: नेकपा एमालेले वर्तमान सरकारको क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
भक्तपुरको गुण्डुस्थीत अध्यक्ष केपी ओलीको निवासमा शुक्रबार बसेको एमाले सचिवालय बैठकले वर्तमान सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्यत भएकाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताएका हुन्।
प्रहरीमाथि आक्रमण गर्ने र हतियार लुट्नलाई गृहमन्त्रीको दबाबमा छाड्ने तर शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा दलहरूलाई रोक्ने र नेताहरूलाई स्थानहद तोक्ने सरकारको कामप्रति गम्भीर आपत्ति रहेको उनले बताए।
उपमहासचिव ज्ञवालीले तोकिएको समयमा निष्पक्ष निर्वाचन गराउनका लागि सरकार लाग्न नसकेकाले सरकार राजनीतिक अस्वस्थता बढाउन लागेको होकी भन्ने आशंका रहेको उल्लेख गरे।
बैठकमा जेनजी आन्दोलनपछिको अवस्थाबारेमा सघन रूपमा छलफल भएको भन्दै उपमहासचिव ज्ञवालीले जेनजी युवाले राखेका आवाज स्वाभाविक भएपनि आन्दोलनका नाममा भएको घटनाको गम्भीरताका साथ छानबिन हुनुपर्नेमा एमालेको जोड रहेको बताए।
उनले जनेजी आन्दोलनलाई आधार बनाएर भदौ २४ गते भएको घटना लोकतन्त्र, संविधान र इतिहासप्रतिकै ठुलो आक्रमण भएकाले सत्यतथ्य छानबिन हुनुपर्ने उल्लेख गरे । त्यस्तै उनले पार्टीको महाधिवेशन छिटै आयोजना गर्नुपर्नेमा नेताहरूको जोड रहेको उल्लेख गदै शनिबार बस्ने पदाधिकारीको बैठकले महाधिवेशनको प्रस्ताव तयार गर्ने जानकारी दिए।