: बारामा एक महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गर्नुका साथै कपाल काटेर अमानवीय व्यवहार गरिएको घटना प्रकाशमा आएको छ।
बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ८ मझरीयाकी ३३ वर्षीया सुरुजकली देवीलाई गाउँकै केही व्यक्तिहरूले बोक्सीको आरोप लगाउँदै असोज ११ गते कुटपिट गर्नुका साथै कपाल काटेर अमानवीय व्यवहार गरेको घटना प्रकाशमा आएको हो।
पीडितले जिल्ला प्रहरी कार्यालय बारामा दिएको किटानी जाहेरीमा गाउँकै बाबुसाहेब यादव, लालदेव पंडित, विक्रम पंडित, सुरेश यादव सहितले बोक्सीको लाञ्छना लगाएर कुटपिट गर्दै अर्धनग्न बनाइ कपालसमेत काटिदिएको उल्लेख छ।
विक्रम पंडित र लादेव पंडितले पीडित सुरुजकली देवीको निजी जग्गामा जबरजस्ती बाटो बनाएपछि त्यसविरुद्ध गाउँको प्रहरी चौकीमा उजुरी दिन गत असोज ११ गते जाने क्रममा बाटोमै उनलाई छेकेर बोक्सीको लाञ्छना लगाउँदै कुटपिट गर्नुका साथै अर्धनग्न बनाएर कपाल काटिदिएको उजुरीमा उल्लेख छ।
पीडित सुरुजकली देवीले घटना भएकै दिन कलैया अस्पतालमा आफ्नो घाउचोटको उपचार गराएपछि त्यही दिन पीडकहरू ३५ वर्षीय बाबुसाहेब यादव, ५० वर्षीय लालदेव पंडित, ५५ वर्षीय बिक्रम पंडित र ४५ वर्षीय सुरेश यादवविरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिएकी थिइन्।
उनले भनिन्, ‘मलाई बोक्सीको आरोप लगाएर निर्घात रुपमा कुटपिट गरे। लगाएको लुगापनि च्याति दिए। त्यतिले पनि नपुगेर मेरो कपाल पनि काटिए दिए। ती मान्छे होइनन् पशु हुन। उनीहरूलाई हदैसम्मको कारबाही हुनुपर्छ। अनि मात्र मैले न्याय पाउँछु।’
पीडित महिलाका पति भुषण कुमार पंडितले रोजगारीको सिलसिलामा आफू काठमाडौं रहेका बेला गाउँमा आफ्नी पत्निमाथि अमानवीय व्यवहार गरिएको बताए। उनले भने, ‘म काठमाडौंमा थिए। घटनाको दिन छोरीले रुँदै फोन गरेर आमासँग त्यस्तो दुर्व्यवहार गरिएको सुनाइन्। त्यो सुनेपछि म त्यही दिन काठमाडौंबाट गाडी चढेर घर आए।’
जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिलीप थापाले भने आरोपित मध्येका ५३ वर्षीय लालदेव पंडितलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जानकारी दिए। अरू तीन जना आरोपित फरार रहेको र उनीहरूको पनि खोजी कार्य भइरहेको थापाले बताए। जाहेरीमा नाम उल्लेख भएका चारै जना आरोपित विरुद्ध अपमानजनक तथा अमानवीय व्यवहार र बोक्सी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाइसकेको उनले जानकारी दिए।