: थाइल्यान्ड (थाई) अदालतले शुक्रबार पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राविरुद्ध लगाइएको शाही अपमान र देशद्रोहको आरोप खारेज गरेको छ।
यो आरोप २०१५ मा निर्वासनमा रहँदा थाक्सिनले दक्षिण कोरियाली पत्रिकालाई दिएको अन्तर्वार्तासँग सम्बन्धित छ। दोषी ठहरिएमा उनलाई १५ वर्षसम्मको जेल सजाय हुने थियो।
अन्तर्वार्तामा उनले थाइल्याण्डको शीर्ष शाही सल्लाहकार निकाय प्रिभी काउन्सिललाई २०१४ को सैन्य विद्रोहमा सहयोग गरेको आरोप लगाएका थिए।
यसै विद्रोहमा उनकी बहिनी यिंगलक शिनावात्राको सरकार अपदस्थ गरिएको थियो।
थाइल्याण्डको लेसे–मजेस्टे कानुनले राजतन्त्रको आलोचना वा अपमान गर्नुलाई अपराध बनाउँछ।
तर आलोचकहरूले यो प्रायः कार्यकर्ता र राजनीतिक विरोधीलाई लक्षित गर्न प्रयोग गरिने गरेको आरोप लगाएका छन्।
थाक्सिनकी छोरी तथा निलम्बित प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्रा पनि अदालती कारबाहीको सामना गरिरहेका बेला यो निर्णय आएको हो।