मुख्य समाचार
३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ
३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ

: ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ। साहस उर्जा मुख्य साझेदार रहेको टाइम्स इनर्जीले निर्माण गर्न लागेको सो आयोजनाका लागि १० वटा बैंकले लगानी गर्ने भएका हुन्। अनुमानित ७० अर्ब रुपैयाँ लागतमा बन्न लागेको सो आयोजनाका लागि ५२ अर्ब ५० करोड(७५ प्रतिशत) लगानी गर्न टाइम्स इनर्जी र बैंक तथा वित्तीय संस्था बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।



सम्झौतापत्रमा टाइम्स इनर्जीका सुशील थापा र बैंकहरुको नेतृत्व गरेको नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरेका हुन्। एनआईएमबीले १० अर्ब रुपैयाँ ऋण लगानी गर्नेछ। नबिल बैंकले आठ अर्ब, लक्ष्मी सनराइज बैंकले आठ अर्ब र ग्लोबल आइएमई बैंकले सात अर्ब रुपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।


साथै, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले चार अर्ब, माछापुच्छ्रे बैंकले चार अर्ब, सिटिजन्स बैंकले तीन अर्ब, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले तीन अर्ब, प्रभु बैंकले तीन अर्ब र कृषि विकास बैंकले दुई अर्ब ५० करोड रुपैयाँ सदस्यका रूपमा ऋण लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।


सम्झौतापत्रमा पाँच वर्ष चार महिनाभित्र ऋण भुक्तानी गर्ने उल्लेख गरिएको छ। प्रवर्द्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरण बीच विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) पनि भइसकेको छ। वर्षायामका लागि ४.८० रुपैयाँ, सामान्य सुक्खायामका लागि ८.४० रुपैयाँ र मुख्य सुक्खायामका लागि १०.५५ रुपैयाँ प्रतियुनिटमा खरिद बिक्री गर्नेगरी सम्झौता गरिएको हो।

२५ प्रतिशत लगानी अर्थात १७ अर्ब ५० करोड रुपैयाँ भने प्रवर्द्धन कम्पनीले स्वपुँजीका रूपमा लगानी गर्नेछ। टाइम्स इनर्जीमा साहस ऊर्जाको ५१ प्रतिशत सेयर स्वामित्व छ। ३४१ मेगावाटको यो परियोजना प्रतिमेगावाट २० करोड ५३ लाख रुपैयाँमा तयार हुनेछ। परियोजनाबाट वर्षा याममा १३०४.०४ गिगावाट, सामान्य सुक्खायाममा २४३.४३ मेगावाट र मुख्य सुक्खायाममा ३२०.३० गिगावाट विद्युत् उत्पादन हुनेछ।

लगानी सम्झौता समारोहमा प्रवर्द्धन कम्पनी टाइम्स इनर्जीले आउँदो भदौबाट बाँध तथा पावरहाउसको जग्गा तयार गर्ने काम सुरु हुने र चैत महिनाबाट निर्माण कार्य सुरु गर्ने जानकारी दिएको छ। आयोजना सम्पन्न भएपछि २०८७ साल पुस १५ गतेदेखि व्यावसायिक उत्पादन सुरु हुने लक्ष्य लिइएको छ। उत्पादित विद्युत् ४५ किलोमिटर पर रहेको नुवाकोटको रातामाटे सबस्टेशनमा लगेर जोडिनेछ। सो सवस्टेशन मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सहयोगमा निर्माण कार्य भइरहेको छ।

गोरखा जिल्लाको चुमनुब्री ३ सल्लेरीमा बाँध बाँधी ६.९ किलोमिटर सुरुङमार्फत पानी झारेर धार्चे गाउँपालिका-३ तातोपानीमा पावरहाउस निर्माण गर्ने कम्पनीले जनाएको छ। सो कम्पनीले यसअघि निजी क्षेत्रकै सबैभन्दा ठूलो ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको र २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको अनुभव छ।

सो आयोजना निजी क्षेत्रबाट सञ्चालित अहिलेसम्मको ठूलो आयोजना हो। ३४१ मेगावाटको बूढीगण्डकी आयोजना सुरु भएपछि यो नै सबैभन्दा ठूलो आयोजना बन्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— यस वर्ष दसैं, तिहार र छठको अवसरमा नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिएको छ । अघिल्ला दुई वर्ष सुकिला (प्रयोगमा रहेका) नोट मात्र वितरण गरेको राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नै सटही सुविधा दिएको हो । राष्ट्र बैंकले नयाँ नोट साट्न विगतमा जस्तो सूचना जारी गर्ने चलन यसपालि हटाएको छ । इच्छुक सर्वसाधारणले राष्ट्र ...
। चाडपर्वका बेला उपभोक्तालाई सहज ग्यास उपलब्ध गराउन ग्यास उद्योगीहरूले जुनसुकै ब्रान्ड (कम्पनी) को ग्यास सिलिन्डर साट्न सक्ने व्यवस्था गर्न लागेको बताएका छन् । यससँगै काठमाडौं उपत्यकाका उपभोक्ताले जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर आफूलाई पायक पर्ने स्थानबाट ग्यास लिन पाउने भएका छन् । यसका लागि उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । एउटामात्र सिलिन्डर भएका उपभोक्ताले बजारमा ...
: आफूसँग भएका जहाजसमेत पूर्णक्षमतामा सञ्चालन गर्न नसकेको नेपाल वायुसेवा निगमले फेरि लिजमा जहाज थप्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ। निगमका ५ चिनियाँ जहाज वर्षौंदेखि व्यावसायिक उडानमा छैनन् , एउटा ट्विनअटर लामो समयदेखि ग्राउन्डेड छ भने अन्तर्राष्ट्रिय उडानका चारमध्ये एउटा वाइडबडी इटालीमा मर्मतका क्रममा लामो समयदेखि उतै छ। निगमका अनुसार अवस्थाअनुसार अन्तर्राष्ट्रिय उडानमा अहिले तीनवटा ...
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘पशु वधशाला र मासु जाँच (दोस्रो संशोधन) नियमावली २०५७’ को मस्यौदा सार्वजनिक गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै विधायन ऐन २०८१ को दफा ६ को उपदफा (२) को प्रयोजनार्थ उक्त मस्यौदामाथि सर्वसाधारण र सरोकारवालाबाट राय, सुझाव तथा पृष्ठपोषण माग गरेको हो । सार्वजनिक गरिएको संक्षिप्त विवरण अनुसार यस मस्यौदाको मुख्य ...
। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले एकल महिला उद्यमीलाई दुई लाखसम्मको प्रविधि सहयोग गर्ने भएको छ । यस्तै, महिला उद्यमी समूहलाई तीन लाखसम्मको प्रविधिमा सहयोग गर्ने भनेको छ । महिला उद्यमशीलता विकास, वित्तीय पहुँच, टेवा पुँजी र प्रविधि सहयोगसहित महिला उद्यमी तथा उद्यमी समूहलाई उद्यमशीलता प्रवर्द्धन कार्यक्रम अन्तर्गत यो सहयोग गर्ने ...