: पटक–पटक म्याद थप्दै निर्माण गरिएको सर्वाधिक चासोको रूपमा हेरिएको बुटवल नारायणगढ सडकको फेरि अन्तिम पटकका लागि भन्दै चौथो पटक म्याद थपिएको छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण निर्माणले चाहेअनुसार गति लिन सकेको छैन । सडकको अहिले दाउन्ने खण्डमा बेहाल छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने यो सडकमा दैनिक हजारौं सवारीसाधन ओहोरदोहोर गर्छन् ।
सडक निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएसीसईसी–चाइना)ले तेस्रो पटक म्याद थप्दासमेत काम नसकेपछि चौथो पटक थपिएको छ । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सडक विभागअन्तर्गत यो आयोजना अघि बढेको छ । तेस्रो पटकको म्याद २०८२ साउन ६ मा सकिएको थियो ।
बुटवलदेखि नारायणगढसम्मको कुल दूरी १ सय १३ किलोमिटर छ । बुटवलदेखि दाउन्नेसम्मको ४८ किमिलाई पश्चिम खण्ड र दाउन्नेदेखि नारायणगढसम्मको ६५ किमि दूरीलाई पूर्वी खण्डका रूपमा विभाजन गरेर निर्माण भइरहेको छ । यी दुवै खण्डमा हालसम्म ७० प्रतिशत भौतिक प्रगति भएको सडक विभागअन्तर्गत एसियाली विकास बैंक (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकालले जानकारी दिए ।
‘चौथोपटक थपिएको एक वर्षको समयभित्र बाँकी रहेको ३० प्रतिशत काम सक्ने सम्झौता भएको छ’, ढकालले भने, ‘त्यस अवधिमा जसरी पनि काम सक्छु भनेर निर्माण कम्पनीले प्रतिबद्धता जनाएका छन् । दाउन्ने खण्डबाहेक अरू क्षेत्रमा निर्माणले गति लिएको छ ।’ उनले दाउन्ने खण्डको १४ किलोमिटरमध्ये हाल ९ किलोमिटर क्षेत्रमा मात्र बढी समस्या देखिएको जानकारी दिए । पश्चिम खण्डमा २०८३ साउन ५ र पूर्वी खण्डमा साउन ७ सम्म म्याद थप भएको उनले बताए । पूर्वी र पश्चिम दुवै खण्डमा करिब ६३ प्रतिशत वित्तीय प्रगति भएको ढकालले जानकारी गराए ।
दाउन्ने खण्डमा कालोपत्रे सडक नटिक्ने समस्या हुने भएकाले राम्रो खालको ढलान गर्ने भन्नेबारे पनि निर्माण कम्पनीसँग छलफल भइरहेको उनको भनाइ छ । ‘तर, ढलान गर्न लागत धेरै चाहिन्छ’, ढकाल भन्छन्, ‘कालोपत्रे गरेर पटकपटक मर्मत गर्नुभन्दा राम्रो खालको ढलान गर्दा उपयुक्त हुने हुँदा यसबारे विभागले छलफल गरिरहेको छ ।’
उनले चौथो पटक म्याद थप भए पनि सुरुमा गरिएको सम्झौताअनुसारको बजेटमा कुनै फेरबदल नभएको बताए । पश्चिम खण्डका लागि ७ अर्ब ८६ करोड र पूर्वी खण्डका लागि कुल ९ अर्ब १३ करोड बजेट विनियोजन गरिएको छ । थपिएको एक वर्षभित्र जसरी पनि सडक उद्घाटन गर्ने योजनासहित विभाग लागिरहेको ढकालले बताए ।
यो सडक पश्चिम नेपालको लाइफलाइन हो । दाउन्ने खण्डकै कारण यसपालीको बर्खा र चाडपर्वमा यात्रा सहज हुने देखिएको छैन् । अस्तव्यस्त सडककै कारण दिनहुँजसो दुर्घटना हुने गरेका छन् । निर्माणको सुरुवाती वर्षमा कोभिड र रूख कटानमा ढिलाइ हुँदा करिब तीन वर्ष कामले गति लिएको थिएन । तर, अहिले दाउन्ने क्षेत्रबाहेक अरू खण्डमा सहज तरिकाले यात्रा गर्न मिल्ने खालको सडक निर्माण भइसकेको छ । निर्माण कम्पनी र सरकारलाई यही दाउन्ने खण्डको भागले तनाव दिइरहेको छ ।
दाउन्ने क्षेत्रमा धेरै कल्भर्ट बनाउनुपर्ने भएकाले कामले गति लिन नसकेको आयोजना कार्यालयको प्रतिक्रिया छ । नारायणगढ–बुटवल सडकखण्डको १४ किलोमिटर मात्र पर्ने दाउन्ने क्षेत्रमा १ सय ३ वटा विभिन्न ठाउँमा कल्भर्ट निर्माणधीन छन । धेरैजसोको निर्माण पूरा भए पनि केही कल्भर्टको काम चलिरहेको छ । धेरै ठाउँमा कल्भर्ट बनाउनुपर्ने भएकाले यो क्षेत्रमा समस्या हुने गरेको नारायणगढ–बुटवल सडक योजना (पूर्वी खण्ड) कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर शिव खनाल बताउँछन् ।
दाउन्नेको पनि बढी समस्या पूर्वी खण्डमै रहेको उनले बताए । दाउन्नेदेखि नारायणगढसम्म पर्ने पूर्वी खण्डको कुल दूरी ६५ किलोमिटरमध्ये दाउन्ने खण्ड मात्र चार किलोमिटर छ । चार किलोमिटर क्षेत्रमा ३३ वटा कल्भर्ट निर्माण गर्नुपर्ने उनको भनाइ छ । ६ वटा बने पनि अरू निर्माणाधीन छन् । कल्भर्ट बन्दै गर्ने र खोलाले बगाउँदै गर्दा निर्माणमा ढिलासुस्ती भएको आयोजना कार्यालयले बताएका छन् ।
सडक निर्माणका नेपाल सरकारले जति चासो दिनुपर्ने हो त्यति नदिँदा निर्माणले अपेक्षाअनुसार गति लिन नसकेको यातायात व्यवसायीहरूको गुनासो छ । ‘पानी पर्छ, बर्खा लाग्दैछ भन्ने कुरा सबैलाई थाहा थियो’, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले भने, ‘तर, समयमै बाटो बनाउनुपर्छ भन्नेमा कोही पनि गम्भिर बनेनन् । अहिले सास्ती हामीजस्ता यातायात व्यवसायीहरूले खेप्नु परेको छ ।’
नेपालमै सबैभन्दा धेरै सार्वजनिक यातायात भएको ठूलो कम्पनी पश्चिम नेपाल बस व्यवसायी प्रालि हो । यही सडक भएर मात्र दैनिक चार सय बढी सवारीसाधनहरू यही कम्पनीका ओहोरदोहोर गर्छन् ।