मुख्य समाचार
मन्त्री कुलमान घिसिङले बजार अभाव देखाएर विद्युत उत्पादनलाई रोक्न नहुने बताएका छन्
मन्त्री कुलमान घिसिङले बजार अभाव देखाएर विद्युत उत्पादनलाई रोक्न नहुने बताएका छन्

: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले बजार अभाव देखाएर विद्युत उत्पादनलाई रोक्न नहुने बताएका छन्।


बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नवनियुक्त ऊर्जामन्त्री घिसिङलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो मागहरु पेश गरेपछि उनले देशको लागि अझै धेरै बिजुली आवश्यक रहेको बताएकोले उत्पादन रोक्न नहुने बताएका हुन्।


‘देशका लागि अझै धेरै बिजुली चाहिएको छ, २०/३० हजार मेगावाट बिजुली चाहिन्छ, निजी क्षेत्रले लगानी गर्यो भने सरकारले लगानी नै गर्नुपरेन’, उनले भने,‘बिजुलीको बजार छैन भन्ने होइन, बजार सिर्जना गर्ने हो। अहिले उत्पादन रोक्न तिर लाग्यौ भने १० वर्षपछि ठूलो समस्या झेल्नुपर्छ।’


इप्पान अध्यक्ष गणेश कार्कीले पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले बिजुलीको बजार नभएको भन्दै लामो समयदेखि विद्युत खरिद सम्झौता (पीपीए)नै रोकिराखेको बताउँदै निजी क्षेत्रका लगानीकर्ताको मनोबल उच्च बनाउने गरी लगानी गर्ने वातावरण बनाउन मन्त्री घिसिङलाई आग्रह गरेका थिए।

यसबारे प्रतिक्रिया दिँदै मन्त्री घिसिङले निजी क्षेत्रलाई अझ बढी लगानीका लागि प्रोत्साहन गरिने बताए।‘नियमावली निर्देशिका परिवर्तन भए हामी मन्त्री परिषदबाटै गर्छौ, ऐन नै परिवर्तन गर्नुपरे पनि अध्यादेशबाट गर्छौ।’

उनले ऊर्जा लगायतका पूर्वाधार क्षेत्रको विकासका लागि वन क्षेत्रको समस्या समाधान नगरेमा असम्भव देखिएको बताउँदै यसका लागि प्रधानमन्त्रीसँग सल्लाह गरेर नियमावली, निर्देशिकादेखि ऐन संशोधनसम्मको काम अघि बढाउने बताए।

मन्त्री घिसिङले ऊर्जा, पूर्वाधार लगायतका क्षेत्रमा वनसँग ठोक्किने ठोस समस्या र समाधानका उपायसहित अघि बढ्न पनि इप्पानलाई आग्रह गरे। भेटमा मन्त्री घिसिङले आफू केही न केही परिवर्तन गर्ने हुटहुटीसहित मन्त्री नियुक्त भएको भन्दै निर्णय गर्ने ठाउँमा आइसकेपछि यो वा त्यो भनेर समस्याबाट नभाग्ने स्पष्ट पारे।

उनले पीपीए, आरसीओडी म्याद थप, कन्टीजेन्सी लगायतबारे आफूहरू जानकार रहेको बताउँदै समस्या समाधानका लागि पहल गर्ने बताए। भेटघाट कार्यक्रममा इप्पान अध्यक्ष कार्कीले ऊर्जा क्षेत्रको विकासका लागि मन्त्रालय, विद्युत विकास विभाग र नेपाल विद्युत प्राधिकरणले गर्नुपर्ने कामहरुबारे बुँदागत रुपमा बताएका थिए।

जसमा ऊर्जा मन्त्रालयले गर्ने कामहरुमा वन मन्त्रालयसँग सम्बन्धित इआईए/आइईईमा सहजीकरण गर्नुपर्ने, विद्युत खपत वृद्धिको योजना ल्याउनुपर्ने, प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने, विद्युत नियमन आयोगले स्वीकृत दिइसकेपछि पनि लामो समयदेखि धितोपत्र बोर्डमा रोकिएका जलविद्युत कम्पनीको सेयर यथाशिघ्र निष्कासनका लागि पहल गर्नुपर्ने र विद्युत व्यापारमा निजी क्षेत्रलाई बाटो खुलाउनुपर्ने लगायतका मागहरु रहेका थिए।

त्यस्तै विद्युत विकास विभागले गर्नुपर्ने कामहरुमा विद्युत ऐन २०४९ अनुसार नै अनुमतिपत्रको अवधि ५० वर्ष पुर्‍याउनुपर्ने, उत्पादन अनुमतिपत्रको समय आरसीओडीसँग मेल खाने गरी अनुमति दिने व्यवस्था गर्नुपर्ने र जथाभावी दण्ड जरिवानालाई निरुत्साहित गरी अनुमतिपत्र सम्बन्धी निर्देशिका संसोधन गर्नुपर्ने लगायतका मागहरु थिए।

निजी क्षेत्रले धेरै ठोक्किनुपर्ने विद्युत प्राधिकरणले गर्नुपर्ने कामहरुमा अहिलेसम्म कनेक्सन एग्रिमेण्ट र पीपीएका लागि आवेदन दिएका आयोजनाहरुको पीपीए अघि बढाउनुपर्ने, आरसीओडी म्याद ३ बर्ष थप गर्नुपर्ने, १० मेगावाटसम्मका आयोजनाको पीपीए तुरुन्तै अघि बढाउनुपर्ने, कन्टिन्जेन्सी व्यवस्था खारेज गर्नुपर्ने, हाइड्रोलोजी पेनाल्टी खारेज गर्नुपर्ने, इनर्जी टेबल परिमार्जन गर्ने व्यवस्था गर्नुपर्ने र निर्माणमा रहेका आयोजनाको क्षमता २५ प्रतिशतसम्म वृद्धि हुँदा बढी क्षमतामा क्यूमा नबसी स्वत पीपीए हुने व्यवस्थालाई निरन्तरता दिनुपर्ने लगायतका मागहरु समावेश गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले राजनीतिक दलको कार्यालय र नेताहरुको निजी निवासमा भएको आगजनीप्रति गम्भीर आपत्ति जनाएका छन्। देउवाको सचिवालयले विज्ञप्ति जारी गरेर आपराधिक क्रियकलापमा संलग्नलाई कारबाही गर्न माग गरेको छ। 'जेनजीको आन्दोलनलाई धमिलो बनाई आ-आफ्नो कुत्सित मनसाय पूरा गर्ने विभिन्न समूहहरूले २४ गते बिहानैदेखि अकल्पनीय ढंगको आतङ्क सिर्जना गर्ने, राजनीतिक दलको कार्यालय र ...
: सभामुख देवराज घिमिरेले आजको नेपाली जनताले संविधानविरोधी गतिविधिलाई समयमा नै बुझ्न सकेमात्रै संविधानको रक्षा र विधिको शासनको प्रवर्द्धन हुने विश्वास व्यक्त गरेका छन्। संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले संविधान घोषणाको एक दशक पुग्न १० दिन ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान नेपाली जनताले पटकपटक गरेको क्रान्ति, संघर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि बताएका छन्। संविधान दिवसका अवसरमा आज जारी गरेको सन्देशमा उनले मुलुकमा लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका लागि भएका ऐतिहासिक क्रान्ति, संघर्ष र जनआन्दोलनको उपलब्धिस्वरुप संविधानसभाबाट संविधान जारी भएको उल्लेख गरेका हुन्। यस अवसरमा सभापति देउवाले आफ्नो जीवन ...
: उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक अंग तथा निकायमा समावेशी सिद्धान्तको पूर्ण पालना गर्नु सबै पक्षको सक्रियता एवं प्रतिबद्धता अपरिहार्य हुने बताएका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले मौलिक हकहरूको अक्षरशः कार्यान्वयन, संघीय संरचनाको सुदृढीकरण, शक्ति–स्रोतको न्यायोचित बाँडफाँट र प्रदेश तथा स्थानीय तहलाई संविधानसम्मत अधिकारसम्पन्न ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानमाथि ठूलो आक्रमण भएको बताएका छन्। संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले यतिबेला नेपालको संविधानमाथि ठूलो आक्रमण भएको बताएका हुन्। उनले भने, ‘हामी यतिबेला हाम्रो संविधानमाथि ठूलो आक्रमण भएको अवस्थामा छौँ। प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ। नेपालको नक्सा जलाइएको छ। देशको निशानी मेटाउन खोजिएको छ। ...