— काठमाडौंको कालोपुल क्षेत्रबाट अवैध विदेशी मुद्रा कारोबार तथा हुण्डी कार्यमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये २ जना भारतीय नागरिक रहेका छन्।
भारत विहार प्रदेशको सितामडी बैरगनिया निवासी ३३ वर्षीया विक्रम जयसवाल, मोतीहारी चिरहिया निवासी ३३ वर्षीया मुन्ना जयसवालसहित नेपालको बाराको महागढीमाई नगरपालिका-३ का २७ वर्षीय ओम प्रकाश जयसवाल र महागढीमाई नगरपालिका-५ का २५ वर्षीय मनमोहन कुमार सिंहलाई प्रहरीले कोठाबाट विदेशी मुद्रा तथा नगदसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार साउन २९ गते दिउँसो काठमाडौं महानगरपलिका-५ कालो पुल नजिक डेरा कोठाबाट हुण्डी कारोबार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्रहरीले पन्ध्र लाख तेत्तीस हजार रुपैयाँ नगद र विभिन्न कम्पनीका ५ वटा मोबाइल समेत बरामत गरेको थियो ।
बोहराका अनुसार अनुसन्धानको क्रममा उनीहरुले ६ करोड ६ लाख ६३ हजार ६३६ रुपैयाँ बराबरको क्रिप्टो करेंसी कारोबार गरेको समेत खुलेको छ । बोहराले उनीहरु विरुद्ध थप अनुसन्धान अगाडि बढाइरहेको जानकारी दिए ।