: ‘अइबेर के छठीघाट, अपन सांस्कृतिक वस्त्रके साथ’ भन्ने नाराका साथ मधेशका युवा–युवतीहरूले रैथाने वस्त्र प्रदर्शन गरेका छन्। छठ पर्वमा विशेष रुपमा सांस्कृतिक वस्त्र लगाएर सहभागी हुन उनीहरूले सबैमा अपील गर्दै छठ घाटमा आफ्नो पारम्परिक वस्त्र लगाएर जान र सभ्यता संस्कृतिलाई जोगाउन अपील गरेका हुन्।
‘अइबेर के छठीघाट, अपन सांस्कृतिक वस्त्रके साथ’ भन्ने नाराका सहित जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको जानकी मन्दिर परिसरमा सांस्कृति वस्त्र प्रदर्शन गरेका हुन्। मधेश र मिथिलाञ्चलको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचारप्रसारको उद्देश्यले युवाहरूले धोती कुर्ता तथा साडी पहिरनमा सजिएर वस्त्र पहिचान गराउन जनकपुरधाममा प्रदर्शन गरे।
पछिल्लो समय युवाहरूमा मिथिलाको मुख्य पोशाकको रुपमा रहेको धोती कुर्ताप्रति बढ्दै गइरहेको वितृष्णा कम गर्ने उद्देश्यले युवाहरूले जनकपुरधाममा पुरुषले धोर्ती कुर्ता तथा सुल्टो साडी लगाएर निस्किएको हो।
मधेशका कुनै पनि मधेशी काठमाडौं जादा वा सिंहदरबार छिर्दा धोती, कुर्ता गम्छा वा पाइजामा कुर्ताको मुरेठ्ठा बाँधेर पस्दा ‘धोती’ भनेर होच्याइछ। यसले गर्दा मधेशमा धोती, कुर्ता वा पाइजामाको मौलिक पोशाक हिनताबोध गर्नेहरूलाई मनोबल उच्च पार्न राख्न सांस्कृतिक रुपमा आफ्नो मौलिक पहिचान र पहिरनको प्रदर्शन गरेको अभियानका संयोजक मोहन महतो ‘कोइरी’ले बताए।
पुरुषले लगाउने धोती, कुर्ता, गम्छा र महिलाले लगाउने नारीको सारी संरक्षण र सम्वर्द्धनका लागि अभियान सकारात्मक भएको अभियानमा सहभागी भएका मैथिलीका गायक संजय कुशवाहाको भनाइ छ।
मिथिलाको आफ्नो वस्त्र तथा मिथिला संस्कृति हामी युवाहरूले नै जोगाउनु पर्छ भन्ने उद्देश्यले आफूहरूले यो जुलुश निकालेको जुलुशमै सहभागी गौशाला नगरपालिका रजखोरकी विनिता कुमारी महतोले बताइन्। ‘अइबेर के छठीघाट, अपन सांस्कृतिक वस्त्रके साथ’ अभियानी विनिताले छ वर्षदेखि चलाउँदै आइरहेको बताईन्। उनले आउन लागेको मिथिलाको पर्व छठको समयमा धोती कुर्ता लगाएरै छठको घाटमा पुग्न अपील समेत गरे। उनले भनिन, ‘युवतीहरूमा साडीप्रति आकर्षण रहेपनि साडी लगाउने तरिकामा आधुनिकताले छोइरहेको छ। युवतीहरू म विशेष आग्रह गर्छु की सुल्टो साडी लगाउनुस्। अर्थात नारीको शोभा साडी, साडीको शोभा सिधा पल्ला हो।’