मुख्य समाचार
भारत भ्रमणको उडान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न आग्रहसहितको पत्र प्रधानमन्त्रीलाई पठाएको छ
भारत भ्रमणको उडान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न आग्रहसहितको पत्र प्रधानमन्त्रीलाई पठाएको छ

। गौतमबुद्ध विमानस्थलबाट पाँच महिनादेखि अन्तर्राष्ट्रिय उडान ठप्प भएपछि गठित संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको उडान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न आग्रहसहितको पत्र प्रधानमन्त्रीलाई पठाएको छ ।

उद्घाटनको तीन वर्ष पुगिसक्दा समेत नियमित र पर्याप्त अन्तर्राष्ट्रिय उडान नभएपछि सिद्धार्थनगरका मेयर इश्तियाक अहमद खाँको संयोजकत्वमा गठित संघर्ष समितिले इमेलमार्फत प्रधानमन्त्रीलाई उक्त पत्र पठाएको हो ।




‘सम्माननीय प्रधानमन्त्री भारत भ्रमण जाँदा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रस्थान गर्न विशेष आग्रह छ’, पत्रमा उल्लेख गरिएको छ, ‘भ्रमणमा विमानस्थल सञ्चालनका लागि गर्नुपर्ने कुटनीतिक पहल गर्न समेत आग्रह छ ।’

अर्बौको लगानीमा निर्माण भएको, राष्ट्रिय गौरवको आयोजनालाई नेपाल सरकारले अनिवार्य रुपमा दिगो संचालन गर्नका लागि सरकारलाई दबाब दिने र प्रधानमन्त्री भैरहवा हुँदै दिल्ली प्रस्थान गर्दा सकारात्मक सन्देश जाने भएकाले उक्त आग्रह गरिएको नगर प्रमुख खाँले बताए ।



प्रधानमन्त्रीलाई पठाएको पत्रमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा नआउँदा लुम्बिनी प्रदेशकै सिंगो विकास र समृद्धिको ढोका बन्द भएको उल्लेख छ ।

‘विमानस्थल दिगो रुपमा सञ्चालन हुन नसक्दा ऋण लगानीमा निर्माण भएको यस विमानस्थलबाट नेपाल सरकारले अपेक्षित रुपमा लाभ लिन सकेको छैन’, पत्रमा उल्लेख छ, ‘त्यसमाथि विमानस्थललाई लक्षित गरेर यस क्षेत्रमा रहेका निजी क्षेत्रबाट पर्यटन, उद्योग जस्ता क्षेत्रमा भएको अर्बौंको लगानी समेत डुब्ने अवस्थामा छ ।’

लगानीकर्ताहरु बैंकको ब्याज समेत तिर्न नसक्ने जटिल अवस्थामा रहेको उल्लेख गर्दै पत्रमा विमानस्थल दिगो रुपमा सञ्चालन नआउने हो भने यस क्षेत्रले ठूलो आर्थिक संकट व्यहोर्ने र समग्र देशकै अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने उल्लेख छ । ‘यो विमानस्थल पूर्ण एवं दिगो रुपमा सञ्चालनमा नआउँदा सरकार यसतर्फ चिन्तित र गम्भिर नभएको हो कि भन्ने भान यस क्षेत्रका आम जनताको समेत रहेको छ’, संघर्ष समितिका संयोजक नगर प्रमुख खाँले पत्रमा उल्लेख गरेका छन्, ‘विमानस्थल के–कति कारणले दिगो रुपमा सञ्चालनमा आउन नसकेको हो ? यसबारे सरकारले समेत स्पष्ट धारणा एवं जानकारी नगराएकोले थप अन्यौलता सिर्जना हुँदा जनस्तरमा आक्रोस बढ्दै गएको छ ।’

उद्घाटन भएको ३ वर्ष पुगिसक्दा समेत अन्तर्राष्ट्रिय उडानहरू नियमित हुन नसकेर आलोचित बनिरहेको बेला गौतमबुद्ध विमानस्थलको जग्गा अधिग्रहण र मुआब्जा वितरणको विषय समेत विवादमा तानिएको छ
विमानस्थल नियमित संचालनका लागि निजी क्षेत्रका विभिन्न संघसंस्था तथा नगरवासी तथा सरोकारवालाबाट पटक–पटक विभिन्न आन्दोलन र ध्यानाकर्षणका कार्यक्रम समेत सञ्चालन हुँदै आएको तर माग सम्बोधन नभएको पत्रमा प्रधानमन्त्रीलाई जानकारी गराइएको छ । विमानस्थल संचालन हुन नसक्नुका कारणहरु स्पष्ट पारिदिन समेत प्रधानमन्त्रीसमक्ष आग्रह गरिएको छ ।

‘हिजो हामीले इमलेमार्फत पत्र पठाएर यहाँको विमानस्थल प्रयोग गर्न गर्नुपर्ने आवश्यक तयारीका लागि समय दिएका छौं, आज दिउँसो प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरेर के प्रतिक्रिया आउँछ बुझ्छौं’, मेयर खांले भने, ‘लामो समय विमानस्थल नचल्दा सरकारकै बेवास्ताले नचलेको भन्ने पर्यटन व्यवसायी र जनतामा परेको छ, त्यसलाई गलत सावित गर्न प्रधानमन्त्रीले यो विमानस्थल प्रयोग गर्दा सकारात्मक सन्देश जान्छ भन्ने हाम्रो विश्वास छ ।’

संघर्ष समितिले अर्बौंको लगानीमा बनेको विमानस्थल महिनौंसम्म अन्तर्राष्ट्रिय उडानविहीन हुँदा पर्यटन व्यवसायीमा निराशा छाएकाले रुपन्देहीका १६ वटै स्थानीय तहका प्रमुख सम्मिलित टोलीले छिटै प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष डेलिगेशन जाने निर्णयसमेत गरेको छ ।

विमानस्थललाई नियमित रुपमा संचालनका लागि बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण भएका विदेशी गुम्बाहरुसँग छलफल गरी सम्बन्धित राष्ट्रका राजदुतहरुसँग समेत समन्वय गर्न समितिले प्रधानमन्त्रीसँग अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले विमानस्थलमा निर्माण गरिएको कार्गो समेत संचालनमा जोड दिएको छ ।

कार्गो संचालनमा ल्याएमा रुपन्देही लगायत तराई र नेपालका विभिन्न पहाडी तथा हिमाली जिल्लाका कृषि तथा जडिबुटी विदेश निर्यात हुने प्रचूर सम्भावना रहेको संघर्ष समितिका सदस्य महेन्द्रकुमार श्रेष्ठले बताए ।

काठमाडौंमा रहेका ठूला पर्यटन व्यवसायीको दबाबमा परेर गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा सरकारको चासो नभएको आरोप यस क्षेत्रका समग्र पर्यटन व्यवसायी तथा स्थानीयको छ ।

विमानस्थलबाट गत अप्रिलदेखि कुनै पनि अन्तर्राष्ट्रिय उडान भएका छैनन् । त्यसअघि सन् २०२५ को जनवरीदेखि मार्चसम्म ३ महिनामा भने अन्तर्राष्ट्रिय उडान सन्तोषजन थियो । उक्त अवधिमा २९९ अन्तर्राष्ट्रिय उडान भएका थिए । त्यो अवधिमा काठमाडौंको त्रिभुवन विमानस्थल मर्मत भइरहेकाले नेपाल एअरलाइन्स, जजिरा, फ्लाई दुबई र थाई एअर एसियाले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गरेका थिए । उक्त ३ महिनामा मात्रै १५ हजार १४८ यात्रुले विमानस्थल प्रयोग गरेका थिए ।

जाडो मौसममा भिजिबिलिटीको समस्या देखाउँदै विदेशी एअरलाइन्सहरुले उडान स्थगित गरेका थिए । पछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आरएनपीएआर प्रविधि लागू गरेपछि करिब एक महिना अन्तर्राष्ट्रिय उडान पुन: सुरु भए पनि त्रिभुवन विमानस्थल मर्मत सकिएपछि चैत १६ देखि भैरहवाबाट पुन: उडान बन्द भएको हो ।

उद्घाटन भएको तीन वर्ष पूरा भइसक्दा पनि विमानस्थलबाट अन्तराष्ट्रिय उडान नियमित र पर्याप्त नभएपछि व्यवसायीहरू पटक-पटक आन्दोलन गरिरहेका छन् । तर पनि विमानस्थल सञ्चालन नहुँदा उनीहरुमा निराशा छाएको छ ।

महाप्रबन्धक तिवारीले सरकारी स्वामित्वका नेपाल एअरलाइन्स र हिमालयन एअरलाइन्सले आफ्नो प्रतिस्पर्धी क्षमता बढाउन जहाज थप्नुपर्ने र केही जहाज गौतमबुद्ध विमानस्थललाई डेडिकेटेड गर्न आवश्यक रहेको औंल्याए
२०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको यो विमानस्थलबाट बुद्ध जन्मस्थल लुम्बिनी २५ मिनेटमै पुगिन्छ । बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्धमार्गी विदेशी पर्यटक भित्राएर धार्मिक पर्यटनको प्रवेशद्वार बनाउने अपेक्षा गरिएको थियो । तर, विदेशी पर्यटकको आगमन शून्य भएपछि धेरै होटलहरू घाटामा गएका छन् । कतिपय होटेलहरु ऋण तिर्न नसकेर विक्रि भइसकेका छन् ।

विमानस्थलमा महाप्रवन्धक प्रताप तिवारीले गत अप्रिलदेखि अन्तर्राष्ट्रिय उडान नभएको बताउँदै आउने अक्टुबर २६ देखि थाई एअरले साताको दुई उडान सुरु गर्ने तयारी गरेको बताए ।

विमानस्थलका प्रवक्ता विनोद राउतका अनुसार दैनिक ५० अन्तर्राष्ट्रिय उडान क्षमता र वार्षिक ३० लाख बढी यात्रु प्रस्थान गर्नसक्ने क्षमता छ ।

विमानस्थलमा एकपटकमा ५ वटा न्यारोबडी वा एउटा वाइडबडी र ३ न्यारोबडी जहाज उडान र पार्किङ गर्नसक्ने क्षमता छ ।

विमानस्थलको आईसीपी १ निर्माणमा ६ अर्ब ६३ करोड भुक्तानी भएको छ भने आईसीपी २ निर्माणमा ४५ लाख १५ हजार ६०९ अमेरिकी डलर र ७९ लाख ८ हजार रुपैयाँ गरी अहिलेको विनिमय दरअनुसार कूल ६३ करोड रुपैयाँ बढी भुक्तानी भएको नागरिक उडड्नयन प्राधिकरणले जनाएको छ ।

कूल लागतमध्ये एशियाली विकास बैंकको ऋण र अनुदान ३७ मिलियन अमेरिकी डलर, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्टको ऋण करिब ११ मिलियन अमेरिकी डलर र २८.१ मिलियन अमेरिकी डलर नेपाल सरकारको लगानी भएको छ ।

उद्घाटन भएको ३ वर्ष पुगिसक्दा समेत अन्तर्राष्ट्रिय उडानहरू नियमित हुन नसकेर आलोचित बनिरहेको बेला गौतमबुद्ध विमानस्थलको जग्गा अधिग्रहण र मुआब्जा वितरणको विषय समेत विवादमा तानिएको छ ।

विमानस्थलका लागि झण्डै एक दशकअघि पटक-पटक गरेर ४ सय ५२ बिघा जग्गा अधिग्रहण गरी साढे २२ अर्ब ६८ करोड रुपैयाँ मुआब्जा वितरण गरिएको थियो ।

अहिले विमानस्थलको कूल जग्गा ८०६ बिघा छ । जसमा पूर्व-पश्चिम दिशामा ३ किलोमिटर लम्बाइ र ६० मिटर चैडाइको धावनमार्गसहित इन्टरफेन्सभित्रको जगा ३१० बिघा छ । बाँकी आउटर फेन्स भित्र छ । नर्थवेस्ट सिभिल एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप चाइनाले विमानस्थल बनाएको हो ।

सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमिति सदस्यहरुले रनवेभन्दा दक्षिणतर्फ भारतको सीमाभन्दा डेढ किलोमिटर उत्तरसम्म खोला आसपासको ठूलाठूला भंगालो (खाल्डा) आसपासमा आवश्यकता नै नभएको कमसल जग्गा ठूलो परिमाणमा खरिद गरी अर्बौं रकम मुआब्जा बाँड्नुका पछाडि नीतिगत र आर्थिक भ्रष्टाचार लुकेको भन्दै थप छानबिन गर्नुपर्ने माग गरेका छन् ।

महाप्रबन्धक तिवारीले सरकारी स्वामित्वका नेपाल एअरलाइन्स र हिमालयन एअरलाइन्सले आफ्नो प्रतिस्पर्धी क्षमता बढाउन जहाज थप्नुपर्ने र केही जहाज गौतमबुद्ध विमानस्थललाई डेडिकेटेड गर्न आवश्यक रहेको औंल्याए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामछिाने भैरहवा कारागारमा हुँदा निकै पीडामा परेको र दुब्लाएको बताएका छन् । बुधबार लामिछानेलाई नख्खु कारागार पुगेर भेट्ने क्रममा उनले रविको अनुहारनै कमजोर देखिएको बताए । रविलाई भेटेर फर्कने क्रममा सञ्चारकर्मीसँग उनले भने, ‘भैरहवामा हुँदा नाजुक हुन खोजेको रहेछ । यहाँ आएपछि सुधार ...
। सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनता भन्दा ठूलो कोही नरहेको बताएका छन् । बुधबार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफू त्यत्तिकै प्रधानमन्त्री नभएको भन्दै जनताले जिताएर पठाएको र सांसदहरूले सहयोग गरेकाले नै प्रधानमन्त्री भएको बताए । ‘धेरै पार्टीका नेताहरू मेरो खिलाफमा लाग्नुभयो, मलाई डडेलधुराबाट हार्छ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ कांग्रेस र एमालेलले उपसभामुख पदको अवमूल्यनन गरेको आरोप लगाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा प्रमुख सचेतक परियारलले मंगलबार सिंहदरबार र बालुवाटारमा सत्तारुढ दलले प्रहसन देखाएको आरोप लगाए । उनले भने, ‘हिजो बालुवाटार र सिंहदरबारमा जुन किसिमको प्रहसन भयो , त्यसले सम्मानित सदनलाई चोट पुर्‍याएको ...
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । ललितपुरको नख्खु कारागारमा पुगेर प्रचण्डले रविसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा उनले रविसँग कारागारको बसाइबारे जानकारी लिएको प्रचण्डले बताएका छन् । रविलाई प्रचण्डले भैरहवा कारागारको भन्दा नख्खुमा धेरै राम्रो सेवा सुविधा पाएको जानकारी गराएका छन् । ‘भैरहवा कारागारको भन्दा यहाँ धेरै ...
। नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं प्रतिनिधिसभा सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले कुवेतमा विषाक्त मदिरा सेवनबाट निधन भएका र गम्भीर बिरामी परेका नेपालीको अवस्थाबारे अद्यावधिक विवरण सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । कुवेतमा विषाक्त मदिरा सेवनका कारण १२ जना नेपालीको मृत्यु भएको थियो भने केही गम्भीर बिरामी परेका छन् । सोही घटनाबारे बुधबार प्रतिनिधिसभा बैठकमा सांसद शर्माले ...