: टोखा नगरपालिका–२ चण्डेश्वरीमा पाँचथरका एक युवकको हत्या भएको छ । टोखा चण्डेश्वरी बस्ने ४० वर्षीय राम लिम्बूलाई उनकै साथीहरूले फलामको रड प्रहार गरी हत्या गरेका हुन् ।जिल्ल प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार बिहीबार राती लिम्बूको हत्या भएको हो। हत्या आरोपमा दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ल प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार पाँचथरका लिम्बू, उदयपुरका २७ वर्षीय गणेश लामा, सिन्धुलीका ४० वर्षीय खुपबहादुर तामाङसँगै काम गर्ने साथीहरू हुन् ।
टोखा चण्डेश्वरीमा रहेको रमेश जोशीको प्लटिङमा ज्यामी काम गर्ने उनीहरू बिहीबार राति सोही स्थानमा रहेको टहरोमा मापसे गरेका थिए । लेनदेनको विषयमा विवाद हुँदा लिम्बूलाई अन्य दुईजनाले फलामको रड प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उनको टाउकोमा, खुट्टा र अनुहारमा समेत रड प्रहार गरिएको थियो । घटनामा गम्भीर घाइते भएका उनलाई तत्कालै ट्रमा सेन्टर लगिएको थियो । राति करिब १ बजे उपचारकै क्रममा उनको अस्पतालमै मृत्यु भएको हो।
लामा र तामाङलाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरूमाथि प्रहरीले हत्या आरोपमा अनुसन्धान अघि बढाएको छ ।