। राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली राजनीतिलाई व्यापारिककरणसँगै भ्रष्टिकरणतर्फ अग्रसर गराइएको आरोप लगाएका छन् ।
आज काठमाडौंमा आयोजित पार्टीको उपत्यका स्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले संघीय, धर्मनिरपेक्ष, गणतन्त्रात्मक व्यवस्थाको मार्गचित्र र विचार असफल भएको दाबी गरे ।
उनले भने, ‘यो व्यवस्थाले भ्रष्टाचारलाई संस्थागत गरेको छ । लाखौं युवालाई विदेश पलायन हुन बाध्य बनाएको छ । मुलुकका हरेक क्षेत्रमा सीमित राजनीतिक दल र नेताहरूको सिन्डिकेट तथा कब्जा कायम छ। धर्म परिवर्तनको डढेलोले धार्मिक सहिष्णुता र सद्भाव विघटन गरेको छ ।’
अध्यक्ष थापाले यी घटनाक्रमबाट जनतामा तीव्र वितृष्णा बढेको उल्लेख गर्दै वर्तमान व्यवस्थाबाट जनता बाक्क दिक्क भएको बताए । उनका अनुसार काँग्रेस र कम्युनिस्ट पार्टीप्रति जनताको विश्वास घटेको छ र अब जनता वैचारिक तथा व्यवहारिक विकल्पको खोजीमा छन् ।
‘प्रत्येक दिन नयाँ–नयाँ भ्रष्टाचार काण्डहरू सार्वजनिक भइरहेका छन् । बहालवाला मन्त्रीहरू स्वयं काण्डमा संलग्न छन्। यस्तो अवस्थामा यो व्यवस्था देश र जनताको हितमा हुन सक्दैन,’ उनले भने ।
संघीयताले भ्रष्टाचारलाई तल्लो तहसम्म पु¥याउन मात्र भूमिका खेलेको उनको भनाइ थियो । सत्ता र कुर्सीको फोहरी खेलमा प्रदेशहरू अलमलिएको र राजनीतिलाई स्वार्थ केन्द्रित बनाउँदै व्यापारिकरणतर्फ धकेलिएकाले देश डरलाग्दो भ्रष्टाचारको चक्रमा फसेको थापाले बताए ।
अध्यक्ष थापाले आगामी निर्वाचनमा जनता काँग्रेस र कम्युनिस्टहरूलाई मत नदिने निर्णयमा पुगेको उल्लेख गर्दै अबको वैकल्पिक शक्ति राप्रपा नेपाल बन्नुपर्नेमा जोड दिए । ‘जनता विकल्प खोज्दै छन् । त्यसैले संगठन विस्तार र सुदृढीकरण अबको प्रमुख एजेन्डा बन्नुपर्छ,’ उनले निर्देशन दिए।
काँग्रेस र कम्युनिस्टको बाटो पछ्याउने दलहरू वैकल्पिक शक्ति बन्न नसक्ने स्पष्ट गर्दै थापाले वैचारिक रूपमा फरक दृष्टिकोण दिने मार्गचित्र राप्रपा नेपालसँग मात्र रहेको दाबी गरे ।
बैठकले उपत्यकाभर क्षेत्रीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।