मुख्य समाचार
सरकारले ‘गौरवको योजना’का रूपमा अघि बढाएको कोशी रिफ्रेसमेन्ट सेन्टर अब निजी क्षेत्रको हातबाट सञ्चालन हुने
सरकारले ‘गौरवको योजना’का रूपमा अघि बढाएको कोशी रिफ्रेसमेन्ट सेन्टर अब निजी क्षेत्रको हातबाट सञ्चालन हुने

— पूर्व–पश्चिम राजमार्गको व्यस्त यात्रालाई सहज र सुविधायुक्त बनाउन कोशी प्रदेश सरकारले ‘गौरवको योजना’का रूपमा अघि बढाएको कोशी रिफ्रेसमेन्ट सेन्टर अब निजी क्षेत्रको हातबाट सञ्चालन हुने तयारीमा छ ।


सुनसरीको कोशी गाउँपालिकास्थित कटान क्षेत्रमा निर्माणाधीन यो परियोजना ३० वर्षका लागि निजी क्षेत्रलाई व्यवस्थापकीय जिम्मामा दिने प्रक्रिया सुरु भइसकेको लगानी प्राधिकरण बोर्डले जनाएको छ ।


सरकारले करिब ३० करोड रुपैयाँ खर्चेर सेन्टरका संरचना निर्माण गरेको छ । तर अब यसको दीर्घकालीन सञ्चालन, व्यवस्थापन र थप विकास निजी क्षेत्रकै जिम्मामा रहनेछ ।

पूर्व–पश्चिम राजमार्गको लामो यात्रामा थकित यात्रुहरूका लागि आराम लिन, खाने, पिउने, स्वास्थ्य सेवा र अन्य आवश्यक सुविधा उपलब्ध हुने आधुनिक विश्रामस्थलको रूपमा यो सेन्टरलाई विकास गर्ने सरकारको लक्ष्य थियो । तर, बजेट अभाव, सरकार परिवर्तन र नीतिगत ढिलाइका कारण परियोजना अवधिभर काम सुस्त भएको थियो । अब भने निजी क्षेत्रको लगानी र व्यवस्थापनमा यो योजना फस्टाउने अपेक्षा गरिएको छ ।

लगानी प्राधिकरण बोर्डका प्रमुख कार्यकारी डा. सरोज कोइरालाका अनुसार, गत वैशाख १८ र १९ गते सम्पन्न लगानी सम्मेलनमा कोशी रिफ्रेसमेन्ट सेन्टरलाई ‘सोकेस’ मा राखिएको थियो । ‘आशयपत्र माग्दा तीन निजी कम्पनीले सेन्टर सञ्चालनमा चासो देखाएका छन्,’ कोइरालाले भने, ‘हाल ती कम्पनीहरूको मूल्याङ्कन प्रक्रिया चलिरहेको छ । छानिएका कम्पनीमध्येबाट एकलाई प्रस्ताव माग गरिनेछ ।’

छानिएको कम्पनीलाई ३० वर्षका लागि सेन्टर सञ्चालनको जिम्मा दिइनेछ, जसले ४ अर्ब रुपैयाँभन्दा बढीको थप लगानी गर्ने योजना प्रस्तुत गर्ने छन् ।

सुरुवाती कालमा तत्कालीन मुख्यमन्त्री राईले आयोजनाको कामका लागि आयोजनास्थलमै छुट्टै कार्यालय स्थापना गरेर निर्माण कार्य अगाडि बढाएका थिए । सत्ता परिवर्तनपछि जब नेकपा एकीकृत समाजवादीका राजेन्द्र कुमार राई नेतृत्वको सरकार आयो, त्यसपछि कार्यालय खारेज गरी सहरी विकास कार्यालय मोरङलाई जिम्मा दिइयो । गत साउन १ देखि पूर्वाधार विकास कार्यालय सुनसरीले यो परियोजना रेखदेख गरिरहेको छ ।




पूर्वाधार विकास कार्यालय, सुनसरीका इन्जिनियर सुरेश प्रसाद साहका अनुसार, प्रदेश सरकारले भवन, प्रहरी चौकी, स्वास्थ्य चौकी, रेस्टुरेन्ट, ट्राफिक पोस्ट, सार्वजनिक शौचालय, पेट्रोल पम्प, पर्खाललगायतका संरचना निर्माण गरी पहिलो चरणको काम सकाएको छ ।

‘सरकारले आधारभूत संरचना तयार गरिसकेपछि, सञ्चालनको जिम्मा निजी क्षेत्रलाई हस्तान्तरण गर्ने तयारी हो,’ साहले भने । यो आर्थिक वर्षका लागि सेन्टरका लागि ३ करोड रुपैयाँको थप बजेट पनि विनियोजन गरिएको छ । लगानी बोर्डका अनुसार, सेन्टर भदौ अन्त्य वा असोजको पहिलो सातादेखि निजी क्षेत्रलाई हस्तान्तरण गर्न सकिने सम्भावना छ ।

२०७७ साल मंसिर २४ गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले परियोजनाको शिलान्यास गरेका थिए । २२ बिघा क्षेत्रफलमा फैलिएको यस सेन्टरका लागि ४७ लाख ६ हजार रुपैयाँ खर्चेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको थियो ।

रिफ्रेसमेन्ट सेन्टर सञ्चालनमा आएपछि स्थानीय स्तरमा ठूलो मात्रामा रोजगारी सिर्जना हुने, व्यापार फस्टाउने र पर्यटन प्रवर्द्धनमा नयाँ अवसर खुल्ने अपेक्षा गरिएको छ ।

विराटनगरका व्यवसायी भावेश कुमार श्रेष्ठ भन्छन्, ‘बसपार्कदेखि रेस्टुरेन्टसम्म सबै सुविधा एउटै थलोमा हुने भएकाले व्यापार मात्र होइन, पर्यटन पनि फस्टाउने अपेक्षा गरिएको छ ।’

कोशी प्रदेश सरकारका अनुसार, यो आयोजना पूर्वीय नेपालको रणनीतिक परियोजना हो । यसले लामो दूरीका यात्रुहरूलाई सहज बनाउने मात्र होइन, स्थानीय अर्थतन्त्रलाई पनि नयाँ उचाइमा पुर्‍याउनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ। मंगलबार बिहान नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले पानसमा बत्ती बालेर एक्स्पोको शुभारम्भ गरेका हुन्। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा साउन २६ देखि ३१ गतेसम्म एक्स्पो सञ्चालन हुने जनाइएको छ। ६ दिनसम्म चल्ने एक्स्पोमा दुईपाङ्ग्रे्रे, चारपाङ्ग्रे्रे र ...
। अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा नभई नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सहनिर्माताका रूपमा अघि बढ्नुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग आज अर्थ मन्त्रालयमा भएको छलफलमा राष्ट्र बैंकले नियामक निकायको भूमिकासँगै मुलुकको आर्थिक रूपान्तरणमा सक्रिय साझेदारको भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । ‘आजको छलफल कुनै औपचारिक टिप्पणीमा सीमित रहने ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका विशिष्ट श्रेणीका कर्मचारीसँग छलफल गरेका छन् । मन्त्रीसँगको छलफलमा उनीहरूले बैंकिङ क्षेत्रमा कर्जाको माग बढ्न लगानीमैत्री वातावरणको विकास गर्नुपर्ने सुझाएका छन् । हाल कर्जाको माग नबढ्नुमा लगानी वातावरण नै प्रमुख रहेको उनीहरूले बताए। अर्थतन्त्रको पछिल्लो अवस्था र वित्तीय क्षेत्रका समस्या समाधानका लागि केन्द्रीय बैंकका विभागहरूले के कसरी ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रुपान्तरण र संरचनागत सुधारका लागि ‘नीतिगत आत्मविश्वास’ अनिवार्य रहेको बताएका छन् । बुधवार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफलमा उनले सो धारणा राखेका हुन् । निजी क्षेत्रले केवल सहुलियत मात्र नभई स्पष्ट नीति, स्थिर नियम, शीघ्र निर्णय र विश्वसनीय कार्यान्वयन खोजिरहेको उनले उल्लेख गरे । उनले सरकारको सोच, प्राथमिकता ...
: प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकको सञ्चालक समिति एक जना महिलासहित सात सदस्यीय बनाउन सहमति जुटाएको छ । मंगलबार समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा ९ सदस्यीय सञ्चालक समिति प्रस्ताव गरिएकोमा पूर्ववत रुपमा नै सात सदस्यीय समिति बनाउन सहमति जुटेको हो । बैठकमा अर्थमन्त्री डा. ...