मुख्य समाचार
शिक्षकको विकल्प एआई बनाउन काम गरिरहेका चिनियाँ उद्यमी
शिक्षकको विकल्प एआई बनाउन काम गरिरहेका चिनियाँ उद्यमी

शाङ्घाईमा जुलाईको दिउँसोको गर्मी, दर्जनौं चिनियाँ विद्यार्थीहरू ट्याबलेटको स्क्रिनमा निहुरिएर अंग्रेजी, गणित र भौतिकशास्त्रका पाठ पढ्न तल्लीन छन्। एल्गोरिदमले हरेक टाइप ट्र्याक गर्छ, प्रत्येक प्रश्नबारे सोच्न खर्चिएको समयको समेत हिसाब गर्छ ।

उनीहरूको गतिविधिलाई दुई जना शिक्षण सहायकहरू शान्त रूपमा बसेर हेरिरहेका हुन्छन् । उनीहरू आवश्यक परे मात्र बालबालिकाको अध्ययन प्रक्रियामा हस्तक्षेप गर्छन्।

४७ वर्षीय चिनियाँ एजु-टेक कम्पनी स्क्वायरल एआई लर्निङका संस्थापक डेरेक लीका लागि यो नै शिक्षाको भविष्य हो । उनी विद्यार्थीको ज्ञानमा भएका खाली ठाउँहरू पत्ता लगाउन, प्रगति नाप्न र तत्कालै पाठलाई समायोजन गर्न सक्ने कृत्रिम बुद्धिमत्ताद्वारा सञ्चालित अनुकूलनयोग्य यस्तो सफ्टवेयरलाई स्वचालित ड्राइभिङसँग तुलना गर्छन्, जहाँ कम्प्युटरले न्यूनतम मानवीय निगरानीमा मुख्य कामहरू सम्हाल्छ ।

‘तपाईंले पुरानो पद्धति निरन्तर पछ्याउन सक्नुहुन्न,’ ली भन्छन्। उनले यस वर्ष जनवरीमा आफ्ना १४ वर्षीय जुम्ल्याहा छोराहरूलाई शाङ्घाईको प्रतिष्ठित निजी विद्यालयबाट निकालेर आफ्नै कम्पनीको प्लेटफर्म प्रयोग गरी घरमै पढाउन थाले । उनले थपे, ‘हामीले बनाइरहेको मोडेल साँच्चै अभूतपूर्व छ ।’



विश्वभर शिक्षा क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तीव्रगतिमा बढ्दैछ। अमेरिकामा ओपनएईले क्यालिफोर्निया स्टेट युनिभर्सिटी प्रणालीसँग साझेदारी गरेर ५ लाख विद्यार्थी र शिक्षकहरूलाई आफ्नो सफ्टवेयर उपलब्ध गराएको छ। अल्फाबेट इन्कको गुगगले पनि सार्वजनिक विद्यालय र विश्वविद्यालयहरूसँग सम्झौता गरेको छ। ग्रान्ड भ्यू रिसर्चका विश्लेषकहरूले सन् २०३० सम्म शिक्षामा एआईको विश्व बजार ३२ अर्ब डलरभन्दा बढीको हुन सक्ने अनुमान गरेका छन् ।



चीनमा लगातार शैक्षिक दबाबले स्क्वायरलको व्यवसायलाई बल दिइरहेको छ, जहाँ कठोर गाओकाओ (कठिन चिनियाँ परीक्षा प्रणाली) विश्वविद्यालय प्रवेश परीक्षामा सफलता प्राप्त गर्नु भविष्यको करिअरको बाटो खुल्नु र सामाजिक गतिशीलताको निर्धारण हुनु हो । यो कम्पनी चीनको सबैभन्दा चर्चित अनुकूलन-आधारित शिक्षण ब्रान्डमध्ये एक बनेको छ, जसका ३,००० भन्दा बढी केन्द्रहरू देशभरका फ्रेन्चाइजहरूले सञ्चालन गरेका छन् र १२ लाख विद्यार्थीहरूले यसको सामग्री सब्सक्राइब गरेका छन्।

गत वर्ष स्क्वायरलले २४ घण्टामा १ लाख १२ हजार ७१८ विद्यार्थी अनलाइन सहभागी गराएर सबैभन्दा ठूलो अनलाइन गणित कक्षाको लागि जिनियस वर्ल्ड रेकर्ड बनाएको थियो । लीका अनुसार कम्पनी अब अमेरिकामा केन्द्र खोल्ने तयारीमा छ, जसले सन् २०२७ मा नास्डाक वा हङकङमा आईपीओ ल्याउने सम्भावना छ।

शाङ्घाईमा बस्ने ७७ वर्षीय सु हाइबाओजस्ता ग्राहकहरूलाई यसको बढ्दो प्रगतिले आकर्षित गरेको छ । उनले गर्मी बिदामा आफ्नो नातिलाई हरेक दिन स्क्वायरलको स्व-अध्ययन केन्द्रमा ल्याउँछिन् ।

६ कक्षामा पढ्ने उनको नातिलाई गत वर्ष धेरैजसो समय पढ्न नजान्ने भनेर जिस्क्याइन्थ्यो र उसले विद्यालय पनि छोडेको थियो । अहिले ऊ फेल हुने अवस्थाबाट आफ्नो कक्षाका उत्कृष्ट विद्यार्थीहरूको समूहमा पुगेको छ।

सुले भनिन्, ‘ बन्द नभएसम्म हामी यहाँ आइनै रहन्छौँ, जबसम्म ऊ कलेज पुग्दैन।’

सफ्ट स्किल्स

ली चीनको मध्य हेनान प्रान्तको राजधानी झेङ्झाउमा हुर्के। प्रतिभाशाली विद्यार्थी रहेका उनले राष्ट्रिय गणित ओलम्पियाड जिते र अझै हाई स्कूलमै हुँदा सांघाई चियाओ तोङ विश्वविद्यालय को प्रतिष्ठित कम्प्युटर विज्ञान प्रयोगात्मक कार्यक्रममा भर्ना भए।

उनी अलि सामाजिक रूपमा घुलमिल भएका थिएनन् । विद्यालयमा उनी आफैंले मन पराएका केटीहरूसँग गफिन पनि सक्दैनथे । उनले पुस्तक क्लब, नाटक समाज र विद्यालय पत्रिका चलाउँदै आफूमा सफ्ट स्किल्स विकास गर्न मेहनत गरे ।

स्नातक गरेपछि, अन्तर्राष्ट्रिय आर्थिक कानुनमा डिग्री हासिल गरेका उनले आफ्नो गृहनगरमा एउटा परम्परागत आफ्टर-स्कुल ट्युटोरिङ व्यवसाय चलाए। त्यसपछि उनी शाङ्घाईको एक ठूलो ट्युटोरिङ फर्ममा आबद्ध भए र त्यहाँ एक अङ्ग्रेजी भाषा कार्यक्रम सञ्चालन गरे।

मागअनुसार पर्याप्त राम्रा शिक्षकहरू भर्ती गर्न, तालिम दिन र टिकाउन मुस्किल हुनु जस्ता समस्यासँग ली पनि जुधे जुन अरु यस्ता धेरै केन्द्रहरूले सामना गरिरहेका हुन्छन् ।

तर, उनका आफ्नै बाबु सरकारद्वारा सम्मानित उत्कृष्ट अंग्रेजी शिक्षक थिए ।



लीले प्रविधिले यस्तो उत्कृष्ट गुणलाई मानकीकरण गर्न र सबैका लागि सुलभ बनाउन सक्छ भनी विश्वास थियो । त्यसैले उनले सन् २०१४ मा स्क्वायरल एआई स्थापना गरे।

सुरुका लगानीकर्ताहरूमा ट्युटोरिङ कम्पनी न्यु ओरिएन्टल एजुकेसन एन्ड टेक्नोलोजी ग्रुपका संस्थापक यु मिन्होङ र वाल स्ट्रिटको विशाल व्यापारिक संस्था सस्क्वेहाना इन्टरनेसनल ग्रुप पनि थिए ।

सन् २०२१ सम्ममा हजारौं ट्युटोरिङ फर्महरूले स्क्वायरलको सफ्टवेयर प्रयोग गरिरहेका थिए । कम्पनिले वार्षिक ६० करोड युआन (८४ मिलियन अमेरिकी डलर) को बिक्री गरिरहेको थियो ।

पछि राष्ट्रपति सी जिनपिङले नाफामुखी स्कुलपछिको ट्युटोरिङलाई प्रतिबन्ध लगाए । राजस्व एकै रातमा धरापमा पर्‍यो, जसले लीलाई ९० करोड युआन ऋण, २ हजार कर्मचारी र ऋणदाताहरूबाट मारिदिने धम्की आउन थाल्यो ।

उनले हार खाएनन् । बदलिएको परिस्थितिमा आफूलाई पनि बदले । नयाँ नियममा अनुकूलित हुँदै लीले २०० देखि २००० डलरसम्म मूल्यका सिकाइ ट्याबलेट उपभोक्तालाई प्रत्यक्ष रूपमा र नयाँ स्क्वायरल-ब्रान्डका स्व-अध्ययन केन्द्र चलाउने फ्रेन्चाइजहरूलाई बेचे ।

उनले कम्पनीलाई व्यापक रूपमा सजिलै चलाउन सकिने प्रविधि प्लेटफर्मको रूपमा पुनःस्थापित गरे, जुन विद्यार्थीलाई सहयोग गर्न र सरकारको प्रविधि नवप्रवर्तन गर्ने व्यापक लक्ष्यसँग मेल खान सक्थ्यो।

‘यहाँ कालोपाटी छैन, न शिक्षक नै’ उनले भने, ‘यो ट्युटोरिङ होइन, स्व-अध्ययन हो ।’

रियलिटी टिभी

उचाइमा अग्ला र दुब्ला, ली वास्तवमा आकर्षक व्यक्तित्व धनी देखिन्छन् । उनी खासै विज्ञापनमा पैसा खर्च गर्न रुचाउँदैनन् । ‘कुनै कम्पनीको संस्थापक नै यसको सबैभन्दा प्रभावकारी प्रवक्ता हुनुपर्छ,’ उनी भन्छन् ।

त्यसैले टिकटकको चिनियाँ संस्करण डोउयिनमा रहेको उनको अकाउन्ट व्यावसायिक टोलीले खिचेका सफलताका कथाहरू भएका भिडियोहरूले भरिएको छ।

भिडियोका शीर्षकहरू ‘मेरो सम्पत्ति अब एक अर्ब युआन पुग्यो तर म आफ्ना बच्चाहरूलाई केही छोड्दिनँ,’ र ‘पश्चिमी खुशीपूर्ण शिक्षा एकप्रकारको झूट हो । कडा परिश्रम नै एक मात्र समाधान हो’ जस्ता रहेका छन् ।

ली रियालिटी टिभीमा पनि देखापर्छन् । त्यहाँ उनले ‘द अप्रेन्टिस’ जस्तै एक कार्यक्रममा जागिरका उम्मेदवारहरूको अन्तर्वार्ता लिएका थिए र युवा दम्पतीहरूलाई सल्लाह पनि दिएका थिए । तर बिडम्बना उनी आफै स्वीकार्छन्, उनको आफ्नै पनि सम्बन्धविच्छेद भएको थियो ।

तर उनी आफ्ना लक्षित दर्शकबारे सजग छन् । स्क्वायरल एआईका धेरैजसो ग्राहकहरू तन्नेरी आमाहरू हुन् ।

ली आसपास एक प्रकारको घनत्वपूर्ण गम्भीरता छ । हालै उनको प्राविधिक टोलीसँगको साप्ताहिक बैठक चार घन्टासम्म चलेको थियो । सिएटलमा रहेका उनका कर्मचारीहरूले त्यहाँ मध्यरातसम्मै बिताए । त्यहाँ लीले उनीहरूलाई प्राविधिक विवरणहरूको बारेमा गहन प्रश्नहरू सोधेका थिए। ‘तपाईंहरूले सबैभन्दा बुद्धिमान वैज्ञानिकहरूलाई नियुक्त गर्नैपर्छ,’ उनी भन्छन् ।

बैठकको बीचमा लीले एक कचौरा एभोकाडो र साल्मन सलाद खाए, त्यसपछि जिमतिर लागे।



कोभिडपछि उनी हप्तामा चारपटक व्यायाम गर्छन् । उनी विदेशमा हुँदा भने सहयोगीहरूले उनका लागि जीम व्यवस्थापन गरिदिनुपर्छ ।

उनी वर्षको आधा समयजति अमेरिका र युरोप घुम्छन् । शिक्षाविद्, सरकारी अधिकारीहरू र एआई विशेषज्ञहरूसँग भेटघाट गर्दै बिताउँछन्।

सन् २०१६ मा आफ्ना परिवारको खानपान र पेय पदार्थ सम्बन्धी व्यवसाय छाडेर स्क्वायरलमा जोडिएकी जोलीन लियाङ अहिले यसको अमेरिकी शाखाकी अध्यक्ष छिन् । उनी ली र एप्पलका सहसंस्थापक स्टिभ जब्सबीच समानता देख्छिन् ।

६ फिट १ इन्च (१८६ सेन्टिमिटर) अग्लो कदका उनी उस्तै ज्यान (शारीरिक बनावट) भएका छन्, साधारण लुगा (कालो युनिक्लो टी-सर्ट र ट्र्याकसुट) मन पराउँछन् र उस्तै कडा अपेक्षा राख्छन् ।

‘उनी सधैं अत्यधिक नतिजा चाहन्छन्। यदि उनी तपाईंलाई १० कुरा माग्छन् भने आफूलाई १५ उपलब्ध गराउन बाध्य बनाउँछन्,’ लियाङ भन्छिन्, ‘उनी पागलझैं नवप्रवर्तनको पछाडि दौडिरहेका छन्, सम्भवतः समयभन्दा धेरै अगाडि ।’

प्रमुख ज्ञान विन्दुहरू

स्क्वायरल सफ्टवेयर एडाप्टिभ लर्निङमा आधारित छ । यसले एल्गोरिदम प्रयोग गरेर विद्यार्थीहरूका लागि निरन्तर रूपमा व्यक्तिकेन्द्रित पाठहरू तयार गर्छ।

प्रत्येक विषयलाई हजारौं ज्ञानका बुँदा (प्वाइन्ट) हरूमा विभाजन गरिएको छ। सुरुको एक निदान परीक्षण (डाइग्नोस्टिक टेस्ट) ले विद्यार्थीको सबल पक्ष र कमजोरीहरू पहिचान गर्छ र त्यसपछि व्यक्तिगत सिकाइ मार्ग तयार पार्छ ।

विद्यार्थीहरूले वास्तविक समयमा फिडब्याक पाउँछन्, र ड्यासबोर्डले उनीहरूको दक्षता देखाउँछ।

यसका प्रतिस्पर्धीहरूमा अमेरिकामा म्याकग्रा हिल इन्कको एलेक्स र जोन वाइली एन्ड सन्स इन्कको न्यूटन अल्टा, र बेलायतमा सेन्चुरी टेक लगायत छन् ।

तर हार्वर्ड विश्वविद्यालयको ग्रेजुएट स्कुल अफ एजुकेसनमा लर्निङ टेक्नोलोजीका प्राध्यापक क्रिस डेडे भन्छन्, स्क्वायरल दस वर्षसम्म लाखौं चिनियाँ विद्यार्थीहरूसँग काम गरेर संकलन गरेको विशाल डेटाका कारण अरूभन्दा फरक छ ।’

उनी थप्छन्, ‘परम्परागत एआई र लार्ज ल्याङ्ग्वेज मोडेल दुवै तथ्याङ्कमा काम गर्छन् र जसलाई जतिबढी डेटा हुन्छ, त्यति नै उत्कृष्ट बन्छन् ।’ उनले जसले स्क्वायरललाई सल्लाह दिए पनि समर्थन भने गरेका छैनन् ।

उनले भने, ‘स्क्विरलसँग यसको एआई गुणस्तरका हिसाबले अत्यन्तै मूल्यवान स्रोत छ।’

लीलाई त्यो गुणस्तर ‘एआई भर्सेस ह्युम्यान’ प्रतियोगितामार्फत प्रदर्शन गर्न मनपर्छ । उनी भन्छन्, ‘मेरो सफ्टवेयरले निरन्तर रूपमा उत्कृष्ट परिणाम दिन्छ ।’

यसै महिना सुरुमा, कम्पनीले अहिलेसम्मकै महत्वपूर्ण परीक्षण सुरु गर्‍यो । यसमा १ हजार बालबालिका ६० दिनसम्म पूर्णकालीन अध्ययनमा सहभागी थिए । उनीहरूमध्ये ५०० ले स्क्वायरलको सफ्टवेयर प्रयोग गरे र ५०० ले शिक्षकसँग पढे । अध्ययनमा उनीहरूको प्रगति परीक्षणमार्फत नापिएको थियो ।

ली भन्छन्, ‘यो ज्याकी चेन र आयरन म्यान भिडेजस्तो हो, जुन कुनै प्रतियोगिता नै होइन।’

तर आलोचकहरू एआईले परम्परागत शिक्षालाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्छ भन्नेमा विश्वस्त देखिन्नन् ।

उनीहरू भन्छन्, ‘एआईले तथ्यहरूको अभ्यास गराउन सक्छ र विद्यार्थीलाई परीक्षाको तयारी गराउन सक्छ, तर यसले प्रेरित गर्न सक्दैन, मार्गदर्शन गर्न सक्दैन वा सामाजिक सीपहरू विकास गर्न सक्दैन र सिर्जनशीलता वा आलोचनात्मक सोचलाई प्रोत्साहित पनि कम गर्छ ।’

ओन्टारियो कलेज अफ आर्ट एण्ड डिजाइन युनिभर्सिटीका इन्क्लुसिभ लर्निङ विशेषज्ञका प्राध्यापक जुट्टा ट्रेभिरानस भन्छिन्, ‘यसले विद्यार्थीहरूलाई त्यस्तो विपरीत दिशामा धकेल्दैछ जुनतर्फ उनीहरू जानुपर्ने नै हुँदैन भन्ने मलाई लाग्छ ।’

उनी थप्छिन्, ‘एआई युगमा शिक्षा निश्चयै पुनर्विचार गर्नुपर्ने हुन्छ, तर एआईलाई पढाउन वा ट्युटरिङ गर्न प्रयोग गर्ने कुराले अझ धेरै सावधानीको माग गर्छ ।’

ली यस्ता चिन्ताहरू स्वीकार्छन् । तर, उनी भन्छन्, ‘स्क्वायरलको सफ्टवेयरले तीमध्ये सबै नभए पनि अधिकांश कुराको सम्बोधन गर्छ । सीपहरू विकास गर्न पनि पर्याप्त छ ।’

उनी थप्छन्, ‘विद्यालयका शिक्षकहरूले शिक्षामा महत्वपूर्ण भूमिका खेल्छन्, तर त्यो भूमिका अब एआई ट्युटरबाट आउने डेटा विश्लेषण गर्ने र काउन्सलरको रूपमा काम गर्ने दिशातर्फ विकसित हुनुपर्छ ।’

‘जुवाजस्तै’

लीको उद्यमको उदय, पतन र फेरि उदय चीनमा व्यापार गर्ने चुनौतीहरूको एउटा उदाहरण हो, जहाँ नियामक परिवर्तनको जोखिम सधैँ रहिरहन्छ । स्क्वायरल लगभग पतन भएको अवस्थाबाट ली आफू थप व्यावहारिक बनेको बताउँछन् ।

उनले आफ्नो अनुकूलित लिंकन स्ट्रेच लिमोजिन बेचेका छन् र साङ्घाईस्थित आफ्नो कार्यालय नजिकै ४० वर्गमिटर (४३१ वर्गफुट) को अपार्टमेन्ट भाडामा लिएका छन् ।

उनको तीन तहमा खुल्ने हुवावे स्मार्टफोन ट्याब्लेटजस्तै काम गर्छ, जसले गर्दा उनलाई टाढाबाट काम गर्न सम्भव भएको छ । उनी आफ्नो जिकर एसयूभीको पछाडिको सिटमा राखेको राइस कुकरबाट बनेको साधारण खाना खान्छन्।

लीको विश्वास छ- एक असल सीईओ हुनु भनेको जुवा खेल्नु र त्यसमा अडिग रहनु हो । सुरुदेखि नै, उनले अभ्यासमा रहेका ट्युटोरिङ एपहरूलाई नक्कल गर्नुभन्दा केही नयाँ सिर्जना गर्ने प्रयास गरेका छन् ।

उनले माइक्रोसफ्ट कर्प, अमेजन डट कम इंक र गोल्डम्यान साक्स ग्रुप इंकबाट इन्जिनियरहरू ल्याएका थिए, साथै कारनेगी मेलोन विश्वविद्यालयमा मेसिन लर्निङ विभाग स्थापना गर्ने टम मिचेलजस्ता एआई वैज्ञानिकहरूलाई पनि आफ्नो कम्पनीमा भर्ती गरेका छन् ।

मिचेलले करिब दुई वर्षसम्म स्क्वायरलमा प्रमुख एआई अधिकारीको रूपमा काम गरे र उनी अझै पनि उक्त कम्पनीसँग सम्पर्कमा रहेको बताउँछन्।

लीले फ्रेन्चाइजीद्वारा सञ्चालित स्व-अध्ययन केन्द्रहरूमार्फत अमेरिकामा विस्तार गर्ने लक्ष्य राखेका छन् र स्क्वायरललाई एआई युगको ‘कुमोन’ को रूपमा हेरेका छन्। कुमोन सन् १९५० को दशकमा जापानमा सुरु भएको पेन्सिल र वर्कसीटको कार्यक्रम हो, जुन अहिले विश्वको सबैभन्दा ठूलो निजी ट्युटोरिङ व्यवसायमध्ये एक बनेको छ।

तर चिनियाँ राष्ट्रपति सीले गरेजस्तो नीतिगत परिवर्तनको खतरा स्वदेशमा मात्र छैन । अमेरिकामा सञ्चालित चिनियाँ प्रविधि कम्पनीहरू डाटा गोपनीयताको चिन्ताका कारण गहन छानबिनमा छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति सी जिनपिङसँग छलफल गर्न लागेको एक सम्झौताअन्तर्गत, टिकटकको अमेरिकी सञ्चालनलाई ओराकल कर्प, एन्ड्रिसेन होरोविट्ज र निजी इक्विटी फर्म सिल्भर लेक म्यानेजमेन्ट एलएलसी समावेश भएको लगानीकर्ताको समूहले खरिद गर्नेछ।

अमेरिकी बजारमा प्रवेश गर्नेबारे ली भन्छन्, ‘मलाई लाग्दैन कि यो सहज बाटो हुनेछ; यो त काँडाले भरिएको हुनेछ ।’

तर उनी आफ्नो दृढता व्यक्त गर्दै भन्छन्, ‘यदि यो सहज बाटो हुन्थ्यो भने, यो काम हामीले किन गर्थ्यौँ? साधारण मानिसले पनि गर्न सक्थे।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा इस्लामी लडाकु समूहसँग सैन्य कारबाहीको योजना तयार गर्न आदेश दिएका छन्। उनले नाइजेरियाली सरकारले त्यहाँ बसोबास गर्ने क्रिश्चियनको हत्या रोक्न पर्याप्त कदम नचालेको आरोप लगाएका हुन्। ट्रम्पले कुन हत्या भन्ने कुरा स्पष्ट पारेनन्। तर अमेरिकाका दक्षिणपन्थी वृत्तमा नाइजेरियाली क्रिश्चियनविरुद्ध कथित हिंसाको दाबी देखा परेका छन्। अनुगमन समूहले नाइजेरियामा मुस्लिमभन्दा क्रिश्चियनलाई बढी मारिएको ...
: भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले सीएमएस–३ नामक सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। इसरोका अध्यक्ष वी. नारायणनले एलवीएम३–एम५ ले सीएमएस–३ सञ्चार उपग्रहलाई आफ्नो तोकिएको कक्षमा सफलतापूर्वक स्थापित गरेको बताए। उनले भने,ʻम सम्पूर्ण इसरो टोली र सबै साझेदारलाई भूमिका र योगदानका लागि बधाई दिन्छु। आजको मिसनले भारतका लागि अर्को गौरव ल्याएको छ।ʼ अध्यक्ष वी. नारायणनले आर्थिक ...
। संयुक्त राज्य अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले आइतबार अमेरिका र चीनले सैन्य–सैन्य प्रत्यक्ष सञ्चार च्यानलहरू स्थापना गर्ने सहमति गरेको बताएका छन् । उनका अनुसार दुवै मुलुकबीचको द्विपक्षीय सम्बन्ध ‘अहिलेसम्मकै उत्कृष्ट अवस्थामा’ पुगेको छ । हेग्सेथले शनिबार राति क्षेत्रीय सुरक्षा सम्मेलनका क्रममा आफ्ना चिनियाँ समकक्षी एडमिरल डोङ जुनसँग भेटवार्ता गरेका थिए । उनले भने, ‘शान्ति, स्थिरता र राम्रो ...
। मेक्सिकोको हर्मोसिलोमा एक पसलमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । हर्मोसिलो शहरस्थित वाल्डोज नामको स्टोरमा आगलगी भएको हो । वाल्डोज मेक्सिकोकै सबभन्दा ठूलो डिस्काउन्ट स्टोरको चेन समेत हो । स्थानीय अधिकारीका अनुसार विस्फोटपछि आगलागी भएको थियो । तर, त्यहाँका गभर्नर अल्फोंसो दुराजोले भने आगलागीको कारण नखुलेको बताएका ...
। ट्रम्प प्रशासनको श्रम विभाग (लेबर डिपार्टमेन्ट) ले कम्पनीहरूमाथि एच-वानबी भिसाको दुरुपयोग गरेको आरोप लगाएको छ। एक भिडियो सन्देशमा भनिएको छ, कम्पनीहरूले एच-वानबी भिसाको गलत प्रयोग गरी कम तलबमा विदेशी कामदारहरूलाई रोजगारी दिए, यसले अमेरिकी युवाहरूको ‘अमेरिकन ड्रीम’ खोसियो। भिडियोमा यस किसिमको अनियमितता गर्न दिने राजनीतिक नेतृत्व र कर्मचारीहरूलाई पनि दोषी ठहर गरिएको छ। ट्रम्प प्रशासनका अनुसार, एच-वानबी ...