: प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा आज छलफल गर्दैछन्। प्रधानमन्त्री ओलीले मलको विषयमा छलफल गर्न दिउँसो कृषिमन्त्री रामनाथ अधिकारी, सचिव डा. गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा बोलाएको उनको सचिवालयले जनाएको छ।
किसानलाई आवश्यक पर्ने मलको मौज्दात हुँदा र थप मल आउने क्रम जारी रहँदा पनि किसानले समयमा मल नपाएको गुनासो आएपछि प्रधानमन्त्री ओलीले समस्या समाधानमा उच्च प्राथमिकता दिँदै आएका छन्। प्रधानमन्त्री ओलीले खेतीपातीको समय हुनु अगावै कृषिमन्त्रीसहित सम्बन्ध अधिकारीसँगको छलफलमा मलको अभाव नहुने गरी काम गर्न र नेपालमै रासायनिक मलको उत्पादन कारखाना खोल्न तथा प्राङ्गारिक मलको उत्पादन र प्रयोग बढाउने योजना ल्याउन निर्देशन दिएका थिए । सोमबार मन्त्रिपरिषद्को बैठकमा पनि यो विषयले अनौपचारिक रुपमा प्रवेश पाएको थियो।