मुख्य समाचार
उत्तराखण्ड बाढी : बेपत्ता नभेटिएपछि फर्किन थाले आफन्त, भन्छन्, ‘भेटिने आश छैन, घर फर्केर किरिया गर्छौँ’
उत्तराखण्ड बाढी : बेपत्ता नभेटिएपछि फर्किन थाले आफन्त, भन्छन्, ‘भेटिने आश छैन, घर फर्केर किरिया गर्छौँ’

— भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रको धरालीमा दुई साताअघि आएको बाढीमा बेपत्ता भएका नेपालीहरूका आफन्त घर फर्किन थालेका छन् । दुई सातासम्म खोजी गर्दा पनि बेपत्ता भएकाहरू नभेटिएपछि आफन्त घर फर्किन थालेका हुन् । आफन्तहरू धरालीबाट एक दिन पैदल हिँडेरै उत्तरकाशीसम्म र त्यहाँबाट बसमा आउने तयारीसहित हिँडेका हुन् ।


‘दुई सातासम्म बगरमा डुल्दा–डुल्दा केही भेटिएन, अब भेटिने सम्भावना पनि छैन,’ जाजरकोटको कुशे गाउँपालिका–२ तालीगाउँका गणेशबहादुर सिंहले भने, ‘बगरमा न खाने ठेगान छ, न बस्ने नै, अब घर गएर किरिया गर्छौँ ।’ उनी धरालीमै काम गर्ने कान्छा भाइ सुरेन्द्र र ज्वाइँ नाता पर्ने भूपेन्द्र शाहीसँगै घर फर्किन थालेका हुन् ।


सिंहका दाइ कर्णबहादुर धरालीको बाढीमा परेर बेपत्ता भएका छन् । आमाको उपचारका लागि धराली पुगेका कर्णबहादुर बाढीमा परेर बेपत्ता भएका हुन् । उनले आमालाई पनि सँगै लगेका थिए । आमालाई उत्तरकाशी नजिकै मामाको डेरामा राखेर उपचार गराइरहेका कर्ण रोजगारीका लागि धराली गएका थिए ।

बुधबार बिहान हर्षिल क्षेत्रबाट पैदल हिँडेर दिउँसो उत्तरकाशी पुगेको उनले बताए । उनका अनुसार धराली बाढीमा बेपत्ता भएका रामबहादुर सिंह, निमबहादुर सिंह र रोबिन सिंहका आफन्त पनि घर फर्किन लागेका छन् । उनीहरू भने धरालीबाट ढिलो हिँडेका कारण अबेर साँझसम्म उत्तरकाशी पुगेर बिहीबार बिहान बस चढेको सिंहले बताए ।

धरालीको बाढीमा परेर २१ जना नेपाली बेपत्ता छन् । जसमध्ये सिंहको गाउँका मात्रै ५ जना बेपत्ता छन् । बेपत्ता भएकामध्ये मानबहादुरका आफन्त भने अहिले पनि धरालीमै रहेको र उनीहरू तत्काल नफर्किने जानकारी पाएको उनले बताए ।

‘अहिले खोजी कार्य पनि सुस्त भइसकेको छ, त्यहाँ भएका धेरै नेपालीहरू घर फर्किसकेका छन्,’ सिंहले भने, ‘अब बेपत्ता हुने त भइसके, जीवित भेटिने सम्भावना छैन, उनीहरूको किरिया पनि गर्नुपर्‍यो ।’ उनले दाइका छोराहरू सानै भएकाले आफैं किरिया गर्ने गरी घर फर्केका हुन् ।

‘अब यो बगरमा जति डुले पनि बेपत्ता भेटिने सम्भावना छैन,’ कैलाली टीकापुरका प्रकाश बुढाले भने, ‘हामी पनि हरिद्वार गएर किरिया गर्ने तयारीमा छौँ ।’ उनले किरियाका लागि घरबाट पनि आफन्त बोलाएका छन् । घरबाट बिहीबार बिहान हिँड्ने र आफु पनि बिहीबार नै हिँडेपछि शुक्रबारसम्म हरिद्वार पुग्ने योजना रहेको उनले बताए । त्यसपछि हरिद्वारमै किरिया गरेर घर फर्किने उनले बताए ।




बुढाका भाइ रमेश र बुहारी प्रिया बेपत्ता छन् । उनीहरू चार महिनाअघि रोजगारीका लागि धराली पुगेका थिए । रोजगारीका लागि उक्त क्षेत्रमा अधिकांश नेपालीहरू परिवारसहित जाने गरेका छन् । दुई साताअघि उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रमा ‘क्लाउड बर्स्ट’ पछि खीरगंगा नदीमा आएको भीषण बाढीले धराली बजार बगरमा परिणत भएको छ । बाढीले बगाएर ल्याएको गेग्रानले ३०/३५ फिटसम्म पटान गरेको छ । सोही बाढीमा परेर २१ जना नेपाली बेपत्ता रहेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । यद्यपि हालसम्म पनि बेपत्ता नेपालीको पूर्ण विवरण भने संकलन भइनसकेको दूतावासले जनाएको छ ।

उत्तराखण्डको राज्य आपतकालीन परिचालन केन्द्रका अनुसार उक्त बाढीमा परेर ६८ जना बेपत्ता भएका छन् । उक्त क्षेत्रबाट १३ सय बढीलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । अहिले पनि खोज र उद्धारका काम चलिरहेको केन्द्रले जनाएको छ ।

गंगोत्री मार्गमा पर्ने धराली बजारमा बाढी आउनुभन्दा अगाडि निकै चहलपहल हुन्थ्यो । यहाँ होटलमा काम गर्नेदेखि स्याउ टिप्ने र विभिन्न किसिमका विकास निर्माण क्षेत्रमा काम गर्नका लागि नेपालीहरू धराली पुग्ने गरेका हुन् । कतिपयले जमिन भाडामा लिएर तरकारी खेती समेत गरिरहेका छन् ।

अहिले पनि चार/पाँच परिवार जमिन भाडामा लिएर खेती गरिरहेका छन् । धरालीमा भीषण बाढी आएपछि गंगोत्री यात्रा पनि बन्द गरिएको छ । गंगोत्री यात्रा वैशाख/जेठदेखि असोज/कार्तिकसम्म चल्ने गर्छ । हर्षिल क्षेत्रमा बाढी र पहिराले सडक भत्काएपछि यात्रा अवरुद्ध भएको हो ।

धराली र गंगोत्रीमा मजदुरीका लागि गएका नेपालीहरू बेरोजगार भएपछि घर फर्किसकेका छन् । बेपत्ताका आफन्तहरू भने हालसम्म खोजीमै लागेपछि अब भने भेटिने आस मारेर घर फर्किन लागेका हुन् ।

‘यहाँ भएका सबै नेपाली घर फर्किसकेका छन्, जसले जमिन भाडामा लिएर तरकारी खेती गरेका छन्, उनी मात्रै बाँकी छन्,’ कैलाली टीकापुरका बुढाले भने, ‘बेपत्ता भएकाहरूका आफन्त हालसम्म भेटिने आसमा बसेका थिए, अब उनीहरू पनि फर्किन लागेका छन् ।’ उनका अनुसार बेपत्ताका केही आफन्त बुधबार फर्केका थिए भने बाँकी बिहीबार फर्किरहेका छन् । बाढीमा परेर अलपत्र परेका उनीहरू खर्च अभावका कारण पनि समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेलायतको सर्वदलीय संसदीय समिति (अल पार्टी पार्लियामेन्ट्री ग्रुप) नेपाल आवद्ध १९ जना सांसदले गोर्खाहरूको सेवा र बलिदानलाई सम्मान गर्दै उनीहरुका मुद्दा सम्बोधन गर्न सरकारसमक्ष आग्रह गरेका छन् । अल्डरसट र फार्नबरो क्षेत्रकी सांसद एवं अल पार्टी पार्लियामेन्ट्री ग्रुप नेपाल अध्यक्ष एलेक्स बेकरसहितका सांसदहरुले बेलायती भेट्रान मन्त्री लुइस स्यान्डर जोन्सलाई सोमबार एक पत्र लेख्दै सो आग्रह ...
— उच्च पदस्थ अधिकारीलाई धम्की दिएको आरोपमा फिलिपिन्सबाट पक्राउ गरी ल्याइएका प्रकाश पाठकको सम्बन्ध भ्रष्टाचारमा मुछिएका नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक प्रदीप अधिकारीसँग समेत भएको देखिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा भक्तपुरको नलिन्चोकमा हेलीप्याड निर्माण र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा चलेका अधिकारीको सम्पर्क पाठकसँग रहेको देखिएको हो । जिल्ला प्रहरी ...
: कतारबाट घर फर्किन चाहने नेपाली नागरिकलाई सम्पर्कमा आउन त्यहाँस्थित नेपाली दूताबासले आग्रह गरेको छ । मध्य पूर्वको वर्तमान विषय परिस्थितिलाई मध्यनजर गर्दै नेपाली दूतावासले नेपाली नागरिकलाई यस्तो आग्रह गरेको । दूतावासले शनिबार एक सूचना जारी गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने वैध आवासीय अनुमति पत्र (कतार आइडी) भएका नेपाली नागरिकहरुलाई दोहास्थित ताशिर साउदी ...
। मध्यपूर्वमा जारी युद्धबारे एआईको दुरुपयोग गरी भ्रामक सूचना फैलाएको भन्दै यूएईमा १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकजना नेपाली पनि रहेको बताइएको छ । गल्फन्युजमा सार्वजनिक समाचारअनुसार १० जनामध्ये एक जना नेपाली पनि छन् । जसमा आँखा छोपिएको अवस्थामा तस्वीर पनि सार्वजनिक छन् । तर, अन्य परिचय भने खुलाइएको छैन । युएईका महान्यायाधिवक्ता हमाद ...
। मध्यपूर्वमा जारी तनावबीच कतारको दोहास्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन आग्रह गरेको छ । दोहास्थित नेपाल दूतावासले शनिबार एक विशेष अनुरोध जारी गर्दै ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसा आवेदन दिन भनेको हो । दूतावासको सूचना अनुसार, साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल जान चाहने कतार आइडी भएका नेपालीले आवेदन दिन सक्नेछन् । थन ...