: प्रहरीको हतियार लुट्ने र हिरासतबाट फरार भएका युवकहरू लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । शनिबार साँझ ५ बजे दमक नगरपालिका - ३ बेलडाँगी भुटानी शरणार्थी शिविरमा ब्राउन सुगरसहित ८ जना पक्राउ परेका थिए ।
त्यसमध्ये दमक ३ का १८ वर्षीय आदित्य लिम्बू इलाका प्रहरी कार्यालय दमकको हतियार लुट्ने र मोरङ मिक्लाजुङ ८ का २० वर्षीय निश्चल पोर्तेल हिरासतबाट भागेका युवक हुन् ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर ए ३, हट नं. ३५३ बस्ने साजन थापाको घरमा लागूऔषध बिक्री वितरण गर्दै गरेको सूचनाको आधारमा घर कोठामा खानतलासी गरेको थियो। सोहीक्रममा बिक्रीको लागि तयारी गर्दै गरेको अवस्थामा चस्माको खाली खोलभित्र लुकाइछिपाई राखेको प्लास्टिकबाहेक ७ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो।
प्रहरीले लागू औषधसहित दमक ३ बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर ए ३, हट नं. ३५३ का २७ वर्षीय साजन थापा, इलाम चुलाचुली ३ का ३२ वर्षीय दीपेश तामाङ, चुलाचुली ३ का ३२ वर्षीय सनम राई, दमक ३ का १९ वर्षीय पविन विश्वकर्मा, दमक ३ का २५ वर्षीय सुचन दर्जी, बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर बी२, हट नं.१९१–१९२ का २५ वर्षीय विजय माझी र मोरङ मिक्लाजुङ ८ का २० वर्षीय निश्चल पोर्तेललाई पक्राउ गरेको छ ।
लागू औषधसहित पक्राउ पर्ने आदित्य लिम्बू जेनजी आन्दोलनमा प्रहरीको हतियार लुट्ने कार्यमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए । त्यस्तै निश्चल पोर्तेल इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङमा लागूऔषध मुद्दामा अनुसन्धानको क्रममा रहेकोमा जेनजी आन्दोलनको क्रममा हिरासतबाट भागी उनी फरार भएको डीएसपी खडकाले बताए ।