मुख्य समाचार
'कुलिङ अफ पिरियड'को व्यवस्थामा छलछाम छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्नका लागि सरकारलाई पठाउन निर्देशन
'कुलिङ अफ पिरियड'को व्यवस्थामा छलछाम छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्नका लागि सरकारलाई पठाउन निर्देशन

— सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयकमा व्यवस्था गरिएको दुई वर्षे 'कुलिङ अफ पिरियड'को व्यवस्थामा छलछाम छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्नका लागि सरकारलाई पठाउन निर्देशन दिएका छन् ।


सभामुख घिमिरेले शुक्रबार प्रतिनिधिसभा सचिव हर्कराज राईलाई 'कुलिङ अफ पिरियड' माथि भएको छलछाम छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि सरकार र सम्बन्धित निकायलाई पठाउन निर्देशन दिएका हुन् ।

सभामुखको सचिवालयले भन्यो, 'संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि सभामुखले प्रमुख दलका प्रमुख सचेतकहरूको सुझावअनुसार आज सबै दलका संसदीय कार्यालयहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संघीय संसद् सचिवालयलाई आवश्यक कार्यान्वयनका लागि पठाउन प्रतिनिधिसभाका सचिवलाई निर्देशन दिनुभएको छ ।'

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले जेठ २ मा निजामती विधेयकको दफा ८२ (४) मा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउनेछैन’ भन्ने प्रावधानसहितको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो । सो प्रावधानसहितको विधेयक प्रतिनिधिसभाले असार १५ मा पारित गरेको थियो । 'कुलिङ अफ पिरियड'को व्यवस्था राखेपछि विधेयकमा पहिल्यै राखिएको ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नियुक्ति लिन नपाइने’ भन्ने व्यवस्था हटाउनुपर्ने थियो । तर त्यसलाई दफा ८२ (५क) मा कायमै राखिएपछि सर्वत्र प्रश्न उठेको थियो र छानबिन गर्न विशेष समिति गठन गरिएको थियो । उक्त समितिले सभामुखलाई साउन २० मा प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको थियो ।

संसदीय विशेष समितिको प्रतिवेदनले राजनीतिक र नैतिक जिम्मेवारी देखाएका राज्यव्यवस्था समिति सभापति रामहरि खतिवडाले राजीनामा गरिसकेका छन् । खतिवडाले साउन २७ मा राज्यव्यवस्था समिति सभापतिबाट राजीनामा गरेका थिए ।

संसदीय छानबिन विशेष समितिले मुख्यसचिव एकनारायण अर्याललगायतलाई पदीय जिम्मेवारी विपरीत 'कुलिङ अफ पिरियड' विरुद्ध काम गरेको औँल्याएको छ । 'कुलिङ अफ पिरियड'को प्रावधान हटाउन मुख्य सचिवहरू लावालस्करसहित लबिइङ गर्दै हिँड्नु पनि पदीय आचरणविपरीत रहेको प्रतिवेदनमा उल्लेख छ । 'संवैधानिक र कानुनी व्यवस्थाको आधारमा संसदीय समिति र सभाले पारित गरेको उक्त विधेयकमा राखिएको 'कुलिङ अफ पिरियड' को विषय हटाउन समूह बनाई सार्वजनिक रूपमा लबिइङ गर्दै हिँड्नु परिभाषित जिम्मेवारी भएका पदाधिकारीहरूको पदीय आचरण मान्न सकिन्न,' प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तो गर्ने कर्मचारीहरूलाई 'कर्मचारीको पदीय र कानुनी जिम्मेवारी हुने' समितिको भनेको छ । पदीय र कानुनी रूपमा कर्मचारीहरूलाई जिम्मेवार बनाउनुपर्ने विशेष समितिको सुझाव थियो ।



निजामती विधेयकको प्रतिवेदन समितिले पारित गरिसकेपछि मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालमार्फत 'कुलिङ अफ पिरियड'को व्यवस्था हटाउन दबाब दिइएको थियो ।

'कुलिङ अफ पिरियड' को व्यवस्थामाथि छलछाम गर्न परोक्ष रुपमा मुख्यसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका तत्कालीन सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव (कानुन) को संलग्नता रहेको प्रतिवेदनमा उल्लेख छ ।

कांग्रेस सांसद जीवन परियारको नेतृत्वमा सुशीला थिङ, नारायणप्रसाद आचार्य, ईश्वरी घर्ती, माधव सापकोटा, गणेश पराजुली र रोशन कार्की सदस्य रहेको समिति गठन भएको थियो । उक्त समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्नका लागि सरकारी तथा सम्बन्धित निकायमा पठाउन सभामुखले प्रतिनिधिसभा सचिवलाई निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मानव बेचबिखन रोकथाममा पीडकलाई हुने राजनीतिक संरक्षण ठूलो चुनौती बनेको सरोकारवालाहरूले बताएका छन् ।वैदेशिक रोजगारीका नाममा गैरकानुनी बाटो प्रयोग भएकाले महिलाहरू अझै बेचबिखनको जोखिममा परेको उनीहरूको भनाइ छ । मानव अधिकार आयोगले बिहीबार नेपालगन्जमा आयोजना गरेको मानव बेचबिखनविरुद्ध राष्ट्रिय प्रतिवेदन तयारीसम्बन्धी परामर्श कार्यक्रममा संघ–संस्था र प्रहरीले नाकामा सक्रियता बढाए पनि जनप्रतिनिधि प्रतिकूल भूमिकामा उत्रिँदा चुनौती ...
— बिनयी त्रिवेणीमा धारिलो हतियार प्रयोग गरी श्रीमान्‌ले आफ्नै श्रीमतीको हत्या गरेका छ्न्। प्रहरीका अनुसार बिनयी त्रिबेणी गाउँपालिका-३ बस्ने ५० वर्षीय महेन्द्र पौडेलले आफ्नै निवासमा श्रीमती गोमा पौडेलको घाँटी रेटेर हत्या गरेका हुन्। शुक्रबार बिहान ११ बजे सामान्य झगडा पछि चक्कुले घाँटीमा रेटेर हत्या गरेको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मोहनबहादुर थापालाई अमेरिकी सरकारले निष्कासन गरेको छ । अमेरिकामा बसेर विभिन्न कसुर गरेको आरोपमा नेता थापालाई निष्कासन गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन स्रोतका अनुसार अमेरिकाबाट निष्कासनमा परेका थापा गत साउन २२ गते नेपाल आइपुगेका हुन् । अमेरिकाबाट भारत हुँदै एयर इन्डियाको उडान नम्बर एआई २११ बाट उनी ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्ने बताएका छन्। आइसीटी फाउण्डेशनद्वारा आज आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटनसत्रमा प्रधानमन्त्री ओलीले सबै सामाजिक सञ्जालले नेपालको प्रचलित कानुनअनुसार दर्ता हुनुपर्ने, कर तिर्नुपर्ने र अन्य दायित्वहरु पूरा गर्नुपर्ने बताए। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन यसअघि सूचना तथा सञ्चार प्रविधि ...
— काठमाडौंको कालोपुल क्षेत्रबाट अवैध विदेशी मुद्रा कारोबार तथा हुण्डी कार्यमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये २ जना भारतीय नागरिक रहेका छन्। भारत विहार प्रदेशको सितामडी बैरगनिया निवासी ३३ वर्षीया विक्रम जयसवाल, मोतीहारी चिरहिया निवासी ३३ वर्षीया मुन्ना जयसवालसहित नेपालको बाराको महागढीमाई नगरपालिका-३ का २७ वर्षीय ओम प्रकाश जयसवाल र महागढीमाई ...