मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच अलास्कामा महत्त्वपूर्ण भेटवार्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच अलास्कामा महत्त्वपूर्ण भेटवार्ता

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच अलास्कामा महत्त्वपूर्ण भेटवार्ता भएको छ।



भेटवार्तालाई युक्रेन युद्धमा शान्तिका लागि एक महत्त्वपूर्ण कदम मानिएको थियो। तर युद्धविराम भएन।


करिब तीन घण्टासम्म चलेको बैठकले केही प्रश्न उठाएको छ भने थोरै उत्तर दिएको छ।


यस्ता छन् अलास्कामा भएको बैठकसँग सम्बन्धित पाँच महत्त्वपूर्ण कुरा

१. पुटिन रातो कार्पेटबाट विश्व मञ्चमा
शुक्रबार राष्ट्रपति भ्लादिमिर पुटिन अलास्का आइपुग्दा आकाश बादलले ढाकिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संयुक्त सैन्य आधार एल्मेन्डोर्फ–रिचर्डसन (अमेरिकी सैन्य आधार)मा रातो कार्पेटमा उनको प्रतीक्षा गरिरहेका थिए।

पुटिन अगाडि बढ्दै जाँदा ट्रम्पले ताली बजाए। दुई नेताले न्यानो हात मिलाए र मुस्कुराए।

यो क्षण पुटिनका लागि अत्यन्तै महत्त्वपूर्ण थियो। २०२२ मा युक्रेनमा रुसी आक्रमण पछि उनी पश्चिमी देशहरूबाट अलग्गिएका थिए। उनको अन्तर्राष्ट्रिय यात्रा उत्तर कोरिया र बेलारुस जस्ता रुसी समर्थक देशहरूमा मात्र सीमित थियो।

अलास्का शिखर सम्मेलन आफैंमा पुटिनका लागि विजय थियो। तर यो स्वागत सायद रुसको कल्पनाभन्दा बाहिरको थियो। केवल ६ महिनामा पुटिनलाई पश्चिमी देशहरूले ʻविदेशीʼ भनेर बोलाएकोबाट अमेरिकी भूमिमा पाहुना र साझेदारको रूपमा स्वागत गरिएकोमा परिणत भयो।

यो सबैमा एउटा अप्रत्याशित क्षण आयो। पुटिनले आफ्नो मस्को–प्लेटेड राष्ट्रपतिको कार छाडेर ट्रम्पको बख्तरबंद लिमोजिनमा एयरबेसमा जाने निर्णय गरे।

कार गुड्दै जाँदा क्यामेराहरूले पछाडिको सिटमा बसेर हाँसिरहेका पुटिनको नजिकबाट तस्बिर खिचे।

२. पुटिनलाई कहिल्यै नसोधिएका प्रश्न सोधियो
२५ वर्षदेखि रुसमा सत्तामा रहेका पुटिनले मिडियामाथि पूर्ण नियन्त्रण लिएका छन्। पत्रकारिताको स्वतन्त्रतालाई कुल्चेर उनले सूचनाको सट्टा प्रचारप्रसार थपेका छन्। रुसमा उनलाई कहिल्यै असहज प्रश्न सोधिँदैन।

तर अलास्का पुग्ने बित्तिकै एक पत्रकारले उनलाई सोधे– ʻके तपाईं आम मानिसलाई मार्न बन्द गर्नुहुन्छ ?ʼ पुटिनले जवाफ नदिई अन्तै हेरे।

केही समयपछि फोटो सत्रको क्रममा फेरि प्रश्न सोधिए। एक रुसी पत्रकारले पुटिनले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग त्रिपक्षीय बैठक गर्ने कि नगर्ने भनेर सोधे। जवाफमा पुटिन हल्का मुस्कानसहित मौन रहे।

३. कुराकानी चाँडै समाप्त
विश्वभरका मिडियाले पत्रकार सम्मेलनको अपेक्षा गरिरहेका थिए। तर दुवै नेताले केवल वक्तव्य दिए र कुनै पनि प्रश्नको जवाफ दिएनन्।

सधैं जस्तो नभई पुटिनले पहिले बोले। उनले कुराकानीलाई सम्मानजनक भनेर वर्णन गरे। अलास्काको रुसी इतिहासको उल्लेख गर्न थाले।

केही मिनेट पछि उनले युक्रेनको अवस्थाबारे बोले। उनले भने,ʻसहमति भएको छ। तर वास्तविक कारणलाई हटाएर शान्ति हुन सक्दैन।ʼ

यो कथनले युक्रेन र अन्य देशका लागि खतराको घण्टी बजाएको हुनुपर्छ। २०२२ मा युद्ध सुरु भएदेखि पुटिनले बारम्बार उही मागहरू राखेका छन्। क्रिमिया, डोनेट्स्क, लुहान्स्क, जापोरिजिया र खेरसनमाथि रुसी सार्वभौमिकताको मान्यता, युक्रेनमा हतियार आपूर्ति नगर्ने, विदेशी सेनाको अनुपस्थिति र युक्रेनमा ताजा चुनाव पुटिनका माग हुन्।

सरल भाषामा भन्नुपर्दा युक्रेनको पराजय र आत्मसमर्पणको अवस्था थियो। यी सर्तहरू युक्रेनलाई अस्वीकार्य छन्। तर युद्धको साढे तीन वर्ष बितिसक्दा पनि रुसका लागि महत्त्वपूर्ण छन्।

यसले कुनै ठोस सम्झौता नभएको स्पष्ट पारेको छ।

४. अरू के भयो ?
बैठकको वास्तविक कारण र सन्दर्भलाई हेर्दा ट्रम्पले न त युक्रेनको नाम लिए न त युद्धविरामका लागि आह्वान गरेका थिए। उनले हरेक हप्ता पाँचदेखि सात हजार मानिस मारिएको र पुटिन पनि रक्तपात अन्त्य गर्न चाहेको बताए।

सामान्यतया धेरै बोल्ने ट्रम्पले यसपटक पुटिनभन्दा पनि कम बोले। उनको छोटो र असामान्य भनाइको अस्पष्टताले सबैभन्दा बढी ध्यान खिच्यो। ट्रम्पले भने,ʻहामी धेरै मुद्दामा सहमतिमा पुग्यौँ। धेरै उत्पादक बैठकमा ठुलो प्रगति भएको थपे।ʼ

उनले कुनै विवरण दिएनन् भने युक्रेन द्वन्द्व समाधान गर्न कुनै ठोस कदम चालिएको पनि देखिएन। यस्तै कुनै ठुलो सम्झौता भएन भने राष्ट्रपति जेलेन्स्कीसँग त्रिपक्षीय बैठकको घोषणा पनि भएन।

युद्धविराम लागू नभएमा आफूले दिएको गम्भीर परिणामबारे ट्रम्पले उल्लेख नगरे पनि रुसलाई राहत मिलेको छ।

ʻहामी अझै त्यहाँ (युद्धविराम)मा पुगेका छैनौँ,ʼ ट्रम्पले स्वीकारे।

तर उनले आफूहरू युद्धविराममा पुग्ने आशा व्यक्त गरे।

५. अर्को भेट मस्कोमा
युक्रेन युद्धको स्थायी समाधान नभेटिए पनि यो बैठकले रुस र अमेरिकाबीचको सम्बन्धलाई फेरि नजिक ल्याएको छ।

दुई नेताले हात मिलाउँदै र बारम्बार मुस्कुराउँदै गरेका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका छन्। अमेरिकी सैनिकहरूले पुटिनलाई आफ्नो विमानबाट ओर्लँदा रातो कार्पेट ओछ्याएको तस्बिर पनि छलफलको विषय बन्यो।

पुटिनले ट्रम्पको पुरानो दाबीलाई पनि उल्लेख गरे। पुटिनले ट्रम्प सत्तामा भएको भए युक्रेन युद्ध कहिल्यै सुरु नहुने पनि दाबी गरे।

ठुलो प्रगति भएको दाबी गरिए पनि अलास्का शिखर सम्मेलनबाट कुनै ठोस नतिजा भने निस्किएन। तैपनि दुवै नेताले रुसमा अर्को बैठकको सम्भावना खुला रहेको बताए।

ʻम सायद पुटिनलाई चाँडै भेट्नेछु,ʼ ट्रम्पले भने।

कुनै वाचा, छुट वा सम्झौता नगरी पुटिनले भने, ʻअर्को भेट मस्कोमा।ʼ

ट्रम्पले हाँस्दै भने, ʻओहो, त्यो त रोचक छ। त्यसका लागि मेरो आलोचना हुनेछ। तर हो, म कल्पना गर्न सक्छु कि मस्कोमा भेट सम्भव छ।ʼ

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मलेसियामा विदेशी श्रमिकको संख्या गत वर्षको तुलनामा १३ प्रतिशतले घटेको छ । मलेसियाले २०२४ को जुनबाट नेपालसहित स्राेत देशबाट आंशिक रुपमा मात्रै श्रमिकलाई भर्ना गरेको छ । मानव संशाधन उपमन्त्री दातुक सेरी अब्दुल रहमान मोहम्मदले सोमबार संसद्लाई जानकारी दिँदै अक्टाेबर १५ सम्म विदेशी श्रमिक घट्दै गइरहेको जनाएका हुन् । उनका अनुसार अक्टोबर १५ सम्म मलेसियामा ...
: उत्तरी अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ। स्थानीय अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन्। भूकम्प प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमान अमरले भूकम्पमा २० भन्दा बढीको मृत्यु भएको र ३२० भन्दा बढी घाइते भएको बताएका छन्। ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा इस्लामी लडाकु समूहसँग सैन्य कारबाहीको योजना तयार गर्न आदेश दिएका छन्। उनले नाइजेरियाली सरकारले त्यहाँ बसोबास गर्ने क्रिश्चियनको हत्या रोक्न पर्याप्त कदम नचालेको आरोप लगाएका हुन्। ट्रम्पले कुन हत्या भन्ने कुरा स्पष्ट पारेनन्। तर अमेरिकाका दक्षिणपन्थी वृत्तमा नाइजेरियाली क्रिश्चियनविरुद्ध कथित हिंसाको दाबी देखा परेका छन्। अनुगमन समूहले नाइजेरियामा मुस्लिमभन्दा क्रिश्चियनलाई बढी मारिएको ...
: भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले सीएमएस–३ नामक सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। इसरोका अध्यक्ष वी. नारायणनले एलवीएम३–एम५ ले सीएमएस–३ सञ्चार उपग्रहलाई आफ्नो तोकिएको कक्षमा सफलतापूर्वक स्थापित गरेको बताए। उनले भने,ʻम सम्पूर्ण इसरो टोली र सबै साझेदारलाई भूमिका र योगदानका लागि बधाई दिन्छु। आजको मिसनले भारतका लागि अर्को गौरव ल्याएको छ।ʼ अध्यक्ष वी. नारायणनले आर्थिक ...
। संयुक्त राज्य अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले आइतबार अमेरिका र चीनले सैन्य–सैन्य प्रत्यक्ष सञ्चार च्यानलहरू स्थापना गर्ने सहमति गरेको बताएका छन् । उनका अनुसार दुवै मुलुकबीचको द्विपक्षीय सम्बन्ध ‘अहिलेसम्मकै उत्कृष्ट अवस्थामा’ पुगेको छ । हेग्सेथले शनिबार राति क्षेत्रीय सुरक्षा सम्मेलनका क्रममा आफ्ना चिनियाँ समकक्षी एडमिरल डोङ जुनसँग भेटवार्ता गरेका थिए । उनले भने, ‘शान्ति, स्थिरता र राम्रो ...