— निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रञ्जिता श्रेष्ठ नै भएको बताएको छ । उन्मुक्तिको साउन १५ मा भएको राष्ट्रिय भेलाले रञ्जितालाई हटाएर सांसद लालवीर चौधरीलाई अध्यक्ष चयन गरी अद्यावधिकका लागि आयोगमा पठाएको थियो ।
आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको विधानअनुसार रञ्जिता नै अध्यक्ष कायम भएको बताइन् । ‘दलसम्बन्धी ऐन र पार्टीको विधान अनुसार रञ्जिता श्रेष्ठ नै अध्यक्ष कायम भएको ठहर भएको छ,’ उनले भनिन् ।
नाउपाको संरक्षक रेशमलाल चौधरी पक्षले पार्टी अध्यक्षमा लालवीरलाई चयन गरेको थियो । यसअघि रेशम पक्षको भेलाले अध्यक्ष रञ्जितालाई पार्टीबाट निष्कासन गरेको थियो । त्यसबारे उनले निर्वाचन आयोगमा आफूमाथि भएको कारबाही गलत भएको भन्दै परामर्श गरेकी थिइन् ।
आयोगले रञ्जितालाई अध्यक्ष कायम गरे पनि काठमाडौंमा भएको पार्टीको राष्ट्रिय भेलाले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाएको हो । रञ्जिता पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हडप्ने बिचौलियाको प्रपञ्चमा समेत मुछिएपछि नाउपाभित्र विवाद चर्किएको थियो ।
पार्टीको विवाद चर्किंदै गएको अवस्थामा रञ्जिताले साउन १५ संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी थिइन् । 'पार्टी हितविपरीत, विधान र राजनीतिक दलसम्बन्धी ऐनका प्रावधानविपरीत कार्य गरेकाले कारबाही किन नगर्ने ?' भन्दै उनले स्पष्टीकरण सोधेकी थिइन् ।