मुख्य समाचार
उत्तराखण्ड बाढी : बेपत्ताको थर-ठेगाना नखुल्दा खोजीमा अलमल
उत्तराखण्ड बाढी : बेपत्ताको थर-ठेगाना नखुल्दा खोजीमा अलमल

— भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीस्थित धरालीमा ‘क्लाउड ब्रस्ट’ (आरिघोप्टे वर्षा) सँगै आएको बाढीले तहस नहस गरेको एक साता बितेको छ । साउन २० मा खीरगंगा नदीमा आएको भीषण बाढीले धराली बजार क्षेत्रका होटल र घरहरू कटान गरेको छ।


कतिपय घर बगाएर भागीरथी नदीमा पुगेका छन्। बाढीमा ५० जना भन्दा बढी बेपत्ता भएको अनुमान गरिएको छ। उत्तरकाशी प्रहरीले ४ जनाको मृत्यु भएको भने पनि हालसम्म २ जनाको मात्रै शव भेटिएको छ।

धराली क्षेत्रमा २१ जना नेपाली समेत बेपत्ता भएको दिल्लीस्थित नेपाली दुतावासले जनाएको छ । उत्तरकाशी प्रहरी र प्रशासनले दिएको सूचनाका आधारमा दुतावासले हराइरहेकाहरूको नाम सार्वजनिक गरेको छ। तर कतिपय बेपत्ताको थर-ठेगाना नखुल्दा खोजीमा अलमल भएको छ। पछिल्लो पटक सोमबार सार्वजनिक गरिएका नाममध्ये कसैको पनि ठेगाना खुलेको छैन।

उद्धारमा खटिएकाहरूले प्राप्त सूचनाका आधारमा नाम संकलन गरेकाले अस्पष्ट भएको हुन सक्ने दिल्लीस्थित दुतावासका काउन्सिलर प्रकाश मल्लले बताए । ठेगाना र थर नखुल्दा विभिन्न जिल्लाबाट सम्पर्क नभएको भन्दै आएका नामसँग मिलाउन समेत गाह्रो भएको उनले बताए।

सम्पर्कमा आएकाहरूको समेत पूर्ण विवरण नआएको उनले बताए । सोमबार दुतावासले सार्वजनिक गरेको सूचीमा जाजरकोटबाट सम्पर्कमा नभएका भन्दै पठाएका नामसँग अधिकांश मिलेका छन् । ‘जाजरकोटकै हुन सक्ने अनुमान गर्न सकिन्छ, तर पूर्ण विवरण नआउँदासम्म यहीँ भन्न सकिने अवस्था छैन,’ मल्लले भने, ‘दुतावासमा सम्पर्क नआएका भनिएका धादिङका घरभएकाहरू सम्पर्कमा आइसकेका छन्, अब जाजरकोटका मात्रै बाँकी छन् ।’

दुतावासका अनुसार धराली क्षेत्रमा हराएकाहरूमा जनकबहादुर शाही, रवि सिंह, करणबहादुर सिंह, रोविन सिंह, गगन बहादुर, गोरख बहादुर, रामबहादुर शाही, हरिबहादुर खडका, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास विक, रमेश र प्रिया रहेका छन् । यसैगरी दिपक मगर, सुरज राना, मान बहादुर, नीम बहादुर, रवि सिंह र राम बहादुर रहेको दुतावासले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ ।

रवि सिंह (४४), रवि सिंह (२५), सुरज राना (४६), प्रिया (२२), रमेश (२४), सुवास विक (२४) र लक्ष्मण (६०) जारजरकोटबाट पठाएको सूचिमा छैनन् । अन्यको नाम जाजरकोटबाट सम्पर्कमा नभएका भनिएकासँग मिल्दोजुल्दो भए पनि ठेगाना र कतिपयको थर नखुलेका कारण यकिन गर्न सकिने अवस्था छैन।



ठेगाना र थर समेत नखुल्दा सम्पर्कमा नभएकाहरूको पहिचान गर्नै गाह्रो भइरहेको मल्ल बताउँछन् । दुतावासलाई मात्रै होइन परिवारका सदस्यलाई पनि यसले अलमल गराइरहेको छ । नाम मात्रैले उक्त व्यक्ति आफ्नो परिवारको भए/नभएको छुट्याउन गाह्रो भइरहेको छ ।

अहिले उद्धार गरिएकाहरूलाई धराली क्षेत्रकै अग्लो डाँडामा स्थानीयसँगै नेपालीहरूलाई सामूहिक भान्सा र बासको व्यवस्थापन गरिएको छ । उक्त क्षेत्रमा नेपालीहरू सडक निर्माण, स्याउ टिप्ने, होटलको काम तथा गंगोत्री यात्रामा जानेको भारी बोक्ने कामका लागि पुग्ने गरेका छन् । यतिबेला गंगोत्री यात्राको सिजन पनि हो । हालसम्म धरालीमा २१ जना नेपाली सम्पर्कमा नभएको पुष्टि भएको छ ।

धराली क्षेत्रमा अहिले खोज उद्धारको काम चलिरहेको छ । पछिल्लो समय फोन सेवा सुचारु भएपछि बेपत्ता भनिएकाहरू पनि सम्पर्कमा आउन थालेका छन् । आइतबार मात्रै बर्डर रोड अर्गनाईजेशन (बिआरओ)मा काम गर्न २६ जना नेपाली कामदार सम्पर्कमा आएको उत्तरकाशीका डिएम प्रशान्त आर्यले बताए । उनीहरूले बाढीका बेला भागेर ज्यान जोगाएका थिए ।

‘धेरै मानिहस सम्पर्कमा आइरहेका छन्, अहिले कति बेपत्ता भन्ने एकिन भएको छैन,’ डिएम आर्यले भने, ‘धरालीको अवस्था बिस्तारै सहज बन्दै गएको छ ।’ उक्त क्षेत्रमा उद्धार गरिएकाहरूलाई सुरक्षित स्थानमा लैजाने काम पनि भइरहेको छ ।

उपचार खर्च जुटाउन गएका छोराबुहारी बेपत्ता, एकै गाउँका २४ जना घाइते

धरालीको बाढीमा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ पुडिनीका दुई जना बेपत्ता छन् । सोही गाउँका २४ जना घाइते रहेको गाउँपालिकाले जनाएको छ । २३ वर्षीय रमेश बुढा र उनकी श्रीमती २१ वर्षीया प्रिया बुढा बेपत्ता भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पारसबहादुर शाहीले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएका छन् ।

गाउँपालिकाले दुई जनाको मृत्यु भइसकेको जनाए पनि उनीहरूको अवस्था खुलेको छैन । बुढा दम्पती दिउँसो डेरामा भात पस्किरहेका बेला एक्कासी आएको बाढीमा परेका थिए । स्याउ टिप्ने सिजनमा राम्रो कमाइ हुने भएकाले बुवाको उपचार खर्च जुट्ने भन्दै गत बैशाखमा बिहे गरेर श्रीमती प्रियासहित लगेर धराली गएका थिए । रमेशका बुवा मिमबहादुर बुढा दमका बिरामी छन् ।

परिवारका एक्ला साहारा रमेश दम्पती बेपत्ता भएका हुन् । काका नाता पर्ने वडाध्यक्ष बिष्णुबहादुर बुढाले रमेश बेपत्ता भएको खबर आएको बताए । ‘कामबाट फर्केर खाना खान लागेका बेला घटना भएछ,’ वडाध्यक्ष बुढाले भने ‘अहिलेसम्म अत्तोपत्तो छैन, जीवित पाउने आश त लगभग शून्य भइसक्यो । डोजर लगाएर खोज्दैछन् भन्ने खबर पाएका छौं ।’

घटनाको चौथो दिन मात्रै परिवारले उनीहरू बेपत्ता भएको खबर पाएको थियो । त्यसयता बृद्धावस्थाका दमका बिरामी मिमबहादुरका आँखा ओभाएका छैनन् । ‘सम्झाउनु पनि कसरी ? परिवारको एक्लो सहारा नै रमेश थियो, पढेलेखेर गाउँमा आम्दानीको उपाय नभएपछि भारतमा आफ्नै गाउँले भएको ठाउँमा हिँडेको थियो,’ वडाध्यक्ष बुढाले भने,‘दसैंमा फर्केर उपचार गराउँला, बीचमा जेजसो गरेर पनि पैसा पठाउँछु भनी बुवालाई भरोसा दिएर गएको थियो ।’

रमेश र प्रिया दम्पती बेपत्ताको खबरले गाउँनै स्तब्ध भएको आफन्तहरू बताउँछन् । रमेश भारी बोक्ने, गाडीको सामान लोडअनलोड, स्याउबारी गोडमेलको काम गर्थे । प्रिया होटलमा काम गर्थिन् । बुढा दम्पती आफ्नै दाजुभाउजु प्रकाश र पछनासहित अन्य ४ आफन्त एउटै डेरामा बस्थे ।

अंशबण्डा भएर अलग्गै दाजु प्रकाश पहिल्यैदेखि उत्तरकाशी क्षेत्रमै काम गर्थे । गाउँले र धेरैजसो आफन्तहरू उतै भएकाले रमेश पनि विहे लगत्तै मजदुरीका लागि त्यहाँ गएका थिए । वडाध्यक्ष बुढाका अनुसार बाढीका बेला भागदौडका क्रममा प्रकाश बुढा, पछना बुढा, धन बुढा, महेन्द्र महतारा, जयेन्द्र बुढा, पुसे बुढा, दिनेश बुढा, मानबहादुर बुढा, रजबहादुर महतारा, जनेश बुढा, पछी महतारा, वीरबहादुर बुढा, बर्षनी बुढा, अप्सरा बुढा, बादल बुढा, मादप महतारा, विपना बुढा, दिपेन्द्र महतारा, मानबहादुर बुढा, बिस्ना बुढा, पल्लव महतारा, रुप्सा बुढा, पुष्पराज बुढा र रुप्स बुढा घाइते छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— टेक्सासस्थित अस्टिनको उत्तरी भागमा रहेको एउटा पसलभित्र भएको गोलीहानाहानमा तीन जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको अमेरिकी प्रहरीले घोषणा गरेको छ । संदिग्धलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा, प्रहरीले रिसर्च बुलेवार्डमा अवस्थित टार्गेट स्टोरमा गोली हानाहानको रिपोर्ट प्राप्त भएपछि प्रहरी अधिकारीहरूले गोली लागि घाइते भएका तीन व्यक्ति फेला ...
— रुस र युक्रेनबीच युद्धविराम गर्ने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच शुक्रबार अलास्कामा हुने भनिएको शिखर वार्ताको ईयूसहित विश्वका केही देशले विरोध गरिरहेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि युद्धरत एक पक्षलाई नै अलग राखेर गरिने कुनै पनि वार्ताले मान्यता नपाउने टिप्पणी गरेका थिए । अलास्का वार्ता हुनुअगावै विवादमा पर्न सक्ने ...
: अमेरिका र चीनले एकअर्कामाथि कर नलगाउने सम्झौतालाई ९० दिनको लागि लम्ब्याएको छ यो निर्णय यसअघि दुई देशबिच भएको सम्झौताको म्याद सकिन लागेको बेला गरिएको हो। सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। यो आदेशले मे महिनामा भएको सम्झौतालाई कायम राखेको छ। त्यसबेला दुवै देशले एकअर्काको सामानमा लगाइएको कर अस्थायी रूपमा स्थगित ...
: भावी विदेशमन्त्रीका रूपमा हेरिएका वरिष्ठ चिनियाँ कूटनीतिज्ञ ल्यौ चियनछाओलाई नियन्त्रणमा लिइएको छ। उनलाई सोधपुछका लागि अधिकारीहरूले हिरासतमा लिएको द वाल स्ट्रिट जर्नलले जनाएको छ। ६१ वर्षीय ल्यौलाई जुलाईको अन्तिम साता बेइजिङमा 'लगिएको' रिपोर्टमा उल्लेख छ। उनको हिरासतको कारण भने अहिलेसम्म खुलेको छैन। चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुखसमेत रहेका ल्यौ विदेशी राजनीतिक दलहरूसँगको सम्बन्ध व्यवस्थापनमा ...
: अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र संघको महासभामा आफ्नो देशले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने बताएका छन्। यसअघि बेलायत, फ्रान्स र क्यानडाले प्यालेस्टाइनलाई स्वतन्त्र देशको रूपमा मान्यता दिने कुरा गरिसकेका छन्। अल्बानीजले प्यालेस्टिनी प्राधिकरण (पीए)ले अष्ट्रेलियालाई आफ्नो सैन्य र हतियार आधार घटाउने, आम चुनाव गराउने र इजरायलको अस्तित्वलाई मान्यता दिने जस्ता केही प्रतिज्ञा ...