: रुपन्देही प्रहरीले ठूलो परिमाणमा कपडा र जुत्ता बरामद गरेको छ। वडा प्रहरी कार्यालय बुटवलको टोलीले बुटवलको रामनगरस्थित पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ४५११ नम्बरको कन्टेनर चेकजाँच गर्दा बिल बिजक नभएको ठूलो परिमाणमा कपडा र जुत्ता बरामद गरेको प्रहरीले जनाएको छ ।
रुपन्देहीका एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार नियन्त्रणमा लिइएको कन्टेनरबाट जेन्स जुत्ता ३ सय ५८ जोर, लेडिज सुट ७ सय ५१ पिस, लेडिज टप्स २ हजार १ सय ७५ पिस बरामद भएको छ । साथै, कन्टेनरका चालक रसुवाको कालिका गाउँपालिका–२ का २६ दावा बुलुन र सोही स्थानका सहचालक १६ वर्षीय राज तामाङलाई पक्राउ गरिएको उनले जनाए ।
बरामद सामग्री,कन्टेनरको ५४ लाख ३० हजार मूल्यांकन गरी पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवललाई बुझाइएको प्रहरीले जनाएको छ।
त्यस्तै वडा प्रहरी कार्यालय भैरहवाको टोलीले अंचलपुरबाट १ लाख ७ हजार मूल्य बराबरको एयर पोर्ड ४५ पिस, पावर बैंक ३१ पिस बरामद गरी भैरहवा भन्सार कार्यालयमा बुझाएको छ।
यस्तै इलाका प्रहरी कार्यालय बेलहियाको टोलीले बेलहिया बाइपासबाट १ लाख १० हजार मूल्य बराबरको थानको कपडा ७ थान, टेलरिङका कपडा २ बोरा र किराना सामग्री ४ बोरा बरामद गरी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।