: सभामुख देवराज घिमिरेले युवापुस्ताले उठाएका मागको सम्बोधन विधिको शासन र संविधानकै मार्गबाट सम्भव रहेको बताएका छन्। बडा दसैंको शुभकामना दिँदै उनले युवापुस्ताले उठाएका प्रश्नहरू सुशासन र पारदर्शितामाथि केन्द्रित रहेको बताएका हुन्।
‘दसैंको पूर्वसन्ध्यामा नेपाली नवयुवाहरूको विद्रोहका कारण देखिएको अशान्तिलाई शान्तिमा रुपान्तरण गर्न हामी सबैलाई प्रेरणा प्राप्त हुने विश्वास लिएको छु। विद्रोहका क्रममा जीवन गुमाउनुभएका नागरिकहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। साथै, नष्ट भएका सरकारी तथा निजी संरचनाहरूको पुनर्निर्माणमा राज्य र समाज दुवैको साझा भूमिका रहने विश्वास लिएको छु।’ उनले भनेका छन्, ‘युवापुस्ताले उठाएका प्रश्नहरू सुशासन र पारदर्शितामाथि केन्द्रित छन्। हाम्रो संविधान संशोधनीय दस्तावेज भएकोले ती मागहरूको सम्बोधन विधिको शासन र संविधानकै मार्गबाट सम्भव छ। लोकतान्त्रिक अभ्यास र संसदीय सर्वोच्चताको बाटोबाट मात्र दिगो समाधान खोज्न सकिन्छ। यही बाटोले मुलुकलाई अँध्यारो सुरूङबाट उज्यालोतर्फ लैजानेछ भन्नेमा म दृढ छु।’
उनले सत्यको विजय, असत्यको पराजय, मेलमिलाप र पुनर्मिलनको प्रतीकको रुपमा रहेको दसैंले सबैमा नयाँ उमंग, उत्साह र सद्भावको भाव जागृत गरोस् भन्ने कामना गरेका छन्।
दसैंलाई शक्ति, सत्य र सदाचारको विजयको प्रतीकका रूपमा लिइने उनको भनाई छ। ‘यस पर्वमा दश दिनसम्म दुर्गा भवानीको आराधना गर्ने प्रचलन छ। घटस्थापनादेखि सुरु हुने यो पर्व नवदुर्गा माताको पूजाआजासहित सम्पन्न हुन्छ। विजयादशमीको दिन देवी दुर्गाले दानवीय शक्तिमाथि विजय प्राप्त गरेको तथा रामले रावणमाथि जित हासिल गरेको धार्मिक आस्था रहिआएको छ। त्यसैले यो पर्वले असत्यमाथि सत्य, अन्यायमाथि न्याय र असुरी शक्तिमाथि दिव्य शक्तिको विजयको सन्देश दिन्छ’सन्देशमा भनिएको छ।
दसैं नेपाली समाजमा मेलमिलाप र पुनर्मिलनको पर्वका रूपमा स्थापित रहेको उनले बताए। दसैंले विभिन्न जातजाति, भाषा र भौगोलिक क्षेत्रका नेपालीहरूलाई साझा संस्कारले एकतामा बाँध्ने कार्य गर्दै आएको उनको भनाई छ। उनले पुस्ता–पुस्ताबीच द्वन्द्व होइन, सहकार्य र एकता आवश्यक रहेको उल्लेख गरेका छन्। घिमिरेले भनेका छन्,‘बडा दसैं मिलन, मेलमिलाप र एकताको चाड पनि हो। पुस्ता–पुस्ताबीच द्वन्द्व होइन, सहकार्य र एकता आवश्यक छ। अग्रजको अनुभव र नवयुवाको जोशलाई एकाकार गर्दै नयाँ नेपालको निर्माणमा सबै लाग्न सकौं भन्नेमा म दृढ छु। यो महान् पर्वले हामी सबैलाई सहिष्णुता, आपसी सद्भाव र सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।’