: जेनजीको प्रदर्शनको क्रममा नेपालका विभिन्न कारागारबाट फरार भएका ७ जना कैदीबन्दीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवन कारागारबाट फरार भएका सवारी अंगभंग मुद्दाका भारतका २४ वर्षीय अब्बास खान, लागुऔषध मुद्दाका ४८ वर्षीय अनिल गिरी, लागुऔषध मुद्दाकै ४१ वर्षीय राजपाल सिंह र सवारी ज्यान मुद्दाका ३८ वर्षीय मोनु कश्याब रहेका छन्। यी सबै भारतीय नागरिक हुन्।
त्यस्तै नवलपरासी कारागारबाट फरार बहुविवाह मुद्दाकी कैदी रुपन्देही सैनामैना नगरपालिका-७ को ५२ वर्षीय करिस्मा रानालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस्तै केन्द्रीय कारगारबाट काठमाडौंबाट फरार भएका तान्जानियाका लागुऔषध मुद्दाका ५३ वर्षीय रामाधनी सिम्बा म्वाबुम्बा र सोही देशका लागुऔषध मुद्दा ४७ वर्षीय त्वालिब किपेभु पशहुआलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।