: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ʻप्रचण्डʼले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकता खोजेको बताएका छन्। संविधान दिवसका अवसरमा शुभकामना दिँदै उनले संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नु सबैको कर्तव्य भएको बताएका हुन्।
नेपालको संविधानले दश वर्ष पूरा गरेको भन्दै अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनसम्म आइपुग्दा संविधानको निरन्तरतामा अझ विस्तार र परिमार्जन मागेको उल्लेख गरे।
उनले भने,ʻयतिखेर धुलो हेरेर निराश हुने छुट हामीलाई छैन, धुलो टक्टक्याएर हामीले निर्माणको क्षमता र इच्छाशक्ति देखाउनु छ। अहिले सबैभन्दा उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्न म सम्पूर्ण पार्टी पंक्ति र जनसमुदायलाई हार्दिक आव्हान गर्दछु। देश र जनताप्रतिको हाम्रो निष्ठा र प्रतिबद्धता पुनर्निर्माणमा देखिनुपर्छ त्यसका साथै २३ र २४ गतेका घटनाहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माग गर्दछु।ʼ
अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनलाई समयमै विवेकपूर्वक सम्बोधन गर्न नसक्दा मुलुक निकै तरल अवस्थामा प्रवेश गरेको उल्लेख गरे। १० वर्षअघि माओवादी केन्द्रले दर्ज गरेका फरक मत र अहिले जेन–जी आन्दोलनले राखेका मागमा समानता रहेको स्मरण गरे। उनले आफूहरूले असहमतिलाई लिखित फरक मतका रुपमा इतिहासको अदालतमा दर्ज गरेको बताए।
उनले भने,ʻअहिले जेनजीले मागेको प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो त्यतिबेलैको सबैभन्दा मुख्य फरक मत थियो। पैसाको खोलो बग्ने र भुइमान्छेले चुनाव लड्ने कल्पनै गर्न नसक्ने अहिलेको निर्वाचन प्रणाली हामीले भत्काउन चाहेका थियौँ। हामी पूर्ण समानुपातिक निर्वाचन प्रणालीका पक्षमा थियौँ।ʼ
अध्यक्ष प्रचण्डले सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन लगायतका संरचनामा देशव्यापीरुपमा तोडफोड, लुटपाट र आगजनीले देश इतिहासकै गम्भीर संकटमा परेको बताए।