मुख्य समाचार
इजराइलले पछिल्ला ७२ घण्टामा ६ देशहरूमा हमला
इजराइलले पछिल्ला ७२ घण्टामा ६ देशहरूमा हमला

। इजराइलले पछिल्ला ७२ घण्टामा ६ देशहरूमा हमला गरेको छ। यसमा गाजा (प्यालेस्टाइन) सहित सिरिया, लेबनान, कतार, यमन र ट्युनिसिया रहेका छन्। यी आक्रमणहरूमा २०० भन्दा बढीको मृत्यु भएको छ र १००० भन्दा बढी घाइते भएका छन्।

यी आक्रमण सोमबारदेखि बुधबारबीच भएका हुन्। इजराइलले यी देशहरूमा रहेका आतंककारी केन्द्रहरूलाई लक्ष्य बनाइरहेको जिकिर गरेको छ।

इजरायलको यो कदमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतन्याहूसँग असन्तुष्टि व्यक्त गरेका छन्।

तर नेतन्याहूले कतारको राजधानी दोहामा हमास अधिकारीहरूलाई लक्षित गरेर गरिएको भन्दै आफ्नो कदमको बचाउ गरेका छन्। उनले यसलाई ९/११ पछि अमेरिकाले गरेको कारबाहीसँग तुलना गर्दै भने, ‘इजराइलले पनि त्यही गरेको हो जुन अमेरिकाले गरेको थियो ।’

इजरायलको यो हमलाले अमेरिकाको भूमिकामाथि पनि प्रश्न उठेको छ । यसबीच अरब नेताहरू ऐक्यबद्धता जनाउन खाडी राष्ट्रको भ्रमण गर्दैछन्।

इजरायली आक्रमणबारे छलफल गर्न दोहामा आइतबार र सोमबार आपतकालीन अरब-इस्लामिक शिखर सम्मेलन हुने भएको हो ।

आक्रमणमा शीर्ष वार्ताकारहरू सबै सुरक्षित रहे, तर निर्वासित गाजाका प्रमुख खलील अल-हय्याका छोरासहित पाँच हमास सदस्य मारिएका थिए।

कतारी प्रधानमन्त्रीले भनेका छन्, ‘नेतन्याहूले दोहामाथि हवाई आक्रमण गर्ने आदेश दिएर गाजामा रहेका सबै इजरायली बन्दीहरूलाई मुक्त गर्ने सम्झौतामा सबै आशा नै मारिदिएका छन्।’

कहाँ कति मारिए ?

इजरायली सेनाले मंगलबार कतारको राजधानी दोहामा हवाई आक्रमण गरेको थियो। यो हमला हमासका प्रमुख खलील अल-हय्यालाई लक्ष्य गरेर गरिएको इजरायलले जिकिर गरेको छ।

यो हमलामा अल-हय्याको छोरा, अफिस निर्देशक, तीन जना गार्ड र एक जना कतारी सुरक्षा अधिकारीसहित ६ जनाको मृत्यु भएको थियो।

यो आक्रमणको समयमा हमास नेताहरू अमेरिकाको युद्धविराम प्रस्तावबारे छलफल गरिरहेका थिए। हमलापछि हमासले युद्धविराम अस्वीकार गर्‍यो।

उता,इजराइलले सोमबार पूर्वी लेबनानका बेका र हरमेल जिल्लामा गरेको हवाई हमलामा ५ जनाको मृत्यु भएको छ। इजरायली सेनाको दाबी अनुसार, यी आक्रमणमा हिज्बुल्लाहका सैन्य केन्द्रहरूलाई निशाना बनाइएको हो। तर हिज्बुल्लाहले कुनै प्रतिक्रिया दिएको छैन।

मंगलबार पनि इजरायली ड्रोनले हिज्बुल्लाहका एक सदस्यमाथि आक्रमण गरेको थियो। नोभेम्बर २०२४ मा इजराइल र लेबनानबीच युद्धविराम भए तापनि त्यसपछि पनि इजराइलले दक्षिणी लेबनानमा आक्रमण गरिरहेको छ।

त्यस्तै, अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूका अनुसार, इजरायली फाइटर जेटले सोमबार सिरियाको एयरफोर्स बेस र सैन्य क्याम्पमाथि हमला गर्‍यो। सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स अनुसार यस आक्रमणमा कुनै हताहत भएको जानकारी छैन।

सिरियाको परराष्ट्र मन्त्रालयले यसलाई देशको सार्वभौमिकतामाथि आक्रमण भन्दै निन्दा गरेको छ। उसले भनेको छ– इजराइल राष्ट्रिय र क्षेत्रीय सुरक्षाका लागि खतरा हो।

सन् १९७४ मा सिरिया र इजराइलबीच भएको सैन्य फिर्ती सम्झौताअनुसार एकअर्कामाथि आक्रमण नगर्ने सहमति भएको थियो। तर गत डिसेम्बरमा पूर्व राष्ट्रपति बशर अल-असद पतन भएपश्चात इजराइलले निरन्तर सिरियाका सैन्य केन्द्र र पूर्वाधारलाई निसाना बनाइरहेको छ।

यस वर्ष मात्रै इजराइलले सिरियामाथि ८६ वटा हवाई आक्रमण र ११ वटा स्थलगत हमला गरिसकेको छ। यसमा ६१ जनाको मृत्यु भएको छ र १३५ स्थानहरूलाई लक्षित गरिएको छ।

ट्युनिसिया र यमनमा पनि हमला

इजरायली ड्रोनले सोमबार राति ट्युनिसियाको बन्दरगाहमा एउटा पारिवारिक डुङ्गामाथि हमला गर्‍यो। उक्त जहाजमा ६ जना सवार थिए, जसले पोर्तुगाली झन्डा बोकेका थिए। जीएसएफका अनुसार यस आक्रमणमा कुनै मृत्यु भएको छैन।

मंगलबार पनि इजरायली ड्रोनले बेलायती झण्डा बोकेर यात्रा गरिरहेको अर्को जहाजलाई लक्ष्य बनाएको थियो। सन् २०१० देखि गाजाको क्षेत्रमा छिर्ने प्रयास गर्ने जहाजमाथि इजरायली ड्रोन आक्रमण गर्दै आएको छ।

उता, इजराइलले बुधबार यमनको राजधानी सानामाथि १५ दिनभित्र दोस्रो आक्रमण गर्‍यो। यसमा हूथी विद्रोहीका ठेगानाहरूलाई निशाना बनाइएको थियो। यो हमला साना विमानस्थलमा गरिएको थियो।

यसअघि २८ अगस्टमा इजराइलले सानामाथि आक्रमण गर्दा हूथी प्रधानमन्त्री अहमद अल-रहावीसहित १० जनाको मृत्यु भएको थियो र ९० जना घाइते भएका थिए।

त्यस्तै, सोमबार गाजामा इजरायली आक्रमणका कारण करिब १५० जनाको मृत्यु भएको छ र ५४० जना घाइते भएका छन्।

सन् २०२३ देखि अहिलेसम्म गाजामा कुल ६४,६०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन्। गाजामा भोकमरीका कारण ४०० जनाको मृत्यु भइसकेको छ र हजारौँ मानिस भग्नावशेषमा पुरिएर मरेका छन्। गाजाको करिब ७५ प्रतिशत भूभाग अहिले इजरायलको कब्जामा छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चिनियाँ राष्ट्रपति सी चिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबिच ‘महत्त्वपूर्ण सहमति’ भएको छ। दुवै देश क्षेत्रीय एवं विश्वव्यापी शान्ति रक्षाका लागि मिलेर अघि बढ्न सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर फर्केका छन्। त्यसपछि उनले एक धन्यवाद सन्देश पठाएका थिए। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले ...
। इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए । अमेरिकी आक्रमणपछि इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ । यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने ...
। इरानले अमेरिकी ‘एमक्यू-९ रिपर’ ड्रोन खसालेको दाबी गरेको छ। इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो हमला दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको हो। सामाजिक सञ्जालमा ड्रोन खसालिएको भनिएको एउटा भिडियो पनि बाहिर आएको छ। यद्यपि, अमेरिकी सेनाको तर्फबाट एमक्यू-९ ड्रोन खसालिएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएसँगै यो ...
। ‘स्टोनहेन्ज’ बेलायतको एक प्रख्यात प्रागैतिहासिक स्मारक हो। यस स्मारकको केन्द्रमा ६ टन तौलको विशाल ढुङ्गा छ। यसलाई ‘अल्टर स्टोन’ भनिन्छ। पुरातन मानवहरूले यस ढुङ्गालाई सयौँ किलोमिटर टाढा स्कटल्यान्डबाट ओसारपसार गरेका थिए। एउटा नयाँ वैज्ञानिक अनुसन्धानले यो कुरा पुष्टि गरेको छ। यो अध्ययन अस्ट्रेलियाको कर्टिन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको हो। यस अध्ययनले हजारौँ वर्ष अघिको मानव ...
। क्यानडाको एयरलाइन एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको भरमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोप लागेको छ। डेपुटी चिफ निक मिलिनोविचका अनुसार, आरोपीले हजारौँ यात्रुहरूको सुरक्षालाई खतरामा पारेका छन्। प्रहरीका अनुसार वालमाथि ५ हजार डलरभन्दा बढीको ठगी, सार्वजनिक उपद्रव, नक्कली कागजात प्रयोग गरेको र नक्कली प्रमाण चिह्न राखेको लगायत थुप्रै आरोपहरू लगाइएको छ। ५९ ...