— जेन-जी आन्दोलनका कारण सरकारी संरचना ध्वस्त भई आधारभूत सेवा अवरुद्ध बनेको भन्दै उपभोक्ता जागरण अभियान नेपालले तत्काल वैकल्पिक व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।
राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली र सचिव जनक कटवालद्वारा जारी विज्ञप्तिमा नागरिकता, राहदानी, चालक अनुमतिपत्र र अचल सम्पत्ति सिफारिस जस्ता अत्यावश्यक सेवा वैकल्पिक माध्यमबाट उपलब्ध गराउन, ज्येष्ठ नागरिक भत्ता नवीकरणको म्याद बढाउन र राष्ट्रिय परिचयपत्रको अनिवार्यता तात्कालिक रूपमा स्थगन गर्न माग गरिएको छ ।
अभियानले चाडपर्व नजिकिँदै गर्दा कालोबजारी र महँगी रोक्न विशेष संयन्त्र बनाउन, क्षतिग्रस्त सरकारी भवनका कागजात र सर्भर नष्ट भएकाले अनलाइन सेवा पुनःस्थापना गर्न सरकारलाई तत्काल पहल गर्न आग्रह गरेको छ ।
विज्ञप्तिमा सिंहदरबारदेखि प्रदेश सरकारका कार्यालय, प्रहरी मुख्यालयसम्मका महत्त्वपूर्ण भवन जलेर नष्ट हुँदा सर्वसाधारणको जनजीवन कष्टकर बनेको उल्लेख छ ।