मुख्य समाचार
उत्तराखण्ड बाढी : बेपत्ता नभेटिएपछि फर्किन थाले आफन्त, भन्छन्, ‘भेटिने आश छैन, घर फर्केर किरिया गर्छौँ’
उत्तराखण्ड बाढी : बेपत्ता नभेटिएपछि फर्किन थाले आफन्त, भन्छन्, ‘भेटिने आश छैन, घर फर्केर किरिया गर्छौँ’

— भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रको धरालीमा दुई साताअघि आएको बाढीमा बेपत्ता भएका नेपालीहरूका आफन्त घर फर्किन थालेका छन् । दुई सातासम्म खोजी गर्दा पनि बेपत्ता भएकाहरू नभेटिएपछि आफन्त घर फर्किन थालेका हुन् । आफन्तहरू धरालीबाट एक दिन पैदल हिँडेरै उत्तरकाशीसम्म र त्यहाँबाट बसमा आउने तयारीसहित हिँडेका हुन् ।


‘दुई सातासम्म बगरमा डुल्दा–डुल्दा केही भेटिएन, अब भेटिने सम्भावना पनि छैन,’ जाजरकोटको कुशे गाउँपालिका–२ तालीगाउँका गणेशबहादुर सिंहले भने, ‘बगरमा न खाने ठेगान छ, न बस्ने नै, अब घर गएर किरिया गर्छौँ ।’ उनी धरालीमै काम गर्ने कान्छा भाइ सुरेन्द्र र ज्वाइँ नाता पर्ने भूपेन्द्र शाहीसँगै घर फर्किन थालेका हुन् ।


सिंहका दाइ कर्णबहादुर धरालीको बाढीमा परेर बेपत्ता भएका छन् । आमाको उपचारका लागि धराली पुगेका कर्णबहादुर बाढीमा परेर बेपत्ता भएका हुन् । उनले आमालाई पनि सँगै लगेका थिए । आमालाई उत्तरकाशी नजिकै मामाको डेरामा राखेर उपचार गराइरहेका कर्ण रोजगारीका लागि धराली गएका थिए ।

बुधबार बिहान हर्षिल क्षेत्रबाट पैदल हिँडेर दिउँसो उत्तरकाशी पुगेको उनले बताए । उनका अनुसार धराली बाढीमा बेपत्ता भएका रामबहादुर सिंह, निमबहादुर सिंह र रोबिन सिंहका आफन्त पनि घर फर्किन लागेका छन् । उनीहरू भने धरालीबाट ढिलो हिँडेका कारण अबेर साँझसम्म उत्तरकाशी पुगेर बिहीबार बिहान बस चढेको सिंहले बताए ।

धरालीको बाढीमा परेर २१ जना नेपाली बेपत्ता छन् । जसमध्ये सिंहको गाउँका मात्रै ५ जना बेपत्ता छन् । बेपत्ता भएकामध्ये मानबहादुरका आफन्त भने अहिले पनि धरालीमै रहेको र उनीहरू तत्काल नफर्किने जानकारी पाएको उनले बताए ।

‘अहिले खोजी कार्य पनि सुस्त भइसकेको छ, त्यहाँ भएका धेरै नेपालीहरू घर फर्किसकेका छन्,’ सिंहले भने, ‘अब बेपत्ता हुने त भइसके, जीवित भेटिने सम्भावना छैन, उनीहरूको किरिया पनि गर्नुपर्‍यो ।’ उनले दाइका छोराहरू सानै भएकाले आफैं किरिया गर्ने गरी घर फर्केका हुन् ।

‘अब यो बगरमा जति डुले पनि बेपत्ता भेटिने सम्भावना छैन,’ कैलाली टीकापुरका प्रकाश बुढाले भने, ‘हामी पनि हरिद्वार गएर किरिया गर्ने तयारीमा छौँ ।’ उनले किरियाका लागि घरबाट पनि आफन्त बोलाएका छन् । घरबाट बिहीबार बिहान हिँड्ने र आफु पनि बिहीबार नै हिँडेपछि शुक्रबारसम्म हरिद्वार पुग्ने योजना रहेको उनले बताए । त्यसपछि हरिद्वारमै किरिया गरेर घर फर्किने उनले बताए ।




बुढाका भाइ रमेश र बुहारी प्रिया बेपत्ता छन् । उनीहरू चार महिनाअघि रोजगारीका लागि धराली पुगेका थिए । रोजगारीका लागि उक्त क्षेत्रमा अधिकांश नेपालीहरू परिवारसहित जाने गरेका छन् । दुई साताअघि उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रमा ‘क्लाउड बर्स्ट’ पछि खीरगंगा नदीमा आएको भीषण बाढीले धराली बजार बगरमा परिणत भएको छ । बाढीले बगाएर ल्याएको गेग्रानले ३०/३५ फिटसम्म पटान गरेको छ । सोही बाढीमा परेर २१ जना नेपाली बेपत्ता रहेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । यद्यपि हालसम्म पनि बेपत्ता नेपालीको पूर्ण विवरण भने संकलन भइनसकेको दूतावासले जनाएको छ ।

उत्तराखण्डको राज्य आपतकालीन परिचालन केन्द्रका अनुसार उक्त बाढीमा परेर ६८ जना बेपत्ता भएका छन् । उक्त क्षेत्रबाट १३ सय बढीलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । अहिले पनि खोज र उद्धारका काम चलिरहेको केन्द्रले जनाएको छ ।

गंगोत्री मार्गमा पर्ने धराली बजारमा बाढी आउनुभन्दा अगाडि निकै चहलपहल हुन्थ्यो । यहाँ होटलमा काम गर्नेदेखि स्याउ टिप्ने र विभिन्न किसिमका विकास निर्माण क्षेत्रमा काम गर्नका लागि नेपालीहरू धराली पुग्ने गरेका हुन् । कतिपयले जमिन भाडामा लिएर तरकारी खेती समेत गरिरहेका छन् ।

अहिले पनि चार/पाँच परिवार जमिन भाडामा लिएर खेती गरिरहेका छन् । धरालीमा भीषण बाढी आएपछि गंगोत्री यात्रा पनि बन्द गरिएको छ । गंगोत्री यात्रा वैशाख/जेठदेखि असोज/कार्तिकसम्म चल्ने गर्छ । हर्षिल क्षेत्रमा बाढी र पहिराले सडक भत्काएपछि यात्रा अवरुद्ध भएको हो ।

धराली र गंगोत्रीमा मजदुरीका लागि गएका नेपालीहरू बेरोजगार भएपछि घर फर्किसकेका छन् । बेपत्ताका आफन्तहरू भने हालसम्म खोजीमै लागेपछि अब भने भेटिने आस मारेर घर फर्किन लागेका हुन् ।

‘यहाँ भएका सबै नेपाली घर फर्किसकेका छन्, जसले जमिन भाडामा लिएर तरकारी खेती गरेका छन्, उनी मात्रै बाँकी छन्,’ कैलाली टीकापुरका बुढाले भने, ‘बेपत्ता भएकाहरूका आफन्त हालसम्म भेटिने आसमा बसेका थिए, अब उनीहरू पनि फर्किन लागेका छन् ।’ उनका अनुसार बेपत्ताका केही आफन्त बुधबार फर्केका थिए भने बाँकी बिहीबार फर्किरहेका छन् । बाढीमा परेर अलपत्र परेका उनीहरू खर्च अभावका कारण पनि समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गैरआवासीय नेपाली संघ (एनआरएनए )को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारमा आयोजना हुने भएको छ। मध्यपूर्वमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या, चुनौती र अधिकारका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो। सहयात्राको मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको सम्मेलनको मूल नारा ‘सुरक्षित ...
: मलेसिया रोजगारीमा सिन्डिकेट खडा गरी नेपाली श्रमिकमाथि आर्थिक शोषण गरेको आरोपमा सरकारले अनुसन्धान र कानुनी कारबाही तीव्र पारेको छ। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा तोकिएको भन्दा बढी शुल्क असुलेर ठगी गरेको आरोपमा स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कासहित चार जना पक्राउ परेका छन्। साथै, मलेसियाले छनोट गरेका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी ...
: हिन्दु धर्मावलम्बीहरूको प्रमुख चाड बडादसैं र तिहार नजिकिँदै गर्दा खाडी देशहरूमा कार्यरत नेपालीहरू घर फर्कन थालेका छन्। वर्षभरि परिवारबाट टाढा रहेर काम गर्ने उनीहरूका लागि चाडपर्व आफन्तसँग भेटघाट गर्ने र पारिवारिक खुसी साटासाट गर्ने अवसर हो। तर हवाई टिकटको महँगो मूल्यका कारण धेरै नेपालीको घरफिर्ती योजना खर्चिलो बनेको छ। यूएईमा कार्यरत सुमन मुखिया तीन वर्षपछि ...
: भिजिट भिसा लिएर संयुक्त अरब इमिरेट्स (यूएई) गएका नेपालीले अब उतै गएर वर्किङ भिसा लिन नपाउने भएका छन्। नेपालबाट यूएई भ्रमण तथा बिजनेस भिसामा गएर उतै काम खोजेर वर्किङ भिसामा कन्भर्ट गर्ने नेपालीहरूको संख्या ठूलै छ। तर, यूएई सरकारले विदेशी कामदारका हकमा भिजिट भिसाबाट वर्किङ भिसामा परिवर्तन गर्न नपाउने नयाँ नियम ल्याउँदै छ। गत वर्षको ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विधानसभामा पहिलोपटक दशैँ तथा तिहार उत्सव आयोजना गरिएको छ। सनातन समाज अस्ट्रेलिया क्यानबेराको आयोजना तथा विपक्षी दलका नेता मार्क पार्टनको आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली समुदायको सांस्कृतिक पहिचान, परम्परा र क्यानबेराको विकासमा नेपालीहरूको योगदानको प्रशंसा गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै एसीटीका विपक्षी दलका नेता मार्क पार्टनले नेपाली समुदाय अस्ट्रेलियाका विभिन्न ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम