मुख्य समाचार
युद्धविराम गर्न इजिप्टमा इजरायल–हमासबीच अप्रत्यक्ष संवाद जारी
युद्धविराम गर्न इजिप्टमा इजरायल–हमासबीच अप्रत्यक्ष संवाद जारी

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा युद्ध अन्त्यका लागि प्रस्ताव गरेको युद्धविराम योजना कार्यान्वयन गर्न इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच सोमबारदेखि इजिप्टमा सुरु भएको अप्रत्यक्ष वार्तामा बन्धकहरूको रिहाइलाई प्राथमिकता दिइएको छ ।


इजिप्टको सरकारी सञ्चार संस्था अल–काहेरा न्युजका अनुसार इजिप्टको पर्यटकीय सहर शरम अल–शेखमा सोमबारबाट इजरायल र हमासबीच अप्रत्यक्ष वार्ता सुरु भएको छ । वार्तामा हमासका प्रतिनिधिहरू र इजरायली अधिकारीहरू सहभागी छन् ।

इजिप्ट र कतारका मध्यस्थकर्ताहरूले छलफलमा सहजीकरण भूमिका निर्वाह गरिरहेका छन् । वार्तामा ट्रम्पको युद्धविराम योजनामा प्रस्ताव गरिए जस्तै पहिलो चरणअन्तर्गत युद्धविराम सम्झौता भएको ७२ घण्टाभित्र हमासले बाँकी रहेका ४८ जना बन्धकलाई मुक्त गर्ने र त्यसको बदलामा इजरायलले करिब २ हजार प्यालेस्टिनी कैदीहरूको रिहाइका विषयमा सोमबार र मंगलबार छलफल भएको इजिप्टका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

प्यालेस्टिनी कैदीमध्ये २५० जना आजीवन कारावास सजाय पाएका छन् । हमासको नियन्त्रणमा रहेका ४८ जनामध्ये नेपाली विद्यार्थी विपिन जोशी पनि छन् । ‘दुवै पक्षबीच बन्धक छुटाउनका लागि संयन्त्र तयार गर्ने प्रयास भइरहेको छ,’ इजिप्टका एक अधिकारीलाई उद्धृत गर्दै अल–काहेरा न्युजले लेखेको छ । हमासले भने ७२ घण्टाभित्र ४८ जनामध्ये मारिएका बन्धकहरूको शव फिर्ता ल्याउन कठिन हुने बताएको छ ।

इजरायल र हमासबीच गाजापट्टीमा दुई वर्षदेखि जारी युद्धलाई अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० बुँदे युद्धविराम योजना प्रस्ताव गरेका हुन् । इजरायल र हमास दुवैले ट्रम्पको प्रस्तावमा अनौपचारिक रूपमा सहमति जनाइसकेका छन् । योसँगै नेपाली विद्यार्थी जोशीसहित ४८ जनाको रिहाइको सम्भावना बढेको छ । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमासले २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएर लगेको थियो । त्यस दिन हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए । हमासले बन्धक बनाएर लैजाँदा विपिनको टाउको छोपेर अस्पतालभित्र लगिरहेको भिडियो सार्वजनिक

गरिएको थियो । त्यसयता उनका बारेमा कुनै पनि जानकारी सार्वजनिक भएको छैन । इजरायलका अनुसार हमासको नियन्त्रणमा रहेका ४८ मध्ये २० जना मात्रै जीवित रहेको अनुमान छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार जोशीको पछिल्लो अवस्थाबारे कुनै पनि जानकारी सार्वजनिक भएको छैन ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले वार्ता सुरु भएको पुष्टि गर्दै इजरायल ‘सबै सम्भावनाका लागि तयार’ रहेको जनाएको छ । ‘हामी सबै परिस्थितिका लागि तयार छौं र वार्ता सफलतापूर्वक टुंगोमा पुर्‍याउने अपेक्षा गर्छौं,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले टाइम्स अफ इजरायललाई भने । वार्तामा सहभागी इजरायली टोलीमा मोसाद र शिन बेटका अधिकारीहरू, नेतान्याहुका परराष्ट्र नीति सल्लाहकार ओफिर फल्क र बन्धक समन्वयक गल हिर्स छन् । मुख्य वार्ताकारको भूमिकामा रहेका रणनीतिक मामिलामन्त्री रोन डर्मर भने वार्ताको प्रगतिअनुसार यसै साताभित्र सहभागी हुने बताइएको छ ।



ट्रम्पको युद्धविराम प्रस्तावमा इजरायली सेनालाई क्रमशः गाजाबाट फिर्ता गर्ने पनि उल्लेख छ । जसलाई हमासले गत साता सर्तसहित स्वीकार गरेको छ । रिपोर्टका अनुसार इजरायल र हमासमाथि सम्झौताका लागि दबाब सिर्जना गर्न ह्वाइट हाउसका मध्यपूर्व दूत स्टिभ विटकफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ तथा सल्लाहकार जारेड कुशनर बुधबार इजिप्ट जाँदै छन् ।

इजिप्टका सञ्चारमाध्यमहरूले स्रोतलाई उद्धृत गर्दै हमासले इजरायलसँग बन्धक रिहा भएपछि सैनिक फिर्ता गर्ने ग्यारेन्टी मागिरहेको जनाएका छन् । तर दुवै पक्षमा चरम अविश्वास रहेको एक प्यालेस्टिनी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले जनाएका छन् । ‘वार्तामा दुवै पक्षबीच चरम अविश्वास छ । हमास र अन्य समूहहरूलाई डर छ, इजरायलले बन्धकहरू मुक्त भएपछि वार्ता तोड्न सक्छ’, ती अधिकारीको भनाइ छ ।

कतारका परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले सोमबारबाट सुरु भएको वार्तामा गहन र सावधानीपूर्वक छलफल भएको बताए । ‘सम्झौतामा बाँकी रहेका अवरोधहरू पहिचान गर्ने लक्ष्य छ । जसले सबै पक्षहरू सम्झौतामा पुग्ने दिशामा अग्रसर छन् भन्ने देखाउँछ’ उनले बुधबार दोहामा पत्रकारहरूसँग भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...