— भिक्षु–भिक्षुणीको संस्था लुम्बिनी बौद्ध धर्म संरक्षण समितिले लुम्बिनी विकास गुरुयोजना क्षेत्रभित्र नियमित विद्युत् आपूर्तिको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
लुम्बिनी विकास गुरुयोजनाभित्र रहेका विहार, मन्दिर, गुम्बा र चैत्यमा दैनिक लामो समयसम्म विद्युत् आपूर्ति बन्द हुँदा भिक्षु–भिक्षुणीको दैनिकी कष्टकर बन्दै गएकाले समस्या समाधान गर्न ऊर्जामन्त्री दीपक खड्का र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई बिहीबार ज्ञापनपत्र बुझाइएको हो ।
समितिका सल्लाहकार राजकीय विहारका प्रमुख भिक्षु सागर धम्मको नेतृत्वमा लुम्बिनीबाट गएको १२ सदस्सीय भिक्षु–भिक्षुणीको टोलीले नियमित विद्युत् आपूर्तिको व्यवस्था गरिदिन आग्रह गर्दै राजधानी काठमाडौंस्थित ऊर्जा मन्त्रालयमा ज्ञापनपत्र बुझाएका हुन् । यसअघि बुधबार समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई नियमित विद्युत् आपूर्तिको माग गर्दै ज्ञापन–पत्र दिएको थियो ।
ऊर्जामन्त्री खड्काले छिट्टै समस्या समाधान गरिने प्रतिबद्धता जनाएको टोली नेता भिक्षु धम्मले बताए । लुम्बिनी गुरुयोजनाभित्र बिजुली अनियमित हुँदा भिक्षु–भिक्षुणीको दैनिकी, पूजापाठ र ध्यान गर्न निकै समस्या भएकाले बाध्य भएर काठमाडौं पुगेर ज्ञापनपत्र दिनुपरेको लुम्बिनी बुद्ध धर्म संरक्षण समितिका सदस्य भिक्षु झ्याङछयुव होएसेरले बताए ।
‘लुम्बिनीस्थित कोष र विद्युत् कार्यालयलाई ज्ञापनपत्र बुझाउँदा कुनै सुनुवाइ भएन,’ उनले भने, ‘त्यही भएर शान्तिका अनुयायी काठमाडौंसम्म पुग्नु परेको हो ।’
लुम्बिनीस्थित कोष गुरुयोजनाका विहार मन्दिरमा ५/६ वर्षदेखि विद्युत्को ठूलो समस्या छ । ‘यहाँ दैनिक बिजुली अनियमित छ,’ भिक्षु होएसेरले भने, ‘दिनमा १०/१५ मिनेट भए पो सहने । एक घण्टादेखि २०/२२ घण्टासम्मै बिजुली जान्छ, तराईको यो गर्मी मौसममा कसरी दैनिकी सम्हाल्ने ?’
खासमा लुम्बिनी कोषले आफैं टेन्डर गरेर गुरुयोजनाभित्र बिजुलीका तार तान्ने र उपकरण राखेकाले त्यहाँबाट आउने समस्याका बारेमा विद्युत् प्राधिकरण पन्छिने गरेको छ । कोषले २९ करोड लागतमा आफैं विद्युतीकरण गरेको छ । कमसल तार र उपकरण राखेकाले दैनिक समस्या आउने गरेको प्राविधिकहरू बताउँछन् ।