। सत्तापक्षमा बस्ने र प्रतिपक्षमा बस्ने गरी नागरिक उन्मुक्ति पार्टी (नाउपा)का छुट्टाछुट्टै पत्र संसद सचिवालय पुगेको छ ।
सभामुखको सचिवालयका अनुसार नाउपाका नेता गंगाराम चौधरीले २२ असारमा सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका थिए ।
त्यसको ४५ दिन पछि ३ भदौमा नाउपाकी नेता रञ्जिता चौधरीले अर्को पत्र लेखेर सत्तापक्षमा बस्ने व्यवस्था मिलाइदिन भनेकी हुन् ।
यो विषयमा बुधबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा उठेको थियो । संसद सचिवालय स्रोतले एउटै पार्टीका दुई खाले पत्र प्राप्त भएको बताएको थियो । यो विषयमा संसद् सचिवालयले निर्णय भने लिइसकेको छैन ।
अब सत्तापक्षको सिटमा बस्ने हो भने संसद सचिवालयले उनीहरू सोही अनुसारको व्यवस्था मिलाउनुपर्छ । यस निम्ति नाउपाका सांसदहरू कहाँ बस्ने हो ठाउँ छुट्याएर नेम प्लेट राखिदिनुपर्छ ।
प्रतिनिधिसभामा नाउपाका ४ जना सांसद रहेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने चाहनामा नाउपाको साथ खोजेका छन् । यस निम्ति उनीहरूले मंगलबार नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग छलफल समेत गरेका थिए ।
कांग्रेस र एमालेले छलफलमा बोलाएकै दिन नाउपाकी अध्यक्ष श्रेष्ठले सत्तापक्षमा बस्ने व्यवस्थाका लागि सभामुखलाई पत्र लेखेकी हुन् ।