: विसं २०४६ मा प्रजातन्त्र पुनर्स्थापना लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइएको छ।
गणेशमान स्मृति दिवसका अवसरमा बिहीबार कांग्रेस नेता प्रकाशमान सिंह लगायतले शोभाभगवतीस्थित गणेशमानको सालिकमा माल्यार्पण गरेका थिए। सो अवसरमा कांग्रेस नेता सिंहले नेपालको परिवर्तनमा गणेशमान सिंहले खेलेको योगदानको स्मरण गरे।
त्यस्तै उनले जेनजी युवाहरूले गरेको आन्दोलनमा घुसपैठ गरेर राजनीतिक दलले देशका लागि गरेको योगदानलाई मास्ने काम भएको आरोप लगाए।
जेनजी आन्दोलनको छानबिन गर्नुपर्ने उनले बताए। उनले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक छिटै बस्ने र जनताको चाहना अनुसार पार्टीलाई अघि बढाउने धारणा राखे।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता गणेशमान सिंहको निधन २०५४ साल असोज २ गते भएको हो।
विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित सिंहले २०४६ सालको आन्दोलनमा महत्त्वपूर्ण योगदान गरेका थिए। कम्युनिस्ट पार्टीसँग मिलेर पञ्चायतविरुद्ध जनआन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनको सर्वोच्च कमान्डर थिए।