइगर रिक्रियसन प्रालिका प्रबन्ध निर्देशक रूपक गौतमका अनुसार त्यहाँ ६ सय कर्मचारी आबद्ध छन् । ‘अहिलेको अवस्थामा क्यासिनो सञ्चालन गर्न ठूलो चुनौती छ,’ उनले भने, ‘आर्थिक वर्षको अन्तिममा दुई दिनको समयसीमा दिएर नवीकरण शुल्क बढाइयो । यो नियमावली परिवर्तनले हामीलाई झन् मर्कामा पारेको छ ।’

भैरहवाका चारतारे होटलमा सञ्चालित मिनी क्यासिनोमध्ये धेरैजसो सीमा क्षेत्रबाट तीन किलोमिटर दूरीमा छन् । भैरहवामा रहेका निर्वाणा, मौर्या, नान्स, लाकौंल, भैरहवा गार्डेन, एसियन बुद्धमा क्यासिनो चलेका छन् । तिलोत्तमाको मणिग्रामस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा पनि क्यासिनो छ । कपिलवस्तुको चन्द्रौटामा एउटा क्यासिनो छ । क्यासिनो व्यवसायी अमित गुप्ताका अनुसार एउटा मिनी क्यासिनोमा सरदर ९० कर्मचारी छन् । होटल निर्वाणाका जनरल म्यानेजर पवन गोयलले क्यासिनो सञ्चालकसित परामर्श नगरी सरकारले नियम र शुल्क हेरफेर गर्दा मर्का परेको बताए ।

कैलालीको धनगढीमा सीमा क्षेत्रनजिकै होटल साथीमा किङ्स लञ्च गेमिङ क्लब र होटल डिभोटीमा पीएमजी क्लब क्यासिनो चलिरहेका छन् । साथी होटलमा सञ्चालित क्यासिनोका प्रबन्धक सुनील श्रेष्ठका अनुसार त्यहाँ १ सय ३ जनाले रोजगारी पाएका छन् । पीएमजी क्लब क्यासिनोमा ४३ ले रोजगार पाइरहेको प्रबन्धक राजेश शाहले जानकारी दिए ।

सुदूरपश्चिमको महेन्द्रनगरमा रहेका तीनवटै क्यासिनो सीमानाकाबाट ५ किलोमिटरभन्दा धेरै टाढाको दूरीमा छन् । सीमाबाट ६ किलोमिटर दूरीमा सञ्चालित होटल ओपेराको सीएमजी क्लब क्यासिनोमा २ सय जति कार्यरत छन् । होटल डायमन्डको ह्याप्पी आवर क्यासिनो सीमाबाट ५.२ किलोमिटर दूरीमा छ । त्यहाँ १ सय ५० जनाले रोजगारी पाएका छन् । सीमाबाट साढे ५ किमि दूरीको होटल रूपममा क्विन क्यासिनो छ, त्यहाँ १५० कामदार छन् ।

– पर्वत पोर्तेल (विराटनगर), शंकर आचार्य (वीरगन्ज) दीपेन्द्र बडुवाल (भैरहवा), रूपा गहतरात (नेपालगन्ज) र अर्जुन शाह (धनगढी)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अन्नको भण्डार भनिने तराई/मधेश क्षेत्रमै बर्खायाममा निम्तिएको खडेरीका कारण रोपाइँ प्रभावित हुँदा देशव्यापी धान उत्पादनमै २० प्रतिशतले कमी आउने अनुमान गरिएको छ । धान औसत फल्दा पनि माग धान्न नसक्ने र आयातमा ठूलो रकम बाहिरिने गरेको पृष्ठभूमिमा यस वर्ष आयात झनै बढ्ने निश्चित छ । गत वर्ष धान (बीउसहित) आयातमा २० अर्ब ३५ करोड रुपैयाँ विदेशिएको ...
: वीरगन्ज नाकाबाट नेपाल उत्पादित मालसामानको विदेशमा निर्यात बढेको छ। गत आर्थिक वर्ष २०८१/८८२ मा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा २ सय २७ प्रतिशतले बढी मालसामान भारत तथा तेस्रो मुलुकमा निर्यात बढेको हो। गत आर्थिक वर्षमा वीरगन्ज नाका हुँदै १ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ मूल्य बराबरको नेपालमा उत्पादित मालसामान भारत तथा तेस्रो ...
। गत आर्थिक वर्ष २०८१/८२ को कुनै पनि महिना लक्ष्य अनुसार भन्सार राजस्व संकलन हुन नसकेको देखिएको छ । भन्सार विभागका अनुसार गत आव विभागले ४ खर्ब ८४ अर्ब ७ करोड रुपैयाँ बराबर राजस्व उठाएको छ । यो लक्ष्यको ८३.०१ प्रतिशत हो । यस आव विभागको लक्ष्य ५ खर्ब ८२ अर्ब ६७ करोड रुपैयाँ थियो । विभागले ...
: नेपालको पहिलो चिज उत्पादन केन्द्र लाङटाङ बन्द हुने अवस्थामा पुगेको छ। २००९ सालमा स्थापना भएको केन्द्रमा किसानले दूध न्यून मात्रामा मात्र ल्याउन थालेपछि केन्द्र बन्द हुने अवस्थामा पुगेको हो। सरकारले उचित मूल्य नदिँदा चौँरीपालक किसान घटेका छन् जसले गर्दा दूध उत्पादन घटेको छ। केन्द्र प्रमुख ग्याल्बु तामाङका अनुसार केन्द्रमा अहिले दैनिक ८० देखि ...
: वीरगन्ज नाका हुँदै एक वर्षमा करिब १ खर्ब ९२ अर्ब रुपैयाँ मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। त्यसबाट वीरगन्ज भन्सार कार्यालयले ८१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा वीरगन्ज नाकाबाट डिजेल, पेट्रोल, एलपी ग्यास, एटीएफ र मट्टितेलजस्ता पेट्रोलियम पदार्थ आयात भएको हो। वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा ...