। एन्फा महिला लिग छनोटमा छहारी युवा क्लबले स्टुडेन्ट फुटबल क्लबलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।
मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा छहारीलाई जित दिलाउन सुमित्रा सिंह पाख्रिनले दुई तथा अस्मिता चौधरी, ललित मन्डल, सानिमा माया लो र दिपा पुन मगरले एक-एक गोल गरे ।
सुमित्राले खेलको १६औं मिनेटमा गोल गर्दै छहारीलाई अग्रता दिलाएकी थिइन् । अस्मिताले ३५औं मिनेटमा अग्रता दोब्बर पारिन् । सुमित्राले ३८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि छहारीले पहिलो हाफमै तीन गोलको अग्रता बनाएको हो ।
ललिताले ५६औं, सानिमाले ७५औं र दिपाले ७७औं मिनेटमा गोल थपे । स्टुडेन्ट फुटबल क्लबका लागि सबिना तामाङले ६७औं मिनेटमा एक गोल फर्काइन् ।
छहारीले समूह ए मा लगातार दोस्रो जित हात पारेको छ र ६ अंक जोडेर शीर्ष स्थानमा छ । छहारीले पहिलो खेलमा एफसी रिएलेलाई ३-० ले पराजित गरेको थियो ।
स्टुडेन्ट फुटबल क्लबको यो पहिलो हार हो । उसको दुई खेलबाट ३ अंक छ । स्टुडेन्ट फुटबल क्लबले पहिलो खेलमा सिन्धुपाल्चोक एफसीलाई ३-१ ले पराजित गरेको थियो ।