: भदौ २४ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबारमा विपक्षी दलसँग बैठक गर्दै थिए। एक्कासि सिंहदरबारलगायत देशभर नै तोडफोड, आगजनी, लुटपाट सुरु भयो। उता प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरूलाई हेलिकप्टरबाट उद्धार गरिँदै थियो।
तर, प्रचण्ड भने आफैं सुरक्षा खोज्दै सेनाको हेडक्वाटरमा पुगेका थिए। उनी त्यो दिन कसरी बाँचियो भन्नेमा रनभुल्लमा छन्। जेन–जी आन्दोलनपछि महाधिवेशन आयोजक समितिका संयोजक भएका दाहालले त्यो दिन (२४गते)को घटना सम्झँदै भने, ‘सुरक्षा खोज्दै सेनाकोमा गइयो।’ प्रधान सेनापतिसँगै सम्पर्क गरेर नै सेनाको हेडक्वाटर गएको उनले स्पष्ट पारे।
सेनाको आश्रय लिएर नै आफू् बचेको उनले बताए। ‘हामीलाई सेनाले बचाएको हो कि हामीलाई जनताले बचाएको हो । हाम्रा पार्टीका साथीले बचाएको हो कि,’ उनले भने, ‘अल्टिमेटली हेर्दा सेनाले बचायो।’
भदौ २४ गते प्रदर्शन चर्किएर विध्वंस हुन थालेपछि तत्कालीन प्रधानमन्त्री ओलीसहितका नेतालाई सेनाले हेलिकप्टरमा उद्धार गर्दा आफू सिंहदरबारमै रहेको पनि बताए।
उनले आफूहरूलाई बचाउने सेनाले किन राष्ट्रिय धरोहरहरू बचाउन नसकेको होला भन्ने आफूलाई कौतुलता लागिरहेको बताए। ‘हामीलाई बचाउने सेनाले सिंहदरबार किन बचाउन सकेन ?, सर्वोच्च अदालत किन बचाउन सकेन ?, राष्ट्रपति भवन बचाउने सकेन ?, हेर्दा अनौठो र विचित्र लाग्छ,’ उनले भने। आफूहरूलाई बचाउले सेनालाई प्रचण्डले धन्यवाद दिए। उनले भने, ‘कमसेकम हामीलाई बचायो। धन्यवाद दिनुपर्यो, सेनाले बचाउन नचाहेको भए त हामी किचिक्क हुने ठाउँमा पुगेका थियौं नि। जे भए पनि सेनाको हेडक्वाटरमा बसेर सकुशल आउँदा त सेनालाई धन्यवाद त दिनै पर्यो नि।’
आफूहरू भूराजनीतिक शक्ति सन्तुलन र चलखेलका कारण बचेको पनि उनले बताए। उनले भने, ‘गहिरिएर विचार गर्दा हामीलाई भूराजनीतिक शक्ति सन्तुलन र चलखेलले बचाए जस्तो लाग्छ, नत्र बच्ने स्थिति थिएन। सबै एउटै कुरा भएको त जे पनि हुन सक्थ्यो।’
ओलीको लिखित सहमतिमा कार्की प्रधानमन्त्री
प्रचण्डले सुशीला कार्की तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रधानमन्त्री भएको बताएका छन्। केपी ओलीको लिखित सिफारिसमा सुशीला कार्कीलाई राष्ट्रपतिले अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेको बताए।
राष्ट्रपतिले संविधानको धारा ६१ अनुसार आवश्यकताको सिद्धान्तका आधारमा नियुक्त भएको बताउँदै भने, ‘सरकारलाई केपीजीले हाहाहुहु भन्न मिल्दैन, हामीले बरु भन्न मिल्ला र केपीजीले भन्नै मिल्दैन। उहाँकै लिखित सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री हुनुभएको हो। हामी साक्षी भयौं, साक्षी थियौं, हौं।’
इतिहासकै सबैभन्दा ठूलो वैदशिक हस्तक्षेप
माओवादी केन्द्रका संयोजक दाहालले इतिहासकै ठूलो वैदेशिक दबाब र हस्तक्षेपको महसुस बताएका छन्। उनले अहिले देश अप्ठ्यारो अवस्थामा रहेको बताए। स्वतन्त्रता र स्वाधीनतामाथि यति ठूलो दबाब र हस्तक्षेप अहिलेसम्म नभएको पनि उनले बताए। उनले भने, ‘सबै राजनीतिक दल नागरिक समाज, प्रेस जगत् सबै हिजो राजनीतिक परिवर्तनका निम्ति एक भएर आवाज उठाएका थियौं। त्यसबाट संविधानसभा हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ प्रक्रियामा हामी आएका थियौं।’
उनले फेरि गम्भीर विचार विमर्शसहित देशको राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रताको रक्षाका लागि एक हुनुपर्ने आवश्यकता उत्पन्न भएको बताए। विगतको समीक्षा र आगामी बाटोको विषयमा बहस र छलफल गरेर साझा निष्कर्ष निकाल्नुपर्नेमा उनले बताए।
सर्वपक्षीय राजनीतिक समझदारी
संयोजक दाहालले मुलुकलाई निकास र समाधान दिनको सर्वपक्षीय राजनीतिक समझदारीको प्रस्ताव गरेका छन्। वर्तमान जटिल परिस्थितिको निकास र समाधानका लागि शान्ति र लोकतन्त्रका पक्षधरहरू राजनीतिक दल, जेन–जी युवादेखि सबै सम्मिलित सर्वपक्षीय राजनीतिक समझदारी गरेर अघि बढ्नुपर्ने बताए। राष्ट्रिय संकटको स्थितिमा सर्वपक्षीय राष्ट्रिय सहमतिको विकल्प नरहेको उनले बताए।
प्रचण्डको चित्त दुखाइ
‘प्रचण्ड’ले देशका प्रमुख तीन राजनीतिक दल र तीनका शीर्ष नेता उस्तै हुन भन्ने भाष्य निर्माण भएकामा चित्त दुखाएका छन्। उनले माओवादी केन्द्र, कांग्रेस र एमालेभन्दा फरक रहेको र आफू पनि देउवा र ओली जस्तो नभएको दाबी गरेका छन्।
सुशासनका लागि लड्ने माओवादी केन्द्र र भ्रष्टाचारलाई संरक्षण गर्ने अर्को पक्ष (कांग्रेस, एमाले)लाई उस्तै देखाइनु दुर्भाग्यपूर्ण भएको उनले बताए।
‘एउटा भाष्य बनेको देख्दा हामीलाई चित्त त दुखिराखेकै छ,’ उनले भने, ‘तीन पार्टी, तीन नेता उस्तै हुन् भन्ने बनाइएको छ। तर, सुशासनका निम्ति सरकारमा हुँदा अभियान चलाएर बिचौलिया र दलालको सेटिङ भत्काउन खोज्ने पनि उस्तै ? अनि तिनैलाई बचाउन संविधान मिचेर सरकार बनाउने पनि उस्तै ?’
उनले आफूले जनतासँग माफी माग्ने अभियान चलाएको पनि बताए। ‘कमीकमजोरी भयो, गल्ती भयो भनेर आत्मालोचना गर्ने र माफी माग्ने पनि उस्तै ?’ उनले भने, ‘अनि भ्रष्टाचारीलाई बचाउने र राम्रो काम गर्नेलाई नसियत दिने पनि उस्तै ? ’
अहिलेको अवश्यकता चुनाव
संयोजक दाहालले अहिलेको आवश्यकता सबै मिलेर निर्वाचन सफल पार्नु रहेको बताएका छन्। उनले चुनावपछि पनि सबैको सहमतिमा जेन–जीको माग सम्बोधन गर्ने गरी संविधान संशोधन गर्नुपर्ने उल्लेख गरे।
‘अहिलेको आवश्यकता निर्वाचन सफल पार्न सबै एकजुट हुनु हो,’ उनले भने, ‘भोलिको आवश्यकता सबै मिलेर संविधान संशोधन गरेर जेन–जीहरूको भावना र मागलाई पनि सम्बोधन गर्ने गरी सहमतिका आधारमा संविधान संशोधन गर्नु दोस्रो आवश्यकता हो।’ उनले निर्वाचन हुन नसके मात्रै विकल्प सोच्न सकिने बताए। उनले २३ गतेको नरसंहार र २४ को विध्वंसको एकएक गरेर छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताए। जेन–जीको आन्दोलनपछि पहिलोपटक संयोजक दाहालले सम्पादकसँग संवाद गरेका छन्।