मुख्य समाचार
बड्डीचौर–खम्बागाडे सडकखण्डको ठेक्काको ३ वर्षपछि रूख काट्न अनुमति
बड्डीचौर–खम्बागाडे सडकखण्डको ठेक्काको ३ वर्षपछि रूख काट्न अनुमति

: सडकको ट्र्याक खुलेको झन्डै ३० वर्ष भयो । यही सडकलाई राजनीतिक दलले नारा बनाए । स्तरोन्नति र कालोपत्रे गरिदिने बाचा गरे । तर, अहिले पनि सुर्खेतको पश्चिम क्षेत्रलाई जोड्ने बड्डीचौर–खम्बागाडे सडकखण्डको हालत उस्तै छ । अर्थात् यो सडकमा नागरिकलाई सुविधाभन्दा सास्ती बढी छ । हालसम्म पनि यो सडक कालोपत्रे हुन सकेको छैन ।



ट्र्याक खुलेको वर्षौंसम्म स्तरोन्नति हुन सकेन । पछिल्लो समय मदन भण्डारी राजमार्गमा समेटिएपछि यो सडकको स्तरोन्नति हुने अपेक्षा गरिएको थियो । तर, राजमार्गमा समेटिए पनि यो खण्डमा स्तरोन्नतिको काम हुन सकेन । सडकमा पर्ने रूख कटानको अनुमति नपाउँदा निर्माणको काम नै रोकियो । बड्डीचौर–खम्बागाडे सडकको जम्मा दूरी केबल १३ किलोमिटर छ । यो खण्डको स्तरोन्नतिका लागि भन्दै २०७९ सालमा नै ठेक्का लागेको थियो । सरासर काम भएको भए २०८१ सालमा नै यो सडक कालोपत्रे भइसक्थ्यो । तर, रूख काट्ने अनुमति नपाउँदा निर्माणको काम नै अलपत्र परेको हो ।


लामो कसरतपछि बल्ल यो सडकमा पर्ने रूख काट्ने अनुमति मिलेको छ । अर्थात् सडक स्तरोन्नतिका लागि ठेक्का लागेको तीन वर्षपछि आएर सडकमा पर्ने रूख काट्ने अनुमति मिलेको हो । तीन वर्षअघि नै ठेक्का लागेको भए पनि रूख कटानको अल्झनका कारण काम अगाडि बढ्न सकेको थिएन । तर, अब भने सडक स्तरोन्नतिको कामले गति लिने अपेक्षा गरिएको छ । केही दिनअघि मात्र यो सडकमा पर्ने रूख कटानका लागि त्रिपक्षीय सम्झौता भएको छ । वन तथा भू–संरक्षण विभाग, कर्णाली प्रदेशको पूर्वाधार विकास निर्देशनालय र मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयबीच रूख कटानको सम्झौता भएको हो ।


अब यो सडकमा रोकिएको स्तरोन्नतिको काम अगाडि बढ्नेछ । सम्झौताअनुसार यो सडकमा पर्ने विभिन्न प्रजातिका ८६४ वटा रूख काट्ने बाटो खुलेको छ । सरकारले रूख कटानको अनुमति दिएसँगै अब काम अगाडि बढ्ने पूर्वाधार विकास निर्देशनालय सुर्खेतका प्रमुख सूर्यबहादुर शाहीले बताए । उनले भने, ‘यो सडकको स्तरोन्नतिका लागि २०७९ सालमै ठेक्का आह्वान भएको थियो, तर रूख कटानको अल्झन् थियो । अब भने सडकमा पर्ने रूख कटानको प्रक्रिया अगाडि बढ्छ, यो आर्थिक वर्षभित्रमा कालोपत्रेको काम सकिन्छ ।’ ठेक्का सम्झौताअनुसार २०८१ सालमा नै यो सडक कालोपत्रे भइसक्नुपर्ने थियो । तर, काममा अवरोध भएका कारण २०८३ साल असारसम्मका लागि म्याद थप गरिएको छ ।

पूर्वाधार विकास निर्देशनालयका अनुसार हालसम्म यो सडकको भौतिक प्रगति जम्मा २५ प्रतिशत छ । मदन भण्डारी राजमार्गमा परेको भए पनि यो खण्डको निर्माणमा प्रदेश सरकारले लिएको छ । यो सडकका लागि प्रदेश सरकारले ४२ करोड बजेट विनियोजन गरेको छ । रूख कटान नहुँदा अहिले बड्डीचौर बजारदेखि गिभिनेसम्म झन्डै ६ किलोमिटर र खम्बागाडेतर्फ एक किलोमिटर सडकमा नाला, सपोर्टवाल र कल्भर्ट निर्माण गरिएको छ । तर, ब्युरेनी क्षेत्रमा भने सडकमा रहेका रूखका कारण सडक विस्तारको काम रोकिएको थियो । २०८१ सालमै कालोपत्रे सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले रूखको कारण देखाउँदै निर्माणमा ढिलाइ गरिरहेको थियो । यो सडकखण्डमा कालोपत्रे भएमा पश्चिम क्षेत्रका नागरिकलाई सहजता हुनेछ ।

ट्र्याक खुलेको झन्डै ३० वर्षपछि सुर्खेतको पश्चिम क्षेत्रलाई जोड्ने सडकमा कालोपत्रे गर्नका लागि तीन खण्डमा काम भइरहेको हो । जसमध्ये बड्डीचौर–खम्बागाडे खण्ड एउटा हो । मदन भण्डारी राजमार्ग नामाकरण गरिएको सडकको पहिलो खण्डअन्तर्गत बड्डीचौरदेखि खम्बागाडेसम्म कालोपत्रे गर्नका लागि ४२ करोड ४७ लाख ६१ हजारमा अनक जयदेवी जेभी बाँकेले सम्झौता गरेको छ । जयदेवीका सञ्चालकले अपेक्षाकृत काम गर्न नसकेपछि मुख्य निर्माण कम्पनी अनकले निर्माणको पूरै जिम्मेवारी आफैं लिएको छ । रूख कटानको काम सकेर दसैंपछि कालोपत्रेको काम अगाडि बढ्ने निर्देशनालयको भनाइ छ । बड्डीचौरलाई शून्य विन्दु मानेर तीन वर्षअघि नै यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गरिएको थियो । तर, संघ सरकारले सडक निर्माणमा चासो नदेखाएपछि कर्णाली प्रदेश सरकारले पश्चिम क्षेत्रका नागरिकलाई सहज यात्राका लागि सडक कालोपत्रे गर्ने कामको अपनत्व लिएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पटक–पटक म्याद थप्दै निर्माण गरिएको सर्वाधिक चासोको रूपमा हेरिएको बुटवल नारायणगढ सडकको फेरि अन्तिम पटकका लागि भन्दै चौथो पटक म्याद थपिएको छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण निर्माणले चाहेअनुसार गति लिन सकेको छैन । सडकको अहिले दाउन्ने खण्डमा बेहाल छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने यो सडकमा दैनिक हजारौं सवारीसाधन ओहोरदोहोर गर्छन् । सडक निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन ...
— उखुको अनुदान कटौती गरेको विरोधमा किसानहरुले चिनी उद्योग अगाडि प्रदर्शन गरेका छन् । उखु खेतीमा लगानी बढ्दै गएको समयमा सरकारले उखुको अनुदान कटौती गरेको विरोधमा मंगलबार महोत्तरीको गौशालास्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज अगाडि किसानले टायर बालेर प्रदर्शन गरेका हुन् । उखु उत्पादक कृषक महासंघ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवाहाले उखु कृषकहरुले सरकारको निर्णयको सांकेतिक रुपमा ...
: मोरङको अलगअलग स्थानका धानखेतमा दुईजनाको शव भेटिएको छ । घटनास्थल उर्लाबारी र बेलबारीमा पर्छ । प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–२ का २५ वर्षीय सुशील लिम्बू मंगलबार बिहान धानखेतमा मृत फेला परेका छन् । घरको आँगनसँगै जोडिएको खेतमा घोप्टो परेको अवस्थामा शव भेटिएको हो । प्रहरीका अनुसार दायाँ नाकाबाट रगत बगेको र हातखुट्टा कक्रिएको अवस्थामा ...
— 'संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति' ले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको हो । मंगलबार समिति सभापति एवं कांग्रेस सांसद जीवन परियारले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएलगत्तै सार्वजनिक गरिएको हो । समितिले सार्वजनिक गरेको प्रतिवेदनमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र समितिका सचिव सुरज दुराले आफ्नो जिम्मेवारी ...
सन्धिखर्क–गोरुसिंगे सडक छिनछिनमा बन्द हुने र खुल्ने