: जलेश्वर कारागारबाट फरार भएका कैदीबन्दीहरुले सिसिटिभी क्यामेरा समेत चोरी गरेको कारागार प्रशासनले जनाएको छ। भदौ २५ गते कारागारबाट भाग्ने क्रममा कैदीबन्दीहरुले कारागारमा जडान भएका ७ थान सिसिटिभी क्यामेरा चोरी गरेको कारागार प्रशासक अशोककुमार क्षेत्रीले जानकारी दिएका छन्।
कारागार प्रशासक क्षेत्रीका अनुसार कैदीहरू ३ वटा गेट तोडेर फरार भएका थिए। केही कैदीबन्दीले त्यहाँ जडान गरिएका ७ थान सिसिटिभी क्यामेरा चोरी गरेको प्रशासक क्षेत्रीले बताए।
यस्तै भागेकामध्ये १७३ जना कैदीबन्दी कारागार फर्किएको कारागारका सूचना अधिकारी रविनचन्द्र ठाकुरले बताए। बाँकी कैदीबन्दी पनि सम्पर्कमा आएकाले क्रमिक रूपमा कारागारमा आउने ठाकुरले जानकारी दिए।
सोहीदिन कारागारबाट फरार भएका पूर्वप्रदेश सभा सदस्य एवं लोकतान्त्रिक समाजवादी पार्टीका नेता कौशलकुमार यादव सम्पर्कविहीन अवस्थामा रहेको कारागार प्रशासनले जनाएको छ। यादवमाथि थमन विक हत्याको आरोप लागेको छ। उनी सोही आरोपमा जलेश्वर कारागारमा जेलजीवन बिताउँदै आएका थिए।