। बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा ६७.२९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।
मन्त्रालयले २ अर्ब ५० करोड ६४ लाख ६६ हजार रुपैयाँ बराबर बजेट कार्यान्वयन गरेको थियो । यस आवमा कृषि तथा पशुपन्छी क्षेत्रमा धेरै संरचनागत सुधार, किसान लक्षित कार्यक्रम र रोग नियन्त्रण अभियान प्रभावकारी सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।
प्रदेशको कृषि विकास सम्बन्धमा तयार पारिएको विधेयक २०८० बागमती प्रदेश सभाबाट पारित भइसकेको र हाल प्रमाणीकरणको अन्तिम चरणमा रहेको मन्त्रालयले जनाएको छ । यो विधेयक कार्यान्वयनमा आएसँगै प्रत्येक वर्ष कार्यविधि बनाउने झन्झट हट्ने र कार्यक्रम कार्यान्वयनमा सहजता आउने जनाइएको छ ।
मन्त्रालयले चालु वर्ष २३ नयाँ तथा एक पुरानो कार्यविधि संशोधन स्वीकृत गरेको छ । यससँगै सेवा प्रवाह पहुँच विस्तार गर्ने क्रममा कृषि तथा पशु सेवा कार्यालय नभएका जिल्लामा सेवा केन्द्र स्थापना गरेको छ ।
गत वर्षदेखि सञ्चालनमा ल्याइएको ‘एक वडा एक उत्पादन’ कार्यक्रम थप विस्तार गर्दै मन्त्रालयले यस आव थप २५ वडा समेट्दै कुल ७० सम्म पुर्याएको छ ।
समुदायमा आधारित खेती प्रणाली मार्फत वडालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित हरेक वडामा ४० लाख रुपैयाँ बराबर साझेदारी सहयोग उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।
पशुपन्छी तथा मत्स्य क्षेत्रमा प्राकृतिक र गैरप्राकृतिक विपद्बाट क्षति बेहोरेका ३ सय ३० किसान र ६ फार्मलाई १ करोड २२ लाख रुपैयाँभन्दा बढी राहत रकम वितरण गरिएको मन्त्रालयको भनाइ छ ।
पशु स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय काम भएको मन्त्रालयले जनाएको छ । पीपीआर रोग नियन्त्रण गर्न १३ वटै जिल्लामा सप्ताहव्यापी खोप अभियान सञ्चालन गरिँदै १५ लाखभन्दा बढी भेडाबाख्रालाई खोप दिइएको छ भने लम्पी स्किन रोगविरुद्ध ७२ हजार गाईभैँसीमा नि:शुल्क खोप लगाइएको बागमती प्रदेशका कृषिमन्त्री प्रकाश श्रेष्ठले जानकारी दिए ।
पशुपन्छी रोग अन्वेषण र अनुसन्धान उद्देश्यले चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा ‘बायो सेफ्टी लेभल टु प्लस’ प्रयोगशाला निर्माण कार्य सम्पन्न भई विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ ।
प्रयोगशाला सञ्चालनमा आइसकेको र यसले पशुपन्छीका विभिन्न रोगको सटिक निदानमा सहयोग पुर्याउने उल्लेख गरिएको छ । त्यसैगरी हेटौंडामा निर्माण सम्पन्न भएको दूध पाउडर प्लान्ट सञ्चालन तयारी अन्तिम चरणमा पुगेको छ । उक्त प्लान्टले दैनिक ६० हजार लिटर दूध प्रशोधन गर्ने क्षमता राख्छ ।
हाल दुग्ध विकास संस्थान मार्फत यसको परीक्षण सञ्चालन भइरहेको छ । साथै, हेटौंडा–११ मा निर्माण सम्पन्न भएको प्रादेशिक कृषि थोक बजार पनि १८ साउनमा औपचारिक हस्तान्तरण गरिने तय भएको कृषिमन्त्री श्रेष्ठले बताए ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मन्त्रालयले अझ महत्वाकांक्षी कार्यक्रम अघि सारेको छ । कृषि क्षेत्रमा लगानी प्रवर्द्धनका लागि १० करोड रुपैयाँको कर्जा सुरक्षण कोष, ५ करोडको सहुलियतपूर्ण ब्याज अनुदान, स्मार्ट कृषि फार्म र स्मार्ट पशुपन्छी फार्म स्थापना, आधुनिक वधशाला निर्माण र जैविक मल कारखानाको निरन्तरता जस्ता कार्यक्रम अघि सारिएका छन् ।
पशुपन्छी तथा मत्स्य व्यवसाय प्रवर्द्धन गर्न स्टार्टअप अनुदान मार्फत २० करोड विनियोजन गरिएको छ भने किसानलाई राहत, व्यावसायिक खेती प्रवर्द्धन, च्याउ र फूल सजावट खेती, कृषि बजार सूचना प्रणाली र आधुनिक ग्रिन हाउस निर्माण जस्ता कार्यक्रम पनि अघि सारिएका छन् ।