मुख्य समाचार
अरनिको राजमार्ग खुलाउन नसकेपछि चिनियाँ सामान बोकाएरै ढुवानी
अरनिको राजमार्ग खुलाउन नसकेपछि चिनियाँ सामान बोकाएरै ढुवानी

— चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने अरनिको राजमार्ग पूर्ण रुपमा बन्द भएको ११ दिन बितेको छ । राजमार्गको कोदारी भन्ने स्थानमा लगातार पहिरो गएको छ ।


तर रोकथामका लागि प्रभावकारी रुपमा काम हुन नसकेको गुनासो व्यवसायीले गरेका छन् । व्यवसायीले सडक बन्द भएपछि चीनबाट आयात गरिएको मालवस्तु बोकाएरै पहिरो पार गराउन थालेका छन् ।

सीमा क्षेत्रमा मालबस्तु लोड गरेका कन्टेनरहरु अलपत्र भएपछि स्याउ, लसुन, आँप, अंगुरलगायतका सड्ने फलफूल तथा मसलाजन्य वस्तु भरियालाई बोकाएरै पहिरो पार गराउन थालिएको हो । तयारी पोशाक, जुत्ता, व्याग, रोल कपडा, मेसिनरी औजारलगायतका चीनबाट आयात हुने सयौं प्रकृतिका मालबस्तु नेपाल भित्र्याउन कठिन भएको छ ।

मितेरीपुल, खासा तथा नेलामको गोदामा थन्केका सामान नेपाल भित्र्याउन कठिनाई भएको छ । यस्तो कठिनाई प्रत्येक वर्ष हुने गरे पनि हिउँदमा सडक व्यवस्थित गर्ने ध्यान नदिएका कारण व्यवसायीहरुले हैरानी व्यहोर्दै आएका छन् ।

अहिले कोदारी पहिरोको माथिल्लो भागको बस्ती पहिरोकै कारण जोखिममा परेकाले डोजरले कट्टान गरेर सडक बनाउन पनि नसकिने भएको छ ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यसमिति सदस्यसमेत रहेका आयातकर्ता राजेश भण्डारीले स्याउ प्रतिकन्टेनर डेढ लाखसम्म अतिरिक्त रकम खर्चेर भरियामार्फत सुरक्षित स्थानमा ल्याउने गरेको बताए ।

उनले भने, ‘गत साल पनि असोज ११–१२ को वर्सात्‌ले ठूलै नोक्सानी व्यहोर्नुपरेको थियो । यसपटक त झन् तातोपानी नाकाबाहेक विकल्प नै भएन । स्याउ, आँप जस्ता फलफूल कुहिनुभन्दा बरु घाटा होस भनेर भरिया लगाएका छौं ।’ नेपाली तीन कन्टेनर सामान भरिया लगाएर बोकाउँदा कम्तिमा ५ लाख अतिरिक्त खर्च हुने गरेको स्याउ व्यापारीहरुको भनाइ छ ।



‘स्याउ, आँपलगायतका वस्तु बोकाउँदा काटुन फुट्ने, गर्मीले बिग्रने तथा सामानको सुरक्षा नहुने समस्या देखिएको छ,’ भण्डारीले भने । गत असारको बाढीका कारण रसुवा बन्द भएकोले चीनसँग जोडिएको एक मात्र नाका तातोपानी हो । चीनको विभिन्न सहरबाट ल्याइएका व्यापारिक सामान बाटैमा अलपत्र परेपछि व्यवसायीले करोडौं रुपैयाँ घाटा व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले सडक खुल्ने आशा टुटेको भन्दै चीनसँगको एक मात्र नाकाबाट हुने कारोबार लामो समय ठप्प हुँदा सरकारको केन्द्रीय निकाय संवेदनशील नभएको गुनासो गरे । डेढ सातादेखि पहिरोस्थलमा बसेर सडक खुलाउन सहजीकरण गरिरहेका बस्नतेले बर्सेनि करोडौं राजस्व उठाउने नाकाप्रति सरकारी बेवास्ताले व्यवसायीहरु चिन्तित भएको बताए ।

गतवर्ष तातोपानी भन्सारबाट करिब १९ अर्ब राजस्व संकलन भएको थियो । पहिरोका कारण चालु वर्षमा राजस्व संकलन धेरै प्रभावित हुने देखिएको छ । तातोपानी भन्सार अधिकृत सूर्य काफ्लेका अनुसार साउनमा लक्ष्यको तुलनामा बढीमा ४० देखि ४२ प्रतिशत राजस्व संकलन हुने अनुमान गरिएको छ ।

कोदारी खण्ड सडकमा गत जेठदेखि नै अस्थायी रुपमा पहिरो पन्छाएर कन्टेर खुलाउने र पहिरो आएपछि फेरि बन्द हुने भइरहेको थियो । सडक विभागको डोजर प्रयोग गरेर स्थानीय व्यवसायीकोसमेत सहयोगमा दिनको एक पटक व्यापारिक कन्टेनरहरु भन्सार हातमा भित्र्याउने गरिएको थियो ।

लार्चास्थित सुख्खा बन्दरगाहभन्दा करिब साढे ६ किमी सीमातर्फ सडक अबरुद्ध हुँदै आएको छ । अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको सीमा जोड्ने सडक जताततै पहिरोको जोखिममा छ । त्यसमा कोदारी पहिरो थपिएपछि समस्या झन् बढेको हो ।

कोदारी पहिरोको माथिल्लो मागबाट पानी नपर्दा पनि बगिरहने र तल्लो भागबाट भोटेकोशीले कटान गरिरहने भएकाले सामान्य ढंगले सडक खुलाउन नसकिने बस्नेतले बताए । सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद माधव सापकोटाले सामान्य मर्मतले सडक सञ्चालन हुने अवस्था नभएको भन्दै मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको ध्यानाकर्षण गराए ।

उनले तातोपानी भन्सारबाट सरकारले चालु आवका लागि राजस्व लक्ष्य २४ अर्ब राखेको प्रशंग जोड्दै नाका बन्द हुँदा सरकारको चासो कम भएको बताए । उनले भने, ‘अरनिको राजमार्ग बन्द भएको ११ दिन भयो । सडकमा सामान्य तरिकाले काम गरेर भएन । सात सय मालबाहक कन्टेर बाटोमा अलपत्र रहेको छ ।’

व्यवसायीका अनुसार करिब ६० भन्दा बढी फलफूल बोकेका कन्टेनर बाटैमा अलपत्र छन् । गत असारको बाढीले रसुवा पूर्ण रुपमा बन्द भएपछि व्यापारको ठूलो हिस्सा तातोपानी सरेको छ । रसुवामा अड्केका कन्टेर पनि तिब्बतको नेलाम हुँदै तातोपानीतर्फ आएका छन् । केही व्यवसायीले भने तातोपानी पनि भरपर्दो नभएको भन्दै कलकत्ता बन्दरगाहबाट दक्षिणी नाका भएर सामान भित्र्याउन थालेका छन् ।

तर समुन्द्रको बाटो ल्याउँदा ४० देखि ४५ दिन लाग्ने भएकाले दशैंका सामान बिक्री गर्न कठिन हुने व्यापारीहरुको भनाइ रहेको छ । नेपाल हिमालय सीमापारका अध्यक्ष रामहरि कार्कीले सडक सुचारु गर्न अर्थमन्त्री, यातायात तथा भौतिक पूर्वाधार मन्त्री लगायतका उच्च तहमा लिखित रुपमा अनुरोध गरेको बताए ।

सडक अवरुद्ध हुँदा व्यवसायीले भोगेका समस्याका बारेमा सबै जानकारी गराएको उनले बताए । उत्तरी नाका बर्सेनि वर्सात्‌मा असुरक्षित हुँदै गएको भन्दै अध्यक्ष कार्कीले विशाल छिमेकी मुलुक चीनसँग जोडिएको चलनचल्तीको एकमात्र स्थल मार्ग जोड्ने सडकलाई पर्याप्त बजेट विनियोजन गर्न माग गरेको बताए ।

रसुवा भन्सार पूर्ण रुपमा बन्द भएपछि चीनसँग स्थलमार्ग भएर गरिने व्यापारको एउटै मात्र नाका जोडिएको तातोपानीको सडक व्यवस्थित गर्न सरकारी अधिकारीहरु गम्भीर नभएको दुखेसो उनले गरे । सडक विभाग स्रोतले भने तत्कालै केन्द्रबाट विशेषज्ञहरुको टोली पहिरोस्थलमा गएर आवश्यक उपाए अपनाउने जानकारी दिएको छ । सडक सामान्य ढंगले नबन्ने देखिएको छ ।

यातायात बन्द भएपछि चीनबाट स्याउ, आँप, लसुन, अंगुरलगायतका वस्तु कुहिने सम्भावना भएपछि कतिपय व्यवसायीले कन्टेनर खासाबाट तिब्बतको नेलाममा फर्काएर कोल्ड स्टोरमा अनलोड गरेका छन् । तयारी पोशाक, जुत्ता, व्यागलगायतका व्यापारिक मालवस्तुसहित करोडौं मूल्यका सयौं कन्टेनर सीमा क्षेत्रमा अलपत्र भएका छन् ।

तातोपानी नाकाबाट मालवस्तु चीनको विभिन्न सहरबाट १५ दिनमा नेपाल ल्याउन सक्ने भएकाले व्यापारीहरुले समुद्रको बाटो भन्दा यतै रोज्ने गरेका छन् । तर बेलाबेलामा बन्द भइरहने भएकाले नाकाप्रतिको विश्वास घट्दै गएको व्यवसायी निर्प अधिकारी बताउँछन् ।

नजिक र सजिलो नाका तातोपानी भए पनि अर्डर गरेको सामान काठमाडौं आइपुग्ने ग्यारेन्टी नहुँदा कतिपय व्यवसायीले कलकत्ता बन्दरगाहबाट ल्याउने गरेको उनले बताए । रसुवा बन्द भएकाले मानसरोबर आउजाउ गर्ने तीर्थयात्रीको घुइँचो पनि रोकिएको छैन । अहिले जाने भन्दा आउने तीर्थयात्री बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको राजनीतिक नेतृत्वमा अभूतपूर्व पुस्तान्तरण भएको भन्दै अब निजी क्षेत्रले पनि आफ्नो कार्यशैली र सोचमा परिवर्तन गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले ३६ वर्षका प्रधानमन्त्रीले देश हाँक्नु र ५० वर्षका आफू मन्त्रिमण्डलको सबैभन्दा ‘वृद्ध’ सदस्य हुनुले मुलुकमा ठूलो ...
। पश्चिम एसिया युद्धको असर नेपालको पर्यटक आगमनमा देखिएको छ । नेपालको पर्वतारोहण तथा पदयात्राको मुख्य सिजन अप्रिलमा पर्यटक आगमनमा ७.३ प्रतिशतको गिरावट आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ अप्रिलमा १ लाख ७ हजार ९ सय ३४ पर्यटक भित्रिएका छन् । जुन २०२५ अप्रिलको तुलनामा ७.३ प्रतिशतको गिरावट हो । गत वर्ष अप्रिलमा १ ...
। मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा अलैँची निर्यात ४१.५८ प्रतिशतले बढेको छ । भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा १० अर्ब ७० करोड सात लाख १८ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो । चालु आवको नौ महिनामा पाँच हजार २९५ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना ...
। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्र अहिले चुनौतीपूर्ण मोडमा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको कार्यक्रममा बोल्दै भट्टले निजी क्षेत्र र सरकार दुवै फरक–फरक वित्तीय तथा संरचनागत दबाबमा रहेको भन्दै मुलुकको अर्थतन्त्र मुख्यतः तीनवटा गम्भीर ‘पासो’ (ट्रयाप) मा फसेको बताएका हुन् । भट्टले पहिलो पासोका रूपमा निजी क्षेत्र ...
। पूर्वअर्थमन्त्री रामेश्वर खनालले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नेगरी सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी बजेटका सन्दर्भमा गरेको छलफलमा उनले उत्पादनशील क्षमता बढाउने र व्यावसायिक लागत घटाउने दिशामा केन्द्रित रहेर आगामी बजेट ल्याउनुपर्ने बताएका हुन् । खनालका अनुसार आगामी बजेटमा सरकारले कर प्रणालीमा व्यापक सुधार ...