मुख्य समाचार
दक्षिण कोरियामा अन्तर्राष्ट्रिय शिक्षाको अभिलाषा बोकेर पुगेका हजारौं नेपाली विद्यार्थीको अहिले बिल्लीबाठ
दक्षिण कोरियामा अन्तर्राष्ट्रिय शिक्षाको अभिलाषा बोकेर पुगेका हजारौं नेपाली विद्यार्थीको अहिले बिल्लीबाठ

दक्षिण कोरियामा अन्तर्राष्ट्रिय शिक्षाको अभिलाषा बोकेर पुगेका हजारौं नेपाली विद्यार्थीको अहिले बिल्लीबाठ भएको छ । मेधावी विद्यार्थीहरूसमेत अवैध कामदारका रूपमा लुकेर बस्न विवश छन् । यो समस्या केही ठग कन्सल्टेन्सीहरूबाट उत्पन्न भएको हो । नेपालमा शैक्षिक परामर्श व्यवसाय एउटा अनियन्त्रित र नाफामुखी धन्दामा परिणत भएको छ । त्यसैको परिणाम आज विद्यार्थी बनेर गएका विद्यार्थी कोरियामा बिचल्लीमा परिरहेका छन् ।



‘लाखौं कमाइ’ र ‘भिसाको ग्यारेन्टी’ जस्ता भ्रामक विज्ञापन सामाजिक सञ्जालभरि देखिन्छन् । तिनमै युवाहरू सजिलै फस्छन् । तर कोरिया पुगेपछि विद्यार्थीले रोजेको विषय पढ्न पाउँदैनन्, बरु जबरजस्ती तेक्वान्दो सिक्ने कोर्समा दाखिला गरिन्छ । वर्ष दिनको शुल्क लिएर ६ महिनाका लागि मात्रै भर्ना गरिन्छ । यस्ता थुप्रै केसहरू नेपाली विद्यार्थीका भेटिएका छन् । यो केवल ठगीमात्रै होइन, ठूलो अपराध हो ।


यस्तै अपराधको चंगुलमा परेका नेपाली विद्यार्थी घोर मानसिक तनावबाट गुज्रिएका मात्रै छैनन्, तिनले जीवनै समाप्तसमेत गरेका छन् । पछिल्लो सात वर्षमा कोरियामा १ सय ४८ नेपालीको मृत्यु हुनु र ३७ जनाले आत्महत्या गर्नुका पछाडि यस्तै ठगी र अपराधको कारण लुकेको छ । रहरले कसैले देश छोड्दैन । गुणस्तरीय शिक्षा र रोजगारीको अभावले युवाहरूलाई बिदेसिन बाध्य छन् । यही बाध्यताको जगमा ठगहरूको व्यापार फस्टाएको हो । जब राज्यले आफ्ना युवालाई देशमै अवसर र भरोसा दिन सक्दैन, तब उनीहरू अन्धकारमा हाम फाल्न तयार हुन्छन् । जस्तो कोरियामा फालिरहेका छन् ।


त्यसो त विदेश भन्नासाथ आँखा चिम्लिएर कुदिहाल्ने प्रवृत्ति पनि कम्ता दोषी छैन । जाने देश कस्तो हो, त्यहाँ कस्ता विश्वविद्यालय छन् र तिनको स्तर के छ मात्रै होइन कि विद्यार्थी भएर जाँदा कमाइ गर्न पाइन्छ कि पाइन्न भन्ने बुझ्दै नबुझी जाने चलन छ । जसरी पनि विदेश भन्ने मनोभावना भएका युवालाई जो कोहीले प्रलोभनमा पारेर ठग्न सकिहाल्छ । चाँडै धेरै पैसा कमाइहाल्ने हतारो मानसिकताले जो गाँजेको छ ।

कोरिया गएर अलपत्र युवाका कारण देशको छविसमेत झन् कमजोर भएको छ । त्यसको अर्काे असर के पनि हुन सक्छ भने कोरियाले नेपालका नीति अब झन् कठोर नीति लिन सक्छ र सरकारी सम्झौताअनुसारको मजदुरीमा जानेहरूलाई पनि अप्ठेरो पर्न सक्छ । विद्यार्थी भिसामा कोरिया पठाउनेहरूमाथि शिक्षा मन्त्रालय र सम्बन्धित निकायले कडा अनुगमन गर्नुपर्छ । ठगी गर्नेलाई सामान्य कारबाही होइन, संगठित अपराधअन्तर्गत मुद्दा चलाएर कडा दण्ड दिनुपर्छ । सरकारले विद्यार्थीलाई सही सूचना दिने आधिकारिक संयन्त्र बनाउनुपर्छ ।

विदेशस्थित नेपाली दूतावासहरूमार्फत विभिन्न देशका विश्वविद्यालयको गुणस्तर र कानुनी प्रावधानबारे अध्यावधिक जानकारी उपलब्ध गराउन सकिन्छ । सँगसँगै विद्यार्थी र अभिभावक स्वयं पनि सचेत हुनुपर्छ । विदेश जानुअघि सम्बन्धित देशको भाषा, संस्कृति, कानुन र आफूले पढ्न चाहेको विषय तथा कलेजको आधिकारिकताबारे राम्रोसँग अनुसन्धान गर्नु अनिवार्य छ । कोरियामा छटपटाइरहेका नेपाली विद्यार्थीका सपनाहरू हाम्रो राष्ट्रिय अकर्मण्यताको सिकार बन्नु हुँदैन । सरकारले ठगहरूलाई कारबाहीको कठघरामा उभ्याउनुपर्छ । युवाहरू पनि विदेशको मृगतृष्णामा अन्धाधुन्ध दौडिनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवाको भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना गरिएको छ । मंगलबार बेलुका दीप प्रज्वलनसहित सुरु गरिएको स्मृति सभामा मृतकहरूको सम्झनामा मौन धारण गरिएको थियो । स्मृति सभामा हाल बेलायतमा अध्ययनरत युवा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । स्मृति सभालाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल सरकारले खोजी, उद्धार तथा ...
। नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । नेपालका बाढी पीडितको सहयोगका लागि समर्पित उक्त मेला हेर्न झण्डै १० हजार सहभागी भए । तमुधिं यूकेले बाढी पीडितका लागि आर्थिक संकलन सुरु भइसकेको र ...
। भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षामन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्। गत भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ...
। सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ । जेलमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै पूर्वी क्षेत्रमा ३७७ जना, केन्द्रीय क्षेत्रमा ३३४ जना ...