। कैलालीमा एक युवतीको हत्या भएको छ । १७ वर्षीया किशोरी याचना सेजुवालको चक्कु प्रहार गरी हत्या भएको हो ।
बर्दगोरिया गाउँपालिका-३ घर भएकी उनी सो पालिकाको वडानम्बर १ मा रहेको राजधानी सेकुवा एण्ड म:म सेन्टरमा काम गर्थिन् ।
सेजुवाललाई सोही सेकुवा सेन्टरमा काम गर्ने निरज साउदले चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक(डीएसपी) राजकुमार सिंहका अनुसार शनिबार बिहान १० बजेतिर सेजुवालमाथि बर्दगोरिया-१ का ३३ वर्षीय साउदले चक्कु हानेका थिए ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सेजुवाललाई उपचारका लागि तत्काल धनगढीको निसर्ग हस्पिटल पुर्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको डीएसपी सिंहले बताए ।
सेजुवालको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल राखिएको छ । उनीमाथि चक्कु प्रहार गर्ने साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको कारण खुलेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।