मुख्य समाचार
मौसम पूर्वानुमान सही बनाउन उच्चतम प्रविधि आवश्यक
मौसम पूर्वानुमान सही बनाउन उच्चतम प्रविधि आवश्यक

यस वर्षको मनसुनले असोजको अन्त्यतिर अप्रत्याशित रूपमा भारी वर्षा ल्याएर ठूलो धनजनको क्षति भयो । मौसम सफा रहनुपर्ने महिना भए पनि लगातार दुई वर्ष उही समयमा ठूलो वर्षा भएको छ र जनधनको क्षति हुन पुगेको छ । त्यसो त सम्भावित क्षतिलाई न्यूनीकरण गर्न सरकारले निकै सक्रियता देखायो ।


जनधनको क्षति भए पनि सरकारको सक्रियताले प्रशंसा पाइरहेको बेला मौसम पूर्वानुमानन र सरकारको पूर्वतयारीका सन्दर्भमा जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् तथा प्रवक्ता विभूति पोखरेलसँग कुलचन्द्र न्यौपानेले गरेको कुराकानी :

मनसुनको अन्तिम चरणमा यसरी अचानक ठूलो वर्षा हुनु सामान्य प्रक्रिया हो वा जलवायु परिवर्तनसँग सम्बन्धित छ ?

मनसुन हुँदै नहुने चीज होइन । अन्त्यतिर जसरी सक्रिय देखियो, अक्टोबरसम्मै वा नेपाली बुझाइमा दसैंसम्म जसरी लम्बिएको छ, त्यसलाई जलवायु परिवर्तनसँग पनि जोडेर हेर्न सक्छौं । वर्षा चाँडै र ढिलो गराउने हाम्रो प्रणाली र ऋतुहरूको जुन चक्र छ, त्यसैलाई ‘ट्रिगर’ गर्ने हो ।

जस्तो– यही वर्षको मनसुनको कुरा गर्दा बढी वर्षा हुन्छ भन्ने अनुमान थियो । तर, जुलाई त एकदमै सुक्खा भयो । लामो ब्रेक भयो । त्यसपछि केही–केही सक्रिय देखियो । तर यतिको सक्रियताचाहिँ देखिएको थिएन । सामान्य भाषामा बुझ्दा जुलाई र अगस्ट भनेको चाहिँ मनसुन एक्टिभ हुनुपर्ने अवस्था हो । हामीले बुझ्ने भाषामा मनसुनलाई कृषिसँग जोडेर बुझ्छौं । तर यस पटक त्यो चक्र ब्रेक भयो । सामान्य प्रक्रियामा नभईकन दसैं आउने बेलामा मनसुन एक्टिभ भयो ।

यसलाई जलवायु परिवर्तनकै रूपमा बुझ्न सकिन्छ ?

दसैं नजिकिँदा हामी पहिले बुझ्थ्यौं कि मनसुन सकिएको हुन्छ र वातावरण स्थिर हुन्छ । तर यस पटक ब्रेक भएको मनसुनमा केही साता सक्रिय हुने र फेरि ब्रेक हुने क्रम देखियो । यो न्यून चापीय रेखा उत्तरतिर आएर वर्षा गराउँछ र बिस्तारै दक्षिणतिर भारतमा फैलिन्छ । ब्रेक लामो भए भूभाग सुक्खा हुन्छ । यस पटक भएको भारी वर्षालाई सामान्य मौसमी प्रक्रियाको हिस्सा मात्र ठान्न सकिँदैन ।



परम्परागत रूपमा मनसुन असार र साउनमा सक्रिय हुन्छ र दसैंको समयमा सफा हुने अपेक्षा गरिन्छ । तर, पछिल्लो समय मनसुनको चक्रमा परिवर्तन देखियो । यसलाई परिवर्तनको प्रभावसँग जोडेर हेर्न सकिन्छ । अहिलेको वर्षा मनसुनको सामान्य प्रक्रियाभन्दा फरक छ किनभने मनसुनको अन्त्यतिर यस्तो तीव्रता अपेक्षित हुँदैन । जलवायु परिवर्तनले मौसम प्रणालीमा पनि अनियमितता ल्याएको छ, जसले वर्षा ढिलो हुने, लामो समयसम्म खडेरी रहने र अचानक भारी वर्षा हुनेजस्ता विषम परिस्थिति निम्त्याइरहेको छ ।

मनसुनको चक्रमा देखिएको यो परिवर्तनलाई तपाईंहरूले कसरी विश्लेषण गर्नुभएको छ ?

सामान्यतः जुलाई र अगस्टमा मनसुन सक्रिय हुन्छ, जुन नेपालको कृषि र अन्य क्षेत्रका लागि महत्त्वपूर्ण हो । तर, यो वर्ष जुलाईमा खडेरी पर्‍यो र मनसुनको सक्रियता अपेक्षाकृत कम देखियो । असोजको अन्त्यमा भने अचानक भारी वर्षा भयो । यो परिवर्तनले मनसुनको न्यून चापीय रेखाको गतिशीलतामा आएको अनियमिततालाई संकेत गर्छ । यो रेखा उत्तरतिर सर्दा नेपालमा वर्षा हुन्छ र दक्षिणतिर जाँदा भारतमा वर्षा गराउँछ । यसलाई पनि जलवायु परिवर्तनकै कोणबाट हेर्नुपर्ने हुन्छ ।

जलवायु परिवर्तनले मनसुनलाई कसरी प्रभावित गर्छ ?

जलवायु परिवर्तनले नयाँ मौसम प्रणाली सिर्जना गर्ने होइन तर अवस्थित प्रणालीहरूको नियमित चक्रमा असर पार्ने हो । मनसुनको समय, तीव्रता र अवधिमा परिवर्तन आएको छ । जलवायु परिवर्तनले लामो खडेरी र अचानक भारी वर्षाजस्ता चरम मौसमी घटनालाई ‘ट्रिगर’ गर्ने हो । मनसुनमा ठूलो वर्षा हुनु सामान्य भए पनि जुलाई र अगस्टमा खासै सक्रिय हुन नसक्नु र मनसुन बहिर्गमन हुने बेलामा सक्रिय भएर ठूलो वर्षा हुनुलाई सामान्य मान्न सकिन्न । यसले हाम्रो परम्परागत बालीनालीलाई र अन्य क्षेत्रलाई पनि असर गर्छ ।

यस वर्ष सबैभन्दा बढी वर्षा हुने अनुमान पहिल्यै गर्नुभएको थियो, होइन ?

हो, हामीले मनसुनको पूर्वानुमान गर्दा औसतभन्दा बढी वर्षा हुने अनुमान गरेका थियौं । तर, जुलाईमा लामो खडेरी भयो र अगस्टमा पनि मनसुनको सक्रियता कम देखियो । असोजको अन्त्यमा अप्रत्याशित रूपमा भारी वर्षा भयो । सामान्यतः मनसुनले नियमित वर्षा प्रदान गर्छ तर यस वर्ष खण्डित र अनियमित वर्षा देखियो, जुन जलवायु परिवर्तनको प्रभावसँग सम्बन्धित छ ।

असोज अन्त्यमा भएको यो भारी वर्षाले कहाँ र कस्तो प्रभाव पारेको छ ?

असोज १८ र १९ मा परेको भारी वर्षाले बागमती र मधेश प्रदेशमा सबैभन्दा बढी प्रभाव पारेको छ । कोशी, लुम्बिनी र गण्डकी प्रदेशका पूर्वी भूभागमा पनि केही असर देखिएको छ । विशेष गरी, रौतहटको महेशपुरमा ३ सय ५८ मिलिमिटर वर्षा मापन भएको छ, जुन यो अवधिको सबैभन्दा उच्च हो ।

गत वर्ष पनि करिब यही समयमा यसभन्दा पनि ठूलो धनजनको क्षति हुने गरी वर्षा भयो, अघिल्लो वर्षको र अहिलेको वर्षामा के समानता छन् ?

दुवै वर्ष मनसुनको अन्त्यतिर अप्रत्याशित रूपमा तीव्र वर्षा देखियो, जसले कृषिमा क्षति पुर्‍यायो । तर, यी दुई वर्षका मौसमी प्रणाली फरक छन् । गत वर्षको वर्षा न्यून चापीय प्रणाली र अन्य मौसमी प्रभावहरूको संयोजनले भएको थियो जबकि यो वर्षको वर्षा मुख्य रूपमा न्यून चापीय क्षेत्रसँग सम्बन्धित छ । यद्यपि, दुवै घटनाले जलवायु परिवर्तनले चरम मौसमी घटनालाई बढावा दिइरहेको संकेत गर्छ । जलवायु परिवर्तनले मनसुनको न्यून चापीय रेखालाई प्रभावित गरेको छ, जसले वर्षाको समय र तीव्रतामा परिवर्तन ल्याएको छ ।

जलवायु परिवर्तनले मौसमी पूर्वानुमानमा कस्तो चुनौती थपेजस्तो लाग्छ ?

मौसमी प्रणालीको गतिशीलता अनपेक्षित रूपमा परिवर्तन हुन्छ, जसले पूर्वानुमान शतप्रतिशत सही हुन्छ भन्न सकिन्न । उदाहरणका लागि, यस वर्ष असोज १८ र १९ मा भारी वर्षा हुने पूर्वानुमान गरिएको थियो । त्यहीअनुसार भयो पनि ।

प्रकोपबाट हुने ठूलो धनजनको क्षति रोक्न जल तथा मौसम विज्ञान विभागको ॅरेड अलर्ट’ नोटिसमा भर पर्नुपर्ने हुन्छ । अन्य देशको तुलनामा हाम्रो यो प्रणाली कति वैज्ञानिक छ ?

मौसम विज्ञान प्रविधि पूर्ण रूपमा पर्याप्त छैन । जटिल मौसम प्रणालीको अध्ययन र पूर्वानुमान गर्नु केवल नेपालको मात्रै नभई विश्वव्यापीस्तरमै अनुसन्धान र चासोको विषय हो । जलवायु परिवर्तनका कारण अब यस्तो प्रणालीलाई विश्वव्यापी रूपमा अध्ययन गर्नुपर्ने भएको छ । अहिले हामीसँग उच्च वायुमण्डलको तथ्यांक तथा हिमाली क्षेत्रको मौसमसम्बन्धी अध्ययनका लागि लामो तथ्यांक छैन ।

उच्च जलवायु मण्डलमा के भइरहेको छ ? हिमालमा के भइरहेको छ ? आउने जलवायु प्रणाली कसरी परिवर्तन भइरहेका छन् भन्नेबारेमा थाहा पाउन हिमाली भूभागको तथ्यांक महत्त्वपूर्ण हुन्छ । यी सम्पूर्ण कुरा थाहा पाउन हामीलाई उच्च प्रविधियुक्त उपकरण आवश्यक पर्छ । उपकरण नभएको होइन तर तिनलाई धान्नका लागि धेरै महँगो पर्छ । हिमाली क्षेत्रको तथ्यांकमा पहिला हामी चीन र भारतभन्दा अगाडि थियौं, अहिले पछि परेका छौं ।

भारी वर्षाको पूर्वानुमानअनुसार सरकारले राष्ट्रिय बिदा घोषणा गर्नेदेखि राजमार्ग बन्द गर्नेसम्मका काम गर्‍यो । यसले अलिक त्रास सिर्जना गरेजस्तो लागेन ?

मौसम प्रणालीको अनपेक्षित परिवर्तनले कहिलेकाहीँ पूर्वानुमान पनि नमिल्न सक्छ । किनकि, मौसम प्रणालीको जटिलता र जलवायु परिवर्तनको प्रभावले कहिलेकाहीँ अनुमान तलमाथि पार्छ । हामीले पूर्वानुमानका क्रममा अत्यधिक त्रास नफैलियोस् भनेर पनि सावधानी अपनाउँछौं । कुनै घटना देखिए पनि त्यसको बलियो आधार नहुँदासम्म हामी तत्काल सार्वजनिक गदैनौं । कारण, अनावश्यक भय नफैलियोस् भन्ने नै हो । विभागको मुख्य जिम्मेवारी भनेकै यस्ता प्रणालीलाई निगरानी गरेर आधिकारिक सूचना प्रवाह गर्नु हो ।

अब जलवायु परिवर्तनको प्रभावलाई कसरी न्यूनीकरण गर्न सकिन्छ ?

जलवायु परिवर्तनको प्रभावलाई पूर्ण रूपमा रोक्न सम्भव छैन तर यसको असरलाई न्यूनीकरण गर्न सकिन्छ । पूर्वसूचना प्रणालीलाई सुदृढ गर्नु, अत्याधुनिक प्रविधिमा लगानी गर्नु र समुदायलाई विपद् व्यवस्थापनका लागि तयार पार्नु महत्त्वपूर्ण कार्य हो । जल तथा मौसम विज्ञान विभागले विपदघिको तयारीमा जोड दिएको छ । सरकार र अन्य निकायहरूले विभागको सूचनालाई आधार बनाएर राहत र उद्धार कार्यलाई प्रभावकारी बनाउन सक्छन् । विपद् रोक्न के कस्ता पूर्वतयारी गर्ने भन्ने काम सरकारको हो ।

सही सूचना दिन सक्दा मात्रै विपद्बाट जोगाउन सकिने रहेछ, त्यसका लागि विभागले सामना गरिरहेका चुनौती के–के हुन् ?

विभागले सीमित स्रोतसाधन र प्रविधिका बीचमा पनि अधिकतम काम गरिरहेको छ । विभागका कर्मचारी दसैंजस्ता चाडपर्वमा पनि चौबिसै घण्टा खटिए तर जनशक्ति र प्रविधिको अभावले कामलाई प्रभावकारी बनाउन कठिनाइ भइरहेको छ । मौसम पूर्वानुमान गर्ने कुरा प्रविधिमा आधारित हो ।

तपाईंहरूले मौसमको पूर्वानुमानको सूचना दिँदा कहिलेकाहीँ पानी पर्छ भनेको दिनमा घाम लाग्ने र मौसम सफा हुन्छ भनेको दिनमा पानी पर्ने अवस्था पनि भइरहेको छ नि ?

हामीसँग त्यस्तो अत्याधुनिक, ‘एक्युरेट’ प्रविधि छैन । केवल हाम्रो देशमा मात्र होइन, समग्र मौसमी प्रणालीमा भएको उतारचढावबारे सबैको अध्ययन र अनुसन्धानको विषय बनेको छ । जलवायु परिवर्तनको कारणले यस्तो अवस्था उत्पन्न भएको हो । यसले विश्वस्तरमा सबैलाई प्रभावित गरेको छ । कहिलेकाहीँ हामीले सोचेभन्दा छिटो घटनाहरू हुन्छन् । यस पटक पनि आइतबार–सोमबारसम्म बढी पानी पर्ने अनुमान थियो तर मौसम छिटो परिवर्तन भएका कारण अवस्था फरक देखियो ।

अब असोज १८ र १९ को जस्तै वर्षा हुने अवस्था छ कि छैन ?

मनसुन नेपालबाट बाहिरिने क्रममा छ । अब तत्काल ठूलो वर्षाको सम्भावना कमै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। समाजिक सञ्जाल ह्वाट्स एप र भाइबर ह्याक गरेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत घर भइ काठमाडौं २१ वर्षीय अभिषेक जैसवाल छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । उनले विभिन्न कम्पनीका मालिकहरुको ह्वाट्स एप, भाइबर ह्याक गरी मालिक बोलेको भन्दै क्यास काउन्टरमा सम्पर्क गर्दै रकम पठाउन ...
। अनलाइन सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी एप र वेबसाइट बन्द भएका छन् । सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेट’ सेवा प्रदायकसँगको समन्वयमा वेबसाइट र एप बन्द गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन ...
। सरकारले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने गरी गरेको पछिल्लो परिपत्रप्रति विज्ञापन एजेन्सी र निजी सञ्चार क्षेत्रले गम्भीर चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयको यो निर्णयले विगतका सरकारहरूले अघि सारेको निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने अवधारणाको बर्खिलाप गरेको र यसले विज्ञापन उद्योगलाई नै धराशायी बनाउने संकेत देखिएको छ। यसै सन्दर्भमा नेपाल विज्ञापन संघका अध्यक्ष ...
: सरकारले सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा नदिने निर्णय गरेपछि विभिन्न सरोकारवाला संस्थाहरूले आपत्ति जनाएका छन्। नेपाल विज्ञापन संघ, इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) र नेपाल प्रेस युनियनलगायत संस्थाहरूले उक्त निर्णयको विरोध गर्दै तत्काल पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ चैत १८ गते जारी गरेको परिपत्रमार्फत सबै सरकारी निकाय, आयोग, सचिवालय तथा ...
। एप्पलले आफ्ना नयाँ मोडेलका आइफोन प्रयोगकर्ताहरूका लागि एउटा अत्यन्तै दुर्लभ सुरक्षा अपडेट ‘iOS 18.7.7’ सार्वजनिक गरेको छ। सामान्यतया नयाँ मोडेलका लागि नयाँ अपरेटिङ सिस्टम (iOS 26) मात्र जारी गर्ने एप्पलको नीति भए तापनि डार्कस्वोर्ड (DarkSword) नामक मालवेयरको बढ्दो जोखिमका कारण कम्पनीले पुराना प्रयोगकर्ताका लागि यो ‘ब्याकपोर्ट’ अपडेट ल्याएको हो। यो सुरक्षा प्याच विशेष गरी आइफोन ...