— कानुन अनुसार असार १० भित्र बजेट ल्याउन नसकेको धरान नगरपालिकाले अन्तत: बजेट पास गरेको छ । छैठौ पटक बसेको कार्यपालिका बैठकले असोज ४ गते अर्थात शनिबार १७ औ नगरसभा बस्ने निणर्य गरेको छ ।
बिहिबार बसेको कार्यपालिका बैठकबाट चालु आर्थिक बर्ष २०८२/८३ को नीती तथा कार्यक्रम र बजेट पास गरेको हो ।
बैठकमा स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले निर्धारण गरेको चालु आर्थिक बर्षको लागी २ अर्ब २० करोड ७४ लाख ५९ हजार बजेट सर्वसम्मत पारित भएको छ भने १७ औ नगरसभाको उद्घाटन् असोज ४ गते आहृान गर्ने निणर्य गरेको छ ।
यसअघि भदौ २६ मा नगरसभा गर्ने निर्णय भएपनि जेन-जी आन्दोलनको क्रममा धरानमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनाले नगरसभा अन्योल बनेको थियो । बैठकमा मेयर हर्क साम्पाङले बाँकी रहेका ९ बटा एजेण्डा प्रस्तुत गरेका थिए । बैठकमा नीति तथा कार्यक्रम संशोधनसँगै राजश्व पुनरावलोकनबारे, बसपार्क सञ्चालनबारेको प्रतिवेदन, सडक उपयोग सेवा शुल्कको ठेक्का , दररेट लगायतका बाँकी रहेका एजेन्डाहरु पारित भएको छ । बैठकमा नगरसभा शनिबार बिहान ८ बजे धरान उपमहानगरपालिकाको परिसरमा गर्ने निणर्य गरिएको हो ।
बैठकमा मेयर साम्पाङले बिपद् कोषमा छ्ट्टुाएको ३ करोडबाट फोहोर मैला उठाउनका लागि मिनि टिप्पर किन्नको लागि १ करोड छुट्टाउन राखेको प्रस्ताव पनि कार्यपालिकाबाट सर्वसम्मत पारित भएको छ । त्यस्तै भाद्र २३ र २४ गतेको जेन– जी आन्दोलनको क्रममा शहादत प्राप्त गरेका धरान उपमहानगरपालिका वडा नम्बर ५ आमटार चौरी निवासी साजन मेवाहाङ्ग राईका दुई नाबालक छोराहरुको पठन पाठन लागि राहत स्वरुप उनीहरुको नाममा खाता खोली ५ लाख रुपैयाँ सहयोग गर्ने निणर्य गरिएको छ ।
त्यस्तै अतुलनिय संकटको बेला धरान १० स्थित पुतली लाईनमा रहको भाटभटेनीमा जेन-जी आन्दोलनको क्रममा अराजक समुहले लगाएको आगो नियन्त्रणमा ल्याउन दिन रात खटेर सहयोग गर्ने धरानका बारुण यन्त्रका नगरप्रहरी लाई पनि सम्मान गरिने निणर्य गरिएको छ ।
नेपालको संविधान स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय सरकारले असार मसान्त भित्रमा बजेट निर्माण गरी पास गरिसक्नु पर्ने कानूनी व्यवस्था छ । तर अन्तिम समयमा पनि नगर सभाबाट प्रस्तावित विनियोजन विधेयक र बजेट पारित हुन नसक्दा श्रावण १ गतेबाट बाट धरान उपमहानगरपालिकाको बजेट कानुनी रूपमै बजेटविहीन बनेको थियो । धरानको बजेट शुन्य भएसंगै दुई महिना देखि आर्थिक कारोबार पूर्ण रुपमा ठप्प छ ।