मुख्य समाचार
नेपालमा जापानिज इन्सेफलाइटिस संक्रमितको संख्या ३३ पुगेको छ
नेपालमा जापानिज इन्सेफलाइटिस संक्रमितको संख्या ३३ पुगेको छ

— नेपालमा जापानिज इन्सेफलाइटिस संक्रमितको संख्या ३३ पुगेको छ । १० दिनअघि १३ जनामा संक्रमण पुष्टि भएको थियो भने यो क्रम रोकिने देखिँदैन । स्वास्थ्य मन्त्रालयका अनुसार जापानिज इन्सेफलाइटिस संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ भने यो १८ जिल्लामा फैलिसकेको छ ।


स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार संक्रमितमध्ये मृत्यु हुने दर नौ प्रतिशतभन्दा बढी छ । संक्रमित फैलिने दर बढ्नु भनेको घातक रोग देशभर फैलिन थालेको स्पष्ट संकेत हो । विगतका वर्षहरूमा जापानिज इन्सेफलाइटिसबाट हजारौं मानिस संक्रमित भएका थिए । हाल संक्रमित भएका र मृतकमध्ये अधिकांशले खोप लगाएका छैनन् ।

स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. यशोवर्धन प्रधानका अनुसार जापानिज इन्सेफलाइटिस (जेई)भाइरसको फैलावट रोक्न खोप प्रमाणित र प्रभावकारी उपाय हो । प्रधान भन्छन्, ‘देशमा फेरि जेई प्रकोप देखिएको अवस्थामा, जीवन बचाउन र थप असरहरु रोक्न खोप नै एक मात्र उपाय हो ।’

जापानी इन्सेफलाइटिस एसिया र पश्चिमी प्रशान्तका केही क्षेत्रमा पाइने भाइरसजन्य संक्रमण हो । जुन मस्तिष्कमा हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो डेंगी, जिका, एल्लोफिभर र वेस्ट नाइल भाइरसजस्तै एउटै लामखुट्टेबाट सर्ने फ्लाभीभाइरस हो । संयुक्त राष्ट्रसंघको स्वास्थ्य निकायका अनुसार यो भाइरसले बिरामी हुनेमध्ये करिब एक तिहाइको मृत्यु हुन्छ र बाँचेका मध्ये पनि आधा मानिसलाई आजीवन गम्भीर अपांगता निम्ताउँछ ।

गत वर्ष यसै रोगका कारण २३ जनाको मृत्यु भएको थियो भने ८० भन्दा बढी मानिस संक्रमित भएका थिए । गम्भीर लक्षण देखिएका बिरामीलाई मात्रै अस्पताल भर्ना गरिएकाले वा वास्तविक संक्रमितको संख्या अझ धेरै हुन सक्ने चिकित्सकहरूको अनुमान छ ।

यो वर्ष मोरङ, बारा, झापा, सप्तरी, सिरहा, सर्लाही, पर्सा, पश्चिम नवलपरासी, सिन्धुली, बर्दिया र चितवन जिल्लामा जेईका संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार मृत्युदर १५ वर्षमाथिका मानिसमा बढी छ । विशेषज्ञहरूका अनुसार खोप नलगाएका मानिसहरूमा जेई संक्रमणबाट मृत्यु र जटिलता हुने जोखिम धेरै हुन्छ । तर, स्वास्थ्य निकायसँग तत्कालै खोप दिने योजना छैन ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमका अनुसार यो खोप बच्चाका लागि नियमित खोप कार्यक्रम अन्तर्गत दिइने भए पनि वयस्कको लागि उपलब्ध छैन । उनले भने, ‘हामीसँग क्षमता र जनशक्ति छ, तर वयस्कका लागि अहिले खोप छैन । हामीसँग खोप किन्न बजेट छैन । विकास साझेदारहरूलाई पनि अनुरोध गरेका छौं, तर खोप दिने प्रतिबद्धता आएको छैन ।’

गौतमका अनुसार प्रभावित जिल्लाहरूमा सचेतना अभियान, भेक्टर नियन्त्रणका लागि वातावरण व्यवस्थापन र स्वास्थ्य संस्थामा चिकित्सकहरूलाई केस व्यवस्थापन तालिमजस्ता विभिन्न रोकथाम उपायहरू लागू गरिएको छ । तर तराईका जिल्लाहरुमा संक्रमितको संख्या बढिरहेकोले ती उपायहरू धेरै प्रभावकारी भएका छैनन् ।

‘जेई भाइरस कति खतरनाक छ भन्ने थाहा हुँदाहुँदै पनि हामी खोप नलगाएका जनतालाई खोप दिने काममा धेरै गर्न सकिरहेका छैनौं,’ स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लाल भन्छन्, ‘हामीले विकास साझेदारहरूसँग धेरैपटक बैठक गरेर खोपका लागि सहयोग माग्यौं, तर सहयोग पाएका छैनौं ।’

सन् २००५ मा नेपालमा जेईका कारण करिब २ हजार जनाको मृत्यु भएको थियो, जसमा अधिकांश तराईका बालबालिका थिए । तत्पश्चात २००६ सालदेखि नेपालमा जेईको खोप दिन सुरु गरियो । पहिलो चरणमा उच्च प्रभावित चार जिल्ला, बाँके, बर्दिया, दाङ र कैलालीका सबै मानिसलाई जेईको खोप दिइयो । पछि यो खोप कार्यक्रम अन्य १९ प्रभावित जिल्लामा विस्तार गरियो र १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइयो ।

सरकारले सन् २०१५ मा जेईको खोपलाई नियमित खोप कार्यक्रमसँग एकीकृत गर्‍यो । तर अझै पनि हरेक वर्ष जेईका नियन्त्रण भएको छैन । ‘हरेक वर्ष स्वास्थ्य मन्त्रालयले छुट्याएको बजेटको करिब ६० प्रतिशत मात्र खर्च गर्छ,’ खोप विज्ञसमेत रहेका प्रधानले भने, ‘खोपसँगै, अधिकारीहरूले यो घातक रोगको फैलावट रोक्न अन्य उपायहरू पनि अपनाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जुम्लाको तातोपानी गाउँपालिका–१ मा आज बिहान जंगली जडिबुटी खाएर बिरामी परेका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय दलजित सार्की रहेका छन् । स्थानीयका अनुसार उनले आज बिहान सवा तीन बजे सतुवा नामको जडिबुटी खाएका थिए । लगत्तै उनी बिरामी परेका थिए । त्यसपछि उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य ...
: सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना बिचौलिया पक्राउ परेका छन्। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकल तथा निजी अस्पतालतर्फ पठाई अवैध कमिसनको चलखेल भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक बबिन राईले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई सस्तो मूल्यमा औषधि मिलाइदिने ...
। काठमाडौंको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल (सिभिल) को फार्मेसी युनिट इन्चार्ज एवं फार्मेसी अधिकृत दीपा ढुंगाना सहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दायर गरेको हो । आयोगका अनुसार ढुंगानासहित फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी सहायक लबेन्द्र कुँवर, ...
। विभिन्न जिल्लाबाट उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी र ओपीडीमा आएका बिरामीलाई गलत सूचना दिएर निजी अस्पतालमा जान प्रोत्साहित गर्ने १२ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–३ बस्ने ३७ वर्षीय रञ्जितकुमार चौधरी, सप्तरीकै राजविराज नगरपालिका–६ बस्ने २७ वर्षीया रविना मण्डल, भोजपुर आमचोक गाउँपालिका–८ बस्ने ३५ वर्षीय ...
। जिल्ला प्रहरी कार्यालय गुल्मीले गुणस्तर परीक्षणमा नेपाल सरकारले तोकेको मापदण्डअनुसार नरहेको पुष्टि भएको करिब ४०० केजी मह नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र वीर विश्कर्माका अनुसार गत जेठ २७ गते रेसुङ्गा नगरपालिका–८ बुढाथोकी बसपार्क क्षेत्रमा मह बिक्री-वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो । ...