: संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा संयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक परिषद् (युनाइटेड नेसन्स् इकोनोमिक एन्ड सोसल काउन्सिल) को अध्यक्षमा चुनिएका छन् । यसअघि उपाध्यक्ष रहेका थापा वर्ष २०२५/२०२६ का लागि अध्यक्ष चुनिएका हुन् ।
राष्ट्रसंघका मुख्य ६ वटा अंगमध्ये एक इकोनोमिक एन्ड सोसल काउन्सिलको अध्यक्ष चुनिएका थापा यो पदमा पुग्ने पहिलो नेपाली कूटनीतिज्ञ हुन् । साथै, ७० वर्षको संयुक्त राष्ट्रसंघमा नेपालको सहभागिताको इतिहासमा राष्ट्रसंघको यो जिम्मेवारीमा नेपाल पुगेको पहिलो अवसर हो ।
राष्ट्रसंघमा मुख्य ६ वटा अंगहरूमा साधारणसभा (जनरल एसेम्बली), सुरक्षा परिषद् (सेक्युरिटी काउन्सिल), आर्थिक तथा सामाजिक परिषद् ( इकोनोमिक एन्ड सोसल काउन्सिल), ट्रस्टी सिप परिषद् (ट्रस्टी सिप काउन्सिल), न्यायको अन्तर्राष्ट्रिय अदालत (इन्टरनेसनल कोर्ट अफ जस्टिस) र सचिवालय रहेका छन् । राष्ट्रसंघको ६ मध्ये एक अंगको प्रमुख चुनिएका थापाको कार्यकाल ३१ जुलाई २०२६ सम्म हुनेछ । अन्तर्राष्ट्रिय आर्थिक सहयोग र विकासलाई प्रवर्धन गर्ने मुख्य जिम्मेवारी रहेको यस परिषद्मा ५४ देश सदस्य छन् ।
आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षता गरिसकेपछि मन्तव्य राख्दै संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि थापाले नेपालका लागि देखाएको भरोसा र विश्वासका निम्ति सदस्य राष्ट्रहरूलाई धन्यवाद दिएका छन् । ‘२०२५/२०२६ सत्रका लागि आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षता ग्रहण गर्नु मेरा लागि एउटा विशिष्ट सम्मान र सौभाग्यको कुरा हो । म यस महत्वपूर्ण भूमिकाका लागि नेपालप्रति राखिएको विश्वास र भरोसाका लागि सबै सदस्य राष्ट्रहरूलाई हार्दिक कृतज्ञता र कदर गर्दछु । म यो जिम्मेवारी विनम्रता, दृढ संकल्प र
गहिरो प्रतिबद्धताका साथ स्वीकार गर्दछु’, थापाले भनेका छन् ।
आउँदो वर्ष परिषद्लाई समावेशी, प्रभावकारी र परिणाममुखी बनाउन साझा दृष्टिकोणका साथ अघि बढाउने धारणासमेत थापाले राखे । ‘नेपालका लागि यो एक ऐतिहासिक क्षण हो । यस वर्ष संयुक्त राष्ट्रसंघमा प्रवेश भएको ७० वर्ष भयोे, पहिलोपटक अध्यक्षता ग्रहण गर्नु बहुपक्षीयताप्रतिको हाम्रो स्थायी प्रतिबद्धताको प्रमाण हो र यो अवसर विश्वास निर्माण गर्न, बहुपक्षीय सहयोगलाई सुदृढ पार्न र अझ न्यायपूर्ण, समावेशी, समतामूलक र लचिलो संसार प्राप्त गर्न अर्थपूर्ण योगदान गर्ने हाम्रो आकांक्षा हो’, उनले भने ।
आज विश्व बहुसंकटमा गुज्रिरहेको बताउँदै उनले थपे, ‘द्वन्द्व, जलवायु अवरोध, आर्थिक अनिश्चितता र गहिरो असमानताहरू, भूराजनीतिक तनाव, साइबर खतराहरू बढ्दै गइरहेका छन् । सन् २०३० को एजेन्डा गम्भीर रूपमा ट्र्याकबाट बाहिर छ । दिगो विकास लक्ष्यको १७ प्रतिशतमात्र प्रगति भइरहेको छ । गरिबी, भोकमरी र असमानता कायमै छ । मानवीय आवश्यकताहरू बढेका छन् । लगभग ३० करोड जनतालाई तत्काल सहयोगको आवश्यकता छ ।
विकासशील देशहरूको लागि वार्षिक ४ ट्रिलियन डलरको वित्तपोषण अन्तरले एसडीजी र जलवायु लक्ष्यहरू दुवैको प्रगतिलाई खतरामा पार्छ । यी
चुनौतीहरू प्रणालीगत र एकआपसमा अन्तरसम्बन्धित छन् ।’
‘सबैको लागि दिगो भविष्यको लागि २०३० एजेन्डा र एसडीजीएसको लागि रूपान्तरणकारी, समतामूलक, नवीन कार्यको लागि स्पष्ट आह्वान हो । यी लक्ष्यहरू दिगो विकासका लागि महŒवपूर्ण स्तम्भहरू हुन्’, उनले भने, ‘यो बहुपक्षीयतामा विश्वास पुनस्र्थापित गर्ने, विभाजनहरूलाई कम गर्ने, सबैभन्दा कमजोरलाई सशक्त बनाउने र प्रतिबद्धताहरूलाई कार्यमा रूपान्तरण गर्ने हाम्रो मार्ग हो ।’
आफ्नो नेतृत्वको कार्यकालमा आफूले प्राथमिकतामा राखेका पक्षहरूलाई जोड दिँदै बहुपक्षीयतालाई सुदृढ पार्ने र राष्ट्रहरू बीच, संस्थाहरू र उनीहरूले सेवा गर्ने मानिसबीच विश्वास पुनर्निर्माण गर्दै जाने उनले बताए । ‘असमानता र द्वन्द्वदेखि जलवायु परिवर्तन र डिजिटल अवरोधसम्म आजको अन्तरसम्बन्धित संकटहरूको सामना गर्दा बहुपक्षीय सहयोगको विकल्प नभएकाले यसलाई महŒव दिने उनले उल्लेख गर । ‘हाम्रो अध्यक्षताको समयमा, हामी विश्वास पुनर्निर्माण गर्न र समावेशी बहुपक्षीय सहयोगलाई बलियो बनाउन कडा परि श्रम गर्नेछौं’, उनले भने ।
२०३० एजेन्डालाई तीव्र पार्दै यसका लागि स्केल–अप लगानी, बोल्ड नीतिहरू, नवीनता र समावेशी साझेदारी आवश्यक रहेको उनले प्रष्ट्याए । ‘यसका लागि म सदस्य राष्ट्रहरू र संयुक्त राष्ट्रसंघका एजेन्सीहरूसँग काम गर्नेछु, जसले गर्दा हामी दिगो विकासको लागि २०३० को एजेन्डालाई कसरी तीव्रता दिन सक्छौं र यसको प्रभावकारी कार्यान्वयनमा योगदान पुर्याउन सक्छौं भन्नेमा लाग्नेछौं’, उनले भने ।
यस्तै, थापाले संयुक्त राष्ट्रसंघ प्रणालीभित्र प्रभावकारी समन्वय सुनिश्चित गर्दै एकीकृत संयुक्त राष्ट्रसंघ प्रणालीमार्फत राम्रो परिणामहरू प्रदान गर्न सक्रिय रहने उल्लेख गरे । साझेदारीलाई सुदृढ पारी आजका बहुआयामिक चुनौतीहरूको लागि सुसंगत र समन्वित विश्वव्यापी प्रतिक्रिया सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघका प्रमुख अंगहरूबीच ठूलो तालमेल सिर्जना गर्नु महŒवपूर्ण रहेको उनको धारणा छ । ‘म महासभाका अध्यक्ष, सुरक्षा परिषद्का अध्यक्ष र संयुक्त राष्ट्रसंघका महासचिवसँग नजिकबाट काम गर्नेछु’, सम्बोधनको क्रममा उनले भने ।
यस्तै, विगतका सहमति, योजनाको कार्यान्वयन र अनुगमन सुनिश्चित गर्दै लग्ने पनि उनले जनाए । आफ्नो कार्यकालमा संवाद आयोजना गर्नेदेखि प्रमुख संयुक्त राष्ट्रसंघीय सम्मेलनहरूको अनुगमन सुनिश्चित गर्ने र शिखर सम्मेलनका घोषणाहरू र निर्णयहरूको कार्यान्वयनलाई वास्तविक प्रगतिमा परिणत गर्न लागि पर्ने थापाको भनाइ छ । थापाले भने, ‘हामी खाद्य सुरक्षा र ग्रामीण लचिलोपनलाई बलियो बनाउन कृषि र खाद्य प्रणालीहरू रूपान्तरण गर्ने विषयमा ध्यान केन्द्रित गर्नेछौं । विश्वव्यापी रूपमा ७३ करोड ५० लाखभन्दा बढी मानिस भोकमरीको सामना गरिरहेका छन् । यो समस्यासँग जुध्न कृषि खाद्य प्रणालीहरूलाई इक्विटी, दिगोपन र अवसरको इन्जिनको रूपमा प्रवर्द्धन गर्नेछौं ।’
दिगो विकास लक्ष्यको प्रगतिलाई तीव्र बनाउन डिजिटल समावेशीकरण र युवा उद्यमशीलतालाई समर्थन गरी डिजिटल पहुँच, पूर्वाधार, लगानी, प्रविधि स्थानान्तरण र क्षमता वृद्धि गर्दै युवा उद्यमशीलताको लागि निर्माण समर्थन विस्तार गर्न, युवा–नेतृत्वको नवप्रवर्तन र डिजिटल सेवा निर्यातलाई प्रोत्साहन गर्न ध्यान केन्द्रित गर्ने उनले बताए । उनले जलवायु परिवर्तन र यसले निम्त्याएका जोखिममा केन्द्रित रही हिमतालको आयातन वृद्धिलगायतका पक्षमा ध्यान दिने पनि जनाए ।
नेपालका लागि यो एक ऐतिहासिक क्षण हो । यस वर्ष संयुक्त राष्ट्रसंघमा प्रवेश भएको ७० वर्ष भयोे, पहिलोपटक अध्यक्षता ग्रहण गर्नु बहुपक्षीयताप्रतिको हाम्रो स्थायी प्रतिबद्धताको प्रमाण हो ।
लोकबहादुर थापा, अध्यक्ष, राष्ट्रसंघ आर्थिक तथा सामाजिक परिषद्
थापाले प्रणालीगत सुधार र रणनीतिक साझेदारीमार्फत विकासको लागि वित्तपोषणको परिचालनलाई समर्थन गरी ऋणमा फसेका विकासशील देशहरूलाई सहयोगका लागि विश्व बैंकसँगको समन्वय र संलग्नतालाई अझ बढाउँदै लैजाने उल्लेख गरे । अध्यक्ष थापाले दिगो पूर्वाधार र पर्यटनमा लगानी प्रवर्द्धन गर्न, हरित वृद्धिलाई अगाडि बढाउन, राम्रो रोजगारी सिर्जना गर्न, क्षेत्रीय सम्पर्क बढाउन, विकासशील देशहरूमा व्यापार क्षमता सुदृढ पार्ने प्रयासहरूलाई प्राथमिकता दिई पुँजीलाई आकर्षित गर्ने र दीर्घकालीन विकासलाई समर्थन गर्ने अनुकूल लगानी, वातावरण निर्माण र प्रविधि हस्तान्तरणको लागि विश्वव्यापी सहयोगको समर्थन बढाउने आफ्नो योजना सुनाए ।
उनले लैङ्गिक समानता, युवा संलग्नता, नागरिक समाज सहभागिता, तथ्यांकमा आधारित दृष्टिकोण र समानता तथा सक्रिय सहभागिताभा जोड दिइने पनि जनाए । निवर्तमान अध्यक्षसहित परिषद्का निवर्तमान पदाधिकारीहरूलाई थापाले धन्यवादसमेत दिएका छन् ।
यसअघि परिषद्को अध्यक्ष संयुक्त राष्ट्रसंघका लागि क्यानडाका स्थायी प्रतिनिधि बोब राय थिए । नेपाल अध्यक्ष चुनिएर थापा अध्यक्ष बन्दा राष्ट्रसंघका लागि स्थायी प्रतिनिधिहरू अल्जेरियाका अमर बेन्डजामा, अर्मेनियाका परुएर होभान्निसायन, द डोमेनिकन रिपब्लिकका विलिङट्न डारियो बेन्कोस्मे कास्टानोस र स्पेनका हेक्टन होजे गोमेज हर्नान्डेज उपाध्यक्ष निर्वाचित भएका छन् ।
को हुन् थापा ?
जुलाई ३१, २०२५ मा संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को २०२५÷२०२६ सत्रको लागि अध्यक्षमा निर्वाचित भएका थापा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधिको रूपमा कार्यरत छन् । उनले १ सेप्टेम्बर २०२३ मा संयुक्त राष्ट्रसंघका महासचिवलाई आफ्नो ओहोदाको परिचयपत्र प्रस्तुत गर्दै यो भूमिका सम्हालेका थिए ।
थापाले विश्वव्यापी निर्णय प्रक्रियामा अल्पविकसित देशहरूको सामूहिक आवाजलाई सुदृढ पार्ने प्रयासहरूको नेतृत्व गर्दै अति कम विकसित देशहरू (एलडीसीएस) को विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षको रूपमा पनि काम गरिरहेका छन् । उनी हाल अल्पविकसित देशहरूको लागि संयुक्त राष्ट्र प्रविधि बैंकको गभर्निङ काउन्सिलको सदस्यको रूपमा सेवा गरिरहेका छन् । थापाले विकासका लागि वित्त पोषणसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन (एफएफडीफोर) को परिणाम दस्तावेज कोमप्रोमिसो डी सेभिल्लाको सह–सहयोगकर्तामध्ये एकको भूमिकामा पनि काम गरेका थिए ।
राजदूत थापाले नेपालको विदेश सेवामा बहुपक्षीय र द्विपक्षीय कूटनीतिमा विशेषज्ञतासहित ३५ वर्षभन्दा बढी काम गरिसकेका छन् । सन् २०१६ देखि २०२० सम्म थापाले बेल्जियमको राजदूत र युरोपेली संघको नियोग प्रमुखको रूपमा काम गरिसकेका थिए । थापाले बेइजिङमा रहेको नेपाली दूतावास, रियादमा रहेको नेपाली दूतावास र क्यानबेरामा रहेको नेपाली दूतावासमा रहेर सेवा गरिसकेका छन् । उनले नेपाल सरकार परराष्ट्र मन्त्रालयमा उत्तर–पूर्वी एसिया महाशाखा प्रमुख, दक्षिणपूर्व एसिया महाशाखा प्रमुख, पश्चिम एसिया महाशाखा प्रमुख र मन्त्रालयको राहदानी विभागको महानिर्देशकजस्ता महत्वपूर्ण पदहरू सम्हालेका थिए ।
विभागको महानिर्देशकको रूपमा आफ्नो कार्यकालमा उनले अनलाइन नामांकन प्रणालीको सुरुवात र सेवा विकल्पहरूलाई तीव्रता दिनेजस्ता महत्वपूर्ण र समावेशी सुधारका कामहरू गरेका थिए । थापाले नेपालका प्रथम राष्ट्रपतिको कार्यालयमा प्रोटोकल र सम्पर्क अधिकृतको रूपमा र सन् २०१४ मा तत्कालीन नेपालका परराष्ट्रमन्त्रीको निजी सचिवको रूपमा काम गरेका थिए ।
सन् २०२१ मा राजदूत थापालाई सुप्रबल जनसेवा श्री प्रदान गरिएको थियो । उक्त राष्ट्रिय सम्मान नेपालका राष्ट्रपतिले विशिष्ट सार्वजनिक सेवाको कदरस्वरूप प्रदान गरेका थिए । उनले सन् २०१५ मा नेपाल सरकारबाट निजामती सेवा पुरस्कार र नागरिक सेवा पुरस्कार पनि प्राप्त गरेका थिए ।
राजदूत थापाले ल्यान्कास्टर विश्वविद्यालय, बेलायतबाट कूटनीतिमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । उनले नेपाल, अस्ट्रेलिया, दक्षिण कोरिया, थाइल्यान्ड र संयुक्त राज्य अमेरिकामा विशेष कूटनीतिक तालिम पनि प्राप्त गरेका छन् ।