— मंगलबार रातिदेखिको अविरल वर्षाले उदयपुरको बेलका नगरपालिका–३ का ८५ वटा घर डुबानमा परेका छन् ।
बेलका नगरपालिका–३ स्थित सरस्वती आधारभूत विद्यालयसहित एबीसी टोलका ४० वटा र जुलेफी टोल, रामपुर ठोक्सिलाका ४५ वटा गरी ८५ घर डुबानमा परेका हुन् । वडाध्यक्ष टंकप्रसाद आचार्यका अनुसार कटुन्जे बबला, मैनामैनी तर्फबाट आउने सिसुवा खोला, जोगिनी खोला, बैरवा खोला, सेती खोला र गिदेरी खोलामा पानीको बहाव बढेर बस्ती पसेको हो ।
सरस्वती आधारभूत विद्यालयको भवनमा पानी पसेपछि अनिश्चतकालका लागि विद्यालय बन्द गरिएको वडाध्यक्ष आचार्यले बताए । ‘घरमुनि ३ फिटसम्म पानी पसेको छ, बालुवा र गेग्रोटोसहित घरभित्र पसेपछि स्थानीयहरु भुइँ तल्ला छाडेर माथिल्लो तल्लामा बसेका छन्,’ वडाध्यक्ष आचार्यले भने । पानी कम हुने आशामा स्थानीयहरु घरबाहिर ननिस्कएको तर जोखिम कायमै रहेको उनले बताए । गिदेरी खोलामा पानीको बहाव बढेपछि वडा नं. २ को रामनगर र शान्तिनगर समेत बाढीको उच्च जोखिममा रहेको वडाध्यक्ष आचार्यले बताए ।
यता कोशीमा समेत पानीको बहाव बढ्दै गएपछि बेलका नगरपालिकाको वडा नं. १, २, ३, ८ र ९ नं. वडा जोखिममा रहेको बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईले बताइन् । ‘पोहोर सालको बाढीले नदीको बीच भागमा ढुंगा र गेग्रोटो माटो थुप्रिएर पानीको सतहमाथि आएको छ,’ उनले भनिन्, ‘अहिले कोशीको पानी र किनारको सतहबीचको उचाइ एक मिटर मात्रै छ, कोशीमा बाढी आएर पानीको बहाव एक मिटर मात्रै माथि आउने हो भने बेलकाको धेरै भूभाग डुबानमा पर्छ ।’
कोशीमा बाँध निमार्णका लागि संघीय सरकारमार्फत आर्थिक वर्ष २०८१/०८२ मा ४ करोड बजेट विनियोजन भएर ठेक्का लागेको भएपनि ठेकेदार कम्पनीले ढुंगा अभावको समस्या देखाउँदै कामबाट पन्छिएपछि यस वर्ष पनि बेलकामा कोशीको जोखिम कायम रहेको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले बताए । कोशी बाढीको जोखिममा रहेको भागलपुर, पुरन्दह, आम्बासी लगायतका क्षेत्रका नागरिकहरु भने समयमा बाँध निमार्ण नभएको भन्दै आक्रोशित छन् ।