: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फोन कल चार पटक अस्वीकार गरेका छन्। जर्मन पत्रिका फ्रान्कफर्टर अल्जेमाइन जेइटुङले प्रकाशित गरेको रिपोर्टलाई उद्धृत गर्दै हिन्दूस्तान टाइम्सले अमेरिका र भारतबीच व्यापार तनाव बढ्दै गएपछि मोदीले ट्रम्पसँग कुराकानी गर्न नमानेको उल्लेख गरेको छ।
ʻट्रम्पले हालैका हप्तामा मोदीलाई चार पटक फोन गर्न खोजेका थिए। तर मोदीले फोन उठाउन मानेनन्,ʼ रिपोर्टमा भनिएको छ।
अमेरिकाले भारतमाथि २५ प्रतिशत कर लगाएको थियो। रुसी कच्चा तेल किनेको भन्दै थप २५ प्रतिशत अतिरिक्त शुल्क लगाएर अमेरिकाले भारतमाथि आजदेखि लागू हुने गरी ५० प्रतिशत कर लगाएको छ।
जापानको निक्केई एसियाले पनि यस्तै दाबी गर्दै भारत–अमेरिका सम्बन्ध चिसिँदै गएको उल्लेख गरेको छ।
निक्केई एशियाले भारतीय कूटनीतिक विज्ञहरूका भनाइ उद्धृत गर्दै लेखिएको छ, ʻट्रम्पले केही सहमति खोज्ने आशामा प्रधानमन्त्री मोदीलाई पटक–पटक फोन गर्न खोजेका छन्। तर मोदीले बारम्बार कुराकानी गर्न इन्कार गरेपछि ट्रम्पलाई झनै निराश बनाएको छ।ʼ
ट्रम्पले मोदीलाई वाशिङटन बोलाउने प्रयास गरेका छन्। तर भारतले पाकिस्तानका सेनाप्रमुखसँगको संयुक्त भेटप्रति आपत्ति जनाउँदै अस्वीकार गरेको बताइएको छ।
भारत सरकार र अमेरिकी पक्षबाट यसबारे कुनै औपचारिक प्रतिक्रिया आएको छैन।