मुख्य समाचार
सरकारले ‘गौरवको योजना’का रूपमा अघि बढाएको कोशी रिफ्रेसमेन्ट सेन्टर अब निजी क्षेत्रको हातबाट सञ्चालन हुने
सरकारले ‘गौरवको योजना’का रूपमा अघि बढाएको कोशी रिफ्रेसमेन्ट सेन्टर अब निजी क्षेत्रको हातबाट सञ्चालन हुने

— पूर्व–पश्चिम राजमार्गको व्यस्त यात्रालाई सहज र सुविधायुक्त बनाउन कोशी प्रदेश सरकारले ‘गौरवको योजना’का रूपमा अघि बढाएको कोशी रिफ्रेसमेन्ट सेन्टर अब निजी क्षेत्रको हातबाट सञ्चालन हुने तयारीमा छ ।


सुनसरीको कोशी गाउँपालिकास्थित कटान क्षेत्रमा निर्माणाधीन यो परियोजना ३० वर्षका लागि निजी क्षेत्रलाई व्यवस्थापकीय जिम्मामा दिने प्रक्रिया सुरु भइसकेको लगानी प्राधिकरण बोर्डले जनाएको छ ।


सरकारले करिब ३० करोड रुपैयाँ खर्चेर सेन्टरका संरचना निर्माण गरेको छ । तर अब यसको दीर्घकालीन सञ्चालन, व्यवस्थापन र थप विकास निजी क्षेत्रकै जिम्मामा रहनेछ ।

पूर्व–पश्चिम राजमार्गको लामो यात्रामा थकित यात्रुहरूका लागि आराम लिन, खाने, पिउने, स्वास्थ्य सेवा र अन्य आवश्यक सुविधा उपलब्ध हुने आधुनिक विश्रामस्थलको रूपमा यो सेन्टरलाई विकास गर्ने सरकारको लक्ष्य थियो । तर, बजेट अभाव, सरकार परिवर्तन र नीतिगत ढिलाइका कारण परियोजना अवधिभर काम सुस्त भएको थियो । अब भने निजी क्षेत्रको लगानी र व्यवस्थापनमा यो योजना फस्टाउने अपेक्षा गरिएको छ ।

लगानी प्राधिकरण बोर्डका प्रमुख कार्यकारी डा. सरोज कोइरालाका अनुसार, गत वैशाख १८ र १९ गते सम्पन्न लगानी सम्मेलनमा कोशी रिफ्रेसमेन्ट सेन्टरलाई ‘सोकेस’ मा राखिएको थियो । ‘आशयपत्र माग्दा तीन निजी कम्पनीले सेन्टर सञ्चालनमा चासो देखाएका छन्,’ कोइरालाले भने, ‘हाल ती कम्पनीहरूको मूल्याङ्कन प्रक्रिया चलिरहेको छ । छानिएका कम्पनीमध्येबाट एकलाई प्रस्ताव माग गरिनेछ ।’

छानिएको कम्पनीलाई ३० वर्षका लागि सेन्टर सञ्चालनको जिम्मा दिइनेछ, जसले ४ अर्ब रुपैयाँभन्दा बढीको थप लगानी गर्ने योजना प्रस्तुत गर्ने छन् ।

सुरुवाती कालमा तत्कालीन मुख्यमन्त्री राईले आयोजनाको कामका लागि आयोजनास्थलमै छुट्टै कार्यालय स्थापना गरेर निर्माण कार्य अगाडि बढाएका थिए । सत्ता परिवर्तनपछि जब नेकपा एकीकृत समाजवादीका राजेन्द्र कुमार राई नेतृत्वको सरकार आयो, त्यसपछि कार्यालय खारेज गरी सहरी विकास कार्यालय मोरङलाई जिम्मा दिइयो । गत साउन १ देखि पूर्वाधार विकास कार्यालय सुनसरीले यो परियोजना रेखदेख गरिरहेको छ ।




पूर्वाधार विकास कार्यालय, सुनसरीका इन्जिनियर सुरेश प्रसाद साहका अनुसार, प्रदेश सरकारले भवन, प्रहरी चौकी, स्वास्थ्य चौकी, रेस्टुरेन्ट, ट्राफिक पोस्ट, सार्वजनिक शौचालय, पेट्रोल पम्प, पर्खाललगायतका संरचना निर्माण गरी पहिलो चरणको काम सकाएको छ ।

‘सरकारले आधारभूत संरचना तयार गरिसकेपछि, सञ्चालनको जिम्मा निजी क्षेत्रलाई हस्तान्तरण गर्ने तयारी हो,’ साहले भने । यो आर्थिक वर्षका लागि सेन्टरका लागि ३ करोड रुपैयाँको थप बजेट पनि विनियोजन गरिएको छ । लगानी बोर्डका अनुसार, सेन्टर भदौ अन्त्य वा असोजको पहिलो सातादेखि निजी क्षेत्रलाई हस्तान्तरण गर्न सकिने सम्भावना छ ।

२०७७ साल मंसिर २४ गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले परियोजनाको शिलान्यास गरेका थिए । २२ बिघा क्षेत्रफलमा फैलिएको यस सेन्टरका लागि ४७ लाख ६ हजार रुपैयाँ खर्चेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको थियो ।

रिफ्रेसमेन्ट सेन्टर सञ्चालनमा आएपछि स्थानीय स्तरमा ठूलो मात्रामा रोजगारी सिर्जना हुने, व्यापार फस्टाउने र पर्यटन प्रवर्द्धनमा नयाँ अवसर खुल्ने अपेक्षा गरिएको छ ।

विराटनगरका व्यवसायी भावेश कुमार श्रेष्ठ भन्छन्, ‘बसपार्कदेखि रेस्टुरेन्टसम्म सबै सुविधा एउटै थलोमा हुने भएकाले व्यापार मात्र होइन, पर्यटन पनि फस्टाउने अपेक्षा गरिएको छ ।’

कोशी प्रदेश सरकारका अनुसार, यो आयोजना पूर्वीय नेपालको रणनीतिक परियोजना हो । यसले लामो दूरीका यात्रुहरूलाई सहज बनाउने मात्र होइन, स्थानीय अर्थतन्त्रलाई पनि नयाँ उचाइमा पुर्‍याउनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको राजनीतिक नेतृत्वमा अभूतपूर्व पुस्तान्तरण भएको भन्दै अब निजी क्षेत्रले पनि आफ्नो कार्यशैली र सोचमा परिवर्तन गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले ३६ वर्षका प्रधानमन्त्रीले देश हाँक्नु र ५० वर्षका आफू मन्त्रिमण्डलको सबैभन्दा ‘वृद्ध’ सदस्य हुनुले मुलुकमा ठूलो ...
। पश्चिम एसिया युद्धको असर नेपालको पर्यटक आगमनमा देखिएको छ । नेपालको पर्वतारोहण तथा पदयात्राको मुख्य सिजन अप्रिलमा पर्यटक आगमनमा ७.३ प्रतिशतको गिरावट आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ अप्रिलमा १ लाख ७ हजार ९ सय ३४ पर्यटक भित्रिएका छन् । जुन २०२५ अप्रिलको तुलनामा ७.३ प्रतिशतको गिरावट हो । गत वर्ष अप्रिलमा १ ...
। मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा अलैँची निर्यात ४१.५८ प्रतिशतले बढेको छ । भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा १० अर्ब ७० करोड सात लाख १८ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो । चालु आवको नौ महिनामा पाँच हजार २९५ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना ...
। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्र अहिले चुनौतीपूर्ण मोडमा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको कार्यक्रममा बोल्दै भट्टले निजी क्षेत्र र सरकार दुवै फरक–फरक वित्तीय तथा संरचनागत दबाबमा रहेको भन्दै मुलुकको अर्थतन्त्र मुख्यतः तीनवटा गम्भीर ‘पासो’ (ट्रयाप) मा फसेको बताएका हुन् । भट्टले पहिलो पासोका रूपमा निजी क्षेत्र ...
। पूर्वअर्थमन्त्री रामेश्वर खनालले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नेगरी सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी बजेटका सन्दर्भमा गरेको छलफलमा उनले उत्पादनशील क्षमता बढाउने र व्यावसायिक लागत घटाउने दिशामा केन्द्रित रहेर आगामी बजेट ल्याउनुपर्ने बताएका हुन् । खनालका अनुसार आगामी बजेटमा सरकारले कर प्रणालीमा व्यापक सुधार ...