। गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङको जन्मदिन पाटीबाट पक्राउ परेका १९ जना कम्तीमा ७ दिन हिरासतमा रहने भएका छन् ।
गएराति महाराजगञ्जको एक होटलबाट पक्राउ परेका उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो ।
राति ४७ जना समातिए पनि २८ जनालाई प्रहरीले छाडेको थियो । बाँकी १९ जनालाई अभद्र व्यवहारको कसुर गरेको आरोपमा अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै प्रहरीले हिरासतमा राख्न म्याद मागेको थियो ।
पहिलो पटक अभद्र व्यवहारको कसुरमा अनुसन्धान भएकाहरुको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ । काठमाडौंका एसपी कुलदिप चन्दका अनुसार, म्याद थप भएसँगै चक्रे मिलनसहित गण्ोशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्कालाई हिरासतमा राखेर अनुसन्धान हुनेछ ।
त्यस्तै, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही पनि हिरासतमा रहनेछन् ।
मध्यराति जन्मदिन पार्टी मनाउने नाममा होहल्ला गरेको भन्दै प्रहरीले उनीहरुलाई समातेको थियो । पक्राउ परेका अन्य कोही होटलमा आएका ग्राहक समेत भएको पाइएको र कतिपय असंलग्न व्यक्ति भएको पाइएको प्रहरीको भनाइ छ ।
‘विभिन्न प्रकृतिका मानिसहरु पक्राउ परेका थिए, त्यसमध्ये स्क्रिनिङ गरेर अरुलाई छाडिएको हो’, एसपी चन्दले भने ।