— जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते मधेश प्रदेका ३ जिल्लाबाट ५० जना भारतीय कैदी कारागार भागेका छन् । हत्या, हातहतियार खरखजना, डकैती, लागूऔषध, खोटा मुद्दा, अपहरण तथा शारीरिक बन्धक र जबर्जस्ती करणी मुद्दामा अदालतबाट कैद सजाय पाएकाहरू भागेका हुन् ।
पर्सा, सर्लाही र सिरहा कारागारबाट एक जना पनि कैदी भाग्न पाएनन् । धनुषा र बारामा भने कारागार छैन ।
रौतहटको गौर कारागारबाट १७ जना भारतीय कैदी फरार भएका थिए । तीमध्ये ५ जनालाई भारतीय सीमासुरक्षा बलले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको थियो । अहिले पनि १२ जना फरार रहेको कारागार प्रमुख मनिष झाले जानकारी दिए । गौर कारागारमा २९१ कैदीबन्दी थिए । तीमध्ये २६४ जना कारागारको ढोका फोरेर भागेका थिए । अहिले ८६ जनालाई प्रहरीले कारागार ल्याइसकेको छ । केही पक्राउ परे, केही आफैं सम्पर्कमा आएका छन् । भारतीयसहित अझै १७८ जना कैदीको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले बताए ।
महोत्तरी कारागारबाट भागेका ३९ भारतीय कैदीमध्ये ४ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । ३५ जना अझै फरार रहेको महोत्तरी कारागार प्रशासनले जनाएको छ । उनीहरु बिभिन्न अपराधमा जेल सजाय पाएकाहरु हुन् । महोत्तरी कारागारमा ५७६ कैदी बन्दिहरु थिए । आन्दोलनको आडमा ५७६ जना फरार भए । प्रहरी नियन्त्रण र आफैं हाजिर भएकाहरू १९८ जना कैदी पुगेको कारागार प्रशासनले जनायो ।
भागेका ५ भारतीय कैदीमध्ये ४ जना पक्राउ परेका छन् । सप्तरी कारागारबाट भागेकामध्ये ५ जना भारतीय छन् । तीमध्ये २ जनालाई नियन्त्रणमा लिइसकेको छ, ३ जना अझै फरार छन् । सप्तरी कारागारमा ३९८ कैदी मध्ये २०५ जना भागेका थिए । तीमध्ये अहिलेसम्म ८४ जना फेला पारिसकेको जिल्ला प्रहरी सप्तरीको एसपी गौतमकुमार केशीले जानकारी दिए । ‘हामी अझै सम्भावित स्थानमा खोजलतास गर्दैछौँ,’उनले भने,‘भागेकाहरू घरमा छैनन् । जहाँ लुकेर बसेको भए पनि पक्रन्छौँ ।’ सप्तरी फ्रहरीले झुम्का कारागारबाट भागेका ९ र नख्खुबाट भागेका १ जनालाई पक्राउ गरेको एसपी केशीले बताए ।
कारागार कार्यालय गौर रौतहटबाट भागेका कैदीबन्दी आफैं सम्पर्कमा नआए तोकिएको सजायमा थप ५ वर्ष कैद सजाय हुने जिल्ला प्रहरीले सूचना निकालेको छ । प्रहरीले यही मंगलबार सूचना प्रकाशन गर्दै भदौ २४ गते कारागारबाट फरार भएका कैदीबन्दी कतिपय सम्पर्कमा आएको र अन्य सम्पर्कमा नआएकाले नजिकको प्रहरी कार्यालय वा कारागार कार्यालय गौरमा सम्पर्कमा आउन भनेको छ । सम्पर्कमा नआई भागेकालाई कारागार ऐन २०७९ को दफा ४९ को (ग) बमोजिम तोकिएको सजायमा थप ५ वर्षसम्म कैद सजाय हुने सूचनामा उल्लेख छ ।
चैत ३,२०८० चैत ३ गते परोहा नगरपालिका–९ खापचोकस्थित शिव मनी ट्रान्सफरका सञ्चालक नितेष साहलाई गोली हानेर भाग्ने क्रममा पक्राउ परेका प्रहरीले भारत बिहारस्थित चैनपुरका मुनिष भन्ने मुनिफकुमार यादव, राधा भन्ने राजकुमार पासवान र चुनुकुमार सिंह भन्ने चन्द्रभान सिंहलाई २ थान हतियार र गोलीसहित पक्राउ गरेको थियो । उनी तीनैजना आन्दोलनको आडमा कारागारको ढोका फोरेर भागेका थिए । तीमध्ये मुनिफकुमारलाई प्रहरीले सीमाक्षेत्रबाट पक्राउ गरेको छ ।