: मोरङको अलगअलग स्थानका धानखेतमा दुईजनाको शव भेटिएको छ । घटनास्थल उर्लाबारी र बेलबारीमा पर्छ । प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–२ का २५ वर्षीय सुशील लिम्बू मंगलबार बिहान धानखेतमा मृत फेला परेका छन् ।
घरको आँगनसँगै जोडिएको खेतमा घोप्टो परेको अवस्थामा शव भेटिएको हो । प्रहरीका अनुसार दायाँ नाकाबाट रगत बगेको र हातखुट्टा कक्रिएको अवस्थामा लिम्बूलाई मृत फेला पारिएको हो । उनको मृत्युको कारण खुल्न बाँकी छ ।
घटनास्थलबाट कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रन्जन बराल नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
त्यस्तै,बेलबारी नगरपालिका–७ गिरी टोलका ४१ वर्षीय डमरु ऋषिदेवको शव आफ्नै धानखेतमा फेला परेको छ । उनलाई सोमबार साँझ ६:३० बजेतिर मृत फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धानखेतमा युरिया मल छर्नका लागि भनेर घरबाट हिँडेका उनको शव खेतमै घोप्टो परेको अवस्थामा भेटिएको हो ।
ऋषिदेवको पनि मृत्युको कारण खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि पठाएको छ । घटनाको वास्तविकता पत्ता लगाउन खत्री नेतृत्वकै टोलीले थप अनुसन्धान गरिरहेको छ ।