: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१३ बस्ने २६ वर्षीय अक्षय श्रेष्ठ, बुढानिलकण्ठ नगरपालिका-१० बस्ने काठमाडौं महानगरपालिका-३१ घर भएका २४ वर्षीय सुसान चुडाल, काठमाडौं महानगरपालिका-१४ बस्ने सुर्खेत सिम्ता गाउँपालिका-१ घर भएका ३० वर्षीय प्रदिप हमाल र काठमाडौं महानगरपालिका-३१ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-६ घर भएका ३६ वर्षीया मञ्जु दाहाल रहेका छन्।
पक्राउ मध्ये अक्षयले युके पठाइदिन्छु भन्दै ३ जना पीडितबाट २७ लाख २९ हजार रुपैयाँ, सुसानले बोस्निया र हर्जगोभिना पठाइदिन्छु भन्दै ६ जना पीडितबाट ३६ लाख ६३ हजार रुपैयाँ, प्रदिपले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख २० हजार रुपैयाँ र मञ्जुले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले अक्षयलाई काठमाडौं महानगरपालिका-१३ बाट बुधबार तथा सुसानलाई काठमाडौं महानगरपालिका-३२ बाट, प्रदिपलाई काठमाडौं महानगरपालिका-२६ बाट र मञ्जुलाई काठमाडौं महानगरपालिका-१२ बाट बिहीबार पक्राउ गरेको हो।
पक्राउ मध्ये अक्षयलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने सुसान, प्रदिप र मञ्जुलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।