: रामेछापको भटौली खोलामा गएराती आएको बाढीले पक्की पुलको किनारमा क्षति पुर्याएको छ। मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबासलाई जोड्ने पुलको पकरबास पट्टीको भागमा खोलाले कटान गरेर क्षति पुगेको हो।
मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौं जाने वैकल्पिक सडकको पक्की पुलमा क्षति पुगेर सवारी साधन अवरोध भएपछि अहिले आकस्मिक संरक्षण एवम् मर्मत कार्य सुरु भएको मन्थली नगरपालिकाका पूर्वाधार विकास तथा अनुगमन शाखाका प्रमुख एवम् इन्जिनियर डिल्ली अधिकारीले जानकारी दिए। इन्जिनियर अधिकारीका अनुसार स्विस सरकारको सहयोगमा आर्थिक वर्ष २०७१/०७२ मा स्थानीय सडक पुल कार्यक्रम अन्तर्गत करिब ४ करोड रुपैयाँको लागतका ४० मिटर लामो पुल निर्माण भएको थियो।
उनले भने, ‘यो पुल हाल प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय, रामेछापको जिम्मेवारीमा रहेको छ। आज बिहान करिब ३:०० बजे भटौली खोलामा आएको बाढीको कारण यो पुलको दायाँ किनारा तर्फको जगमा क्षति पुग्न गई पुल जोखिम अवस्थामा रहेको र सवारी आवतजावत समेत अवरुद्ध भएको छ ।
तत्काल मर्मत नगर्दा जोखिम बढ्ने भएकाले तदारुपता देखाइएको उनको भनाई छ। बाढीले कटान गरेर अवरुद्ध भएको जानकारी पाएलगत्तै जिल्ला प्रशासन कार्यलय र स्थानीय तहहरुको समन्वय र सहजीकरणमा पुल संरक्षण तथा यातायात सुचारु गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल, सिभिल कामदारले आकस्मिक संरक्षण एवम् मर्मत कार्य सुरु भएको अधिकारीले बताए।
यता खोलाले पुल खोल्न लागेपछि यस अघि नै वडा कार्यालयले पूर्वाधार विकास कार्यालय लगायतका निकायमा पत्राचार गरेपनि समयमा नै काम सुरु नहुँदा थप क्षति भएको खाँडादेवी–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनले भने, ‘सुरुमा नै काम थाल्न पाएको भए यति क्षति हुने थिएन।’